उद्योगी व्यवसायीले मुख फोरेरै भने– ‘सरकार, हटाऊ दोहोरो कर’

निर्माण सञ्चार, काठमाडौं । संघीयता लागू भएसँगै स्थानीय सरकार, प्रदेश र संघीय सरकार तिनै तहबाट लाग्न थालेको दोहोरो करले उद्योगी व्यवसायी मारमा परेका छन् ।

यही समस्यालाई लिएर उद्योगी व्यवसायीहरुले असंवैधानिक रुपमा लिइन थालिएका दोहोरो कर हटाउन माग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर जथाभावी कर लगाउँदा व्यवसायीहरुमा त्रास फैलिएको भन्दै अविलम्ब रोक लगाउन ध्यानाकर्षण गराएका हुन् ।

महासंघकी अध्यक्ष भवानी राणाले अनावश्यक करको बोझको अन्त्य गर्न माग गरेकी हुन् ।

प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष राणाले पुराना औद्योगिक नीति परिवर्तन लगायत औद्योगिक क्षेत्रमा देखिएका समस्या र चुनौती सम्बोधनका लागि प्रधानमन्त्रीलाई अनुरोध गरेकी छन् ।

पछिल्ला दिनमा एकै प्रकारको सामान वा सेवाका लागि स्थानीय निकाय, प्रदेश र संघीय गरी ३ तहबाट कर थोपरिदा व्यवसाय जगत् मर्कामा परेको भन्दै व्यवसायीहरुले विरोध गर्दै आइरहेका छन् ।

विभिन्न शीर्षकमा अनावश्यक रुपमा लगाइएको करले आफूहरुलाई आतंकित बनाएको व्यवसायीको भनाइ छ । व्यवसायीहरुलाई प्रम ओलीले व्यवसायीले उठाएका मागप्रति सरकार गम्भीर भएको जवाफ दिएका थिए ।

सरकार उद्योग, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउँदै महासंघको प्रतिनिधि टोलीलाई प्रम ओलीले औद्योगिक क्षेत्रको समस्या समाधान गर्न आफैंले इनिसिएसन लिने बताएका ।

प्रधानमन्त्री निवास वालुवाटारमा शनिबार भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले उद्योग, शिक्षा, स्वास्थ्य, उर्जा, कृषि जस्ता क्षेत्रमा रहेको समस्या सुधार गर्दै मुलुकको आर्थिक अवस्था उकास्न सरकार लागिपरेको दाबा गरेका थिए ।

दोहोरो करको मारमा परेका व्यवसायीहरु यसको तुरुन्त कार्यान्वयन चाहन्छन्, तर सरकारले भने बोलेझैं काम नगरेकाले व्यवसायीहरुमा कर आतंक फैलिरहेको उनीहरुको भनाइ छ ।

 

 

 

...

शनिबार, २५ साउन, ०७५

 

प्रतिक्रिया

Related