अब डोल्पा पनि अब जोडिने भो ‘सडक सञ्जाल’मा

महिनौं हिँडेर काठमाडौं जाने युगको अन्त्य गर्दै दशैंसम्ममा जोडिनेः तरपरे भीर मात्रै निर्माण हुन बाँकी
निर्माण सञ्चार, डोल्पा । विकट हिमाली तथा केन्द्र सरकारबाट सधै पिछडिएको डोल्पा अब सडक सञ्जालमा जोडिने भएको छ ।

मुलुकका लगभग सबै जिल्ला सडक सञ्जालमा जोडिए पनि कर्णाली क्षेत्रका ५ जिल्ला मध्ये डोल्पामा त सडक सञ्जाल पुगेकै थिएन ।

उक्त जिल्ला सदरमुकामसम्म यातायात सञ्जालमा जोड्न जाजरकोट–डोल्पा मोटरबाटो निर्माण कार्य तीव्र पारिएको छ ।

अहिले दाङ–त्रिपुराकोट सडकखण्डको निर्माण कार्यलाई तीव्रता दिइएको नेपाली सेनाले जनाएको हो ।

सेनाले जिम्मा लिएको उक्त सडकखण्डअन्तर्गत खदाङ–त्रिपुराकोट खण्डको बीचमा पर्ने दर्जनौं भिर छिचोलेर मोटर गुड्ने चौडा सडक बनाइएको छ ।

कुल लम्बाइ ११७.७ किमी रहेको जाजरकोट डोल्पा सडकखण्डको जिरो प्वाइन्ट जाजरकोटको पासगाडलाई मानेर निर्माण कार्य थालनी गरिएको थियो ।

विसं २०७३ साउनमा रुकुम–डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारसम्म सडक निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएपछि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो ।

तैपनि काम भने पूरा भएको थिएन । डोल्पा दुनैलाई सडक सञ्जालमा जोड्ने अन्तिम भिरको रुपमा त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने तरपरे भिरमा काम गरिरहेको सेनाले जनाएको छ ।

खदाङ–त्रिपुराकोट खण्डका चिप्ले भिर, श्रीविण्डे भिर, फोइ भिरलगायतका दर्जनौं विशाल भिरको निर्माण कार्य सम्पन्न गरेर अन्तिम भिरको रुपमा तरपरे भिर निर्माण भइरहेको छ ।

तरपरे भीरले जोड्दै छ डोल्पा र दुनै

तरपरे भिर निर्माण हुनेबित्तिकै डोल्पा दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिने सेनाले जनाएको छ ।

‘सानोतिनो प्रयासले जाजरकोटदेखि डोल्पासम्मको सडक निर्माण कार्य सम्पन्न गरेर सडक कुदाउने सपना देख्नु सम्भव थिएन’, जाजरकोट–डोल्पा सडक निर्माण कार्यदल प्रमुख विश्वबन्धु पहाडीले भने ।

जाजरकोटदेखि डोल्पा जोड्ने सडक निर्माणको जिम्मा लिनु सेना स्वयमंको लागि चुनौतीको विषय थियो । तर विभिन्न चुनौतीका बाबजुत निर्माण कार्य अन्तिम चरण पुगेको उनको दाबी छ ।

उनले भने, ‘अब डोल्पालीको सपना साकार हुने छ ।’ सडक निर्माणको क्रममा मनमई भीर, काला पहाड, तल्नु भिर कुच्ची भीर, चिप्ले भिर, एैरी बथान भिर, फोई भीरजस्ता भीर छिचोल्दै सेना अगाडि बढेको उनले बताए ।

डोल्पासम्म सडक पुराउनका लागि ज्यानको बाजी लगाएर सेनाले काम गरिरहेको उनको दाबी छ । जाजरकोट–डोल्पा सडकखण्डको अन्तिम भिरको रुपमा तरपरे भिरमात्रै बाँकी रहेको कार्यदल प्रमुख पहाडीको भनाइ छ ।

डोल्पालीका दुःखका दिन गए, डोल्पालीको पुस्तौँदेखिको सपना साकार पार्न सेना थाकेको छैन् उनले भने ।

दशैंसम्म सडक सपना साकार हुने 

‘अब ५०० मिटर मात्रै सडक निर्माण गर्न बाँकी छ, दशैंभित्रै डोल्पा सदमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालमा जोड्छौं’, कर्णेल पहाडीले थपे ।

सडक निर्माणसँगै त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने खदाङ हरियापानीसम्म जीप ट्र्याक्टरलगायतका यातायात सञ्चालनमा ल्याइएको छ ।

गत चैत २५ गते पूर्वशान्ति मन्त्री सत्या पहाडीद्वारा रुकुमको त्रिवेणी बजारदेखि–खदाङ हरियापानीसम्मको सडक उद्घाटन गर्दै यातायात सञ्चालनमा ल्याइएको थियो ।

खदाङसम्म यातायात सञ्चालनमा ल्याइएपछि डोल्पाली जनताको जिल्ला बाहिरको यात्रासमेत छोटिएको छ । सदरमुकाम दुनैदेखि दुई दिनमै नेपालगञ्ज, सुर्खेतलगायतका सहरमा पुगिन्छ ।

त्यतिमात्रै नभई खाद्यान आपूर्तिमा पनि सहज भएको डोल्पालीले बताएका छन् ।

वर्षौंदेखि आफैँ बोकेर र खच्चडको भरमा धानिएको डोल्पामा खाद्यानको मूल्य पनि घटेकाले सर्वसाधारण खुशी छन् ।

अहिले रुकुमको गोतामकोटदेखि हरियापानी बजारसम्म गाडी गुड्छन् भने खदाङदेखि सिउरेनी बजारसम्म ट्र्याक्टर सञ्चालनमा ल्याइएको छ ।

सडक निर्माण सामग्री ओसारपसार गर्नका लागि आफ्नै ट्याक्टर सञ्चालनमा ल्याइएको सेनाले जनाएको छ ।

कसरी हुँदै छ काम ?

खदाङ–त्रिपुराकोट सडकखण्ड निर्माण कार्य तीव्र पारिएपछि दैनिक तीनसय कामदारले काम गरिरहेका छन् ।

अप्ठेरा भीर छिचोल्न दर्जन धेरै कम्प्रेसर मेसिनको प्रयोग भइरहेको सेनाले जनाएको छ । सडक निर्माणकै लागि खदाङ र धाउने गरेर दुई ठाउँमा नेपाली सेनाको निर्माणवेश टोली राखिएको छ ।

दैनिक चार–पाँच ठाउँमा ब्लास्टिङ गरिने र खदाङ–त्रिपुराकोट खण्ड निर्माणका लागि दुईवटा डोजर लगाएको सेनाले जनाएको छ ।

डोल्पा सदरमुकाम दुनै मोटर पुराउने सडक निर्माण कार्य अन्तिम चरणमा पुगेपछि डोल्पाली जनतामा खुशीेयाली छाएको छ ।

सुर्खेत, नेपालगञ्ज, काठमाडौँ पुग्न सल्यानको सल्लीबजार सुर्खेत छिन्चुबाटै पैदल हिँडेका मान्छे घर छोडेको तीन घण्टामै मोटर चढ्न पाउँदा खुशीले दंग परेका हुन् । 

अब अन्त्य हुने भो महिनौं हिँडेर काठमाडौं जाने युगको

‘एक महिना हिँडेर काठमाडौँ पुगेको व्यक्ति मै हुँ । त्यतिखेर घरबाट हिँडेपछि सकुशल ज्यान फर्किन्छ, कि फर्कंदैन पत्तो हुदैन थियो । अब त ती दिनको अन्त्य होला कि !’ सम्झदै भन्छन् त्रिपुरासुन्दरी नगरपालिका–१ का ८० वर्षीया रविप्रसाद न्यौपाने ।

अहिले पनि डोल्पा केन्द्र सरकारबाट हेपिएकै अवस्थामा छ । दुर्गम छ । नुन चामलका लागि पनि हप्तौं हिँडेर रुकुमको राडी, चौरजहारी सल्यानको सल्लीबजारसम्म पुग्नुपर्ने अवस्था अन्त्य नै भइसकेको छैन ।

तर, केही वर्ष अघिसम्म यस्तो दुख डोल्पाबासीलाई छँदै थियो ।

अहिले डोल्पा दुनैसम्म मोटरबाटो आउन ५ सय मिटर मात्रै खन्न बाँकी छ भन्ने खबरले रविप्रसाद हर्षित भएको बताउँछन् ।

उनले भने, ‘सबैभन्दा ठूलो विकास मोटरबाटो आउनु रहेछ, गाडी पुग्यो भने सबै कुराको सहज हुने रहेछ ।’

गाडी पुगेपछि आवतजावत सहज हुने त छँदैछ, बजार नपाएर खेर गइरहेका स्याउ, ओखरलगायत फलफूल र जडीबुटीले पनि बजार पाउने स्थानीयको विश्वास छ ।

सडकबाटै समृद्धि हुन्छ भन्ने कुरामा यहाँका मानिसहरु विश्वस्त छन् ।

 

 

 

...

बुधबार, १६ साउन, ०७५

 

प्रतिक्रिया

Related