बच्चालाई गर्भैदेखि अशं

मुलुकी ऐनको पहिलो संशोधनले जन्मेपछि हैन गर्भैदेखि अंश दिने प्रावधान
निर्माण सञ्चार, काठमाडौं । मुलुकी ऐनको पहिलो संशोधनले धेरै कुरामा परिवर्तन ल्याएको छ । मुलुकी ऐनको देवानी (संहिता), २०७५ ले यस्तो नयाँ प्रावधान ल्याएको हो ।

भदौ १ देखि लागू हुने तयारीमा रहेको मुलुकी देवानी (संहिता), २०७५ अन्तर्गत कार्यविधि ऐनको अंशवण्डाले यस्तो नयाँ प्रावधान ल्याएको छ ।

अंशवण्डा गर्दाको बखत यदि महिला अंशियार गर्भवती छन् भने उनको गर्भमा रहेको शिशुले समेत अंश पाउने व्यवस्था गरिएको छ ।

आजसम्मको अभ्यास र ऐनले सँगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भागवण्डा पाउने रहेकोमा यसलाई प्रतिस्थापन गर्दै यस्तो कानुन ल्याइएको हो ।

हालको व्यवस्था अनुसार सँगोलको सम्पत्ति वण्डा हुँदा पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार हुने व्यवस्था थियो ।

तर अब आमा अंशियार भए गर्भको बच्चालाई पनि अंश छुट्टयाउनुपर्ने व्यवस्था भएको छ । 

गर्भमै अंश, छोरीलाई पनि वंश

यस अघिको मान्यतामाथि नेपालले क्रान्ति नै गरेको कानुनविद्हरुको राय छ । किनकि, महिलालाई सम्पत्तिको अधिकार दिन पनि कञ्जुस्याइँ गर्नेहरुले अब महिलालाई सम्पत्ति दिनु त पर्छ नै, गर्भको शिशु छोरी नै भएपनि अंश छुट्याउनु पर्ने छ ।

अंशमा समान अधिकार स्थापित गर्न खासगरी छोरीलाई कानुनीरुपमा नै अंश दिलाउन यो प्रावधानले योगदान पुर्या‍उने अधिवक्ता मीरा ढुंगानाको भनाइ छ ।

उनी भन्छिन्, ‘समान अंशका लागि कानुनीरुपमा निकै लडाइँ लड्नुपर्यो, अब गर्भकै शिशुले अंश पाउने भएका छन्, त्यो निकै राम्रो व्यवस्था हो ।’

यसले आमा र शिशुको अधिकार स्थापित हुनेमा आफू आशावादी रहेको उनको भनाइ छ ।

आमाको गर्भमा हुँदादेखि नै अंश पाउने कानुनी व्यवस्था भएपछि छोरा र छोरीमा हुने विभेदको अन्त्य हुने अधिकारवादीहरुको धारणा छ ।

अबको नयाँ व्यवस्था अन्तर्गत छोरालाई बढी प्राथमिकता दिने तर छोरीलाई पन्छाउने परिपाटीको अन्त्य गर्ने छ । किनकि, आमा र शिशुका लागि सम्पत्तिको अधिकार ग्यारेन्टी भएको छ ।

बच्चा आमाको गर्भमा रहँदै दिइने अंशले गर्भमै गरिने भ्रुण हत्यालाई समेत कम गर्ने अधिवक्ता उषा मल्ल पाठकको धारणा छ ।

बच्चा मृत अवस्थाको जन्मेमा के हुने त ?

यसबारे जिज्ञासा गर्दा वरिष्ठ अधिवक्ता ढुंगाना भन्छिन्, ‘अंशवण्डा गर्ने अवधिमा अंशियार महिलाको गर्भबाट जन्मने बच्चाले पनि समानरुपमा अंश पाउने छ । तर, यदि बच्चा मृतावस्था जन्मिएमा वा गर्भ खेर गएमा त्यो सम्पत्ति सँगोलमै भाग लाग्ने हुन्छ ।’

१८ वर्षसम्म बालकै

यस ऐनले अर्काे नयाँ प्रावधान ल्याएको छ । हालसम्म उमेर पुगेर अंश माग्नु पर्दा १६ वर्ष पुग्नुपर्ने व्यवस्था थियो । तर यो उमेर अब बढेर १८ वर्ष पुगेको छ ।

१८ वर्षसम्मलाई बालककै अवस्थामा राखेको छ । आमाको गर्भमै रहँदा अंश पाउने व्यवस्था हेर्दा ऐनले समानताको सिद्धान्तलाई अनुशरण गरेको देखिन्छ ।

यो ऐन आउने भदौ १ गतेदेखि प्रभावकारी हुने छ ।

 

 

 

...

मंगलबार, २२ साउन, ०७५

 

प्रतिक्रिया

Related