बाबु नन्दप्रसाद मरेको ४ वर्षपछि छोरा नुरप्रसाद प्रहरी नियन्त्रणमा

निर्माण सञ्चार, काठमाडौं । अनसन बसिरहेका बाबु र आमालाई छाडेर बेपत्ता भएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको मृत्यु भएको ४ वर्षपछि छोरा नुरप्रसाद अधिकारी प्रहरी सम्पर्कमा आएका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी रुगम कुवँरले अनुसार सम्पर्कविहीन अधिकारले ललितपुर हरिहरभवन आसपासबाट प्रहरीलाई फोन गरी आफैं सम्पर्कमा आएका थिए ।

त्यसपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

माओवादी द्वन्द्वताका कान्छो छोरो कृष्णप्रसाद अधिकारीको हत्या भएको घटनालाई लिएर हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै अनसन बसेको ३ सय ३२ दिनमा नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भएको थियो ।

पतिको निधनपछि दोषीलाई कारबाहीको माग गर्दै आमा गंगामाया पनि अनशन बस्दै आएकी थिइन् । सरकार र गंगामायबीचको सम्झौता पछि उनको अनसन पनि यही असार ३० गते तोडिएको थियो ।

सरकारले दुई बुँदे सहमति गरेपछि गत जेठ १५ गतेदेखिको आमरण अनशन गर्दै आएकी गंगामायाले पनि गत असार २९ गते अनसन तोडेकी थिइन् ।

कृष्णप्रसाद हत्याको अभियोग लागेका तत्कालीन माओवादी कार्यकर्ता छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि त्यही आधारमा गंगामायाले पनि अनसन तोडेकी हुन् ।

अभियुक्त पौडेल यतिबेला डिल्लीबजारस्थित कारागार हिरासतमा छन् ।

२९ असारको सरकारसँगको सम्झौतामा गंगामायाले आफ्नो छोरा नुरुप्रसादलाई पनि खोजिदिनु पर्ने पनि माग राखेकी थिइन् ।

त्यही अनुसार प्रहरीले खोजी गरिरहेको थियो । नन्दप्रसाद अधिकारीसँग तत्कालीन सरकारले २०७२ सालमा भएको ५ बुँदे सहमति गरेको थियो ।

कृष्णप्रसादको हत्यामा संलग्न भनी आरोपित रुद्र आचार्यलाई पक्राउ गर्न भनिएपछि फरार भएका उनी चाहिँ बेलायतमा रहेको बताइन्छ ।

अनशनमै निधन भएका नन्दप्रसादको शव चार वर्षदेखि महाराजगन्जस्थित शिक्षण अस्पतालको पोस्टमार्टम ‘रुम’मा दुर्गन्धित अवस्थामा छ ।

अनसनबाटै फरार भएका जेठा छोरा नुरप्रसाद बाबुको मृत्युपछि खोजी मर्दा सम्पर्कमा थिएनन । शव बुझ्न पनि आएनन् ।

नुरुप्रसादले बाबुको शवलाई देखाएर राज्यसँग पैसाको बार्गेनिङ गरेको समेत आरोप लागेको थियो । आमा गंगामाय अनसनमा रहँदा उनी काठमाडौँमै थिए ।

तर, पनि आमाको सम्पर्कमा नआएको परिवार स्रोतले दाबी गर्दै आएको थियो ।

अदालतमा बहस आरम्भ

यसैबीच, गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको बहस शनिबारबाट सुरु भएको छ ।

जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुलीबाट बहस शुरु भएको अदालतका स्रेस्तेदार गहेन्द्र पन्तले जानकारी दिए ।

कृष्णप्रसादको विसं २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो ।

प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमंगलामा हजुरबुबा भेट्न आएका समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो ।

घटनाको जिम्मा तत्कालीन माओवादीले लिएको थियो । मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारवाही गर्न माग गर्दै तत्कालै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए ।

लामो समयसम्म कारवाही नभएपछि कृष्णप्रसादका बुबा नन्दप्रसाद र आमा गंगामाया अनशनमा बसेका थिए । उनीहरू अनशनमा बसेको लामो समयपछि प्रहरीले २०७० साउनमा सो उजुरीबारे अनुसन्धान सुरु गरेको थियो ।

उजूरीमा किटिएकामध्ये केहीलाई पक्राउ गरी अनुसन्धान गरेर मुद्दा चलाउन प्रयास भए पनि मुद्दा दर्ता हुनसकेको थिएन ।

नन्दप्रसाद र गंगामायाले अनशन जारी नै राखेपछि अनुसन्धान पूरा भई २०७० चैत ३० गते चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

सो घटनामा १३ प्रतिवादी छन् ।

 

 

 

...

आइतबार, २० साउन, ०७५

 

प्रतिक्रिया

Related