जनकपुर–जयनगरमा गुड्यो रेल ! परीक्षण सफल (भिडियो सहित)

रेल कसरी गुड्यो हेरौं भिडियो
निर्माण सञ्चार, काठमाडौं । आउने डिसेम्बरसम्म पूर्ण रुपमा रेल गुडाउने लक्ष्य सहित निर्माण थालिएको जनकपुर-जयनगर ब्रोडगेज रेलमार्गमा पहिलो पटक रेलको सफल परीक्षण गरिएको छ ।

पहिलो चरण अन्तर्गत जयनगरदेखि खजुरीसम्म ८ किलोमिटर खण्डमा रेल चलाएर गरिएको परीक्षण सफल भएको रेल विभागले जनाएको हो । रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले दिएको जानकारी अनुसार अब बाँकी खण्डमा पनि थप परीक्षण सुरु गरिने छ ।

रेल सञ्चालनमा आएपछि डेढ वर्षसम्म भाडामा लिएर पनि रेल चलाउने अठोट लिएको सरकारले आउने डिसेम्बरदेखि जनकपुर-जयनगर रेल सञ्चालन गर्ने तयारी गरेको थियो ।

भरखरै मात्र ब्रोडगेजमा लिक बिछ्याउने काम सकिएपछि यसको पहिलो परीक्षण सुरु गरिएको विभागको भनाइ छ ।

सरकारले आउने दिनमा यस रेलमार्गमा भाडामा रेलगाडी सञ्चालन गर्ने र आवश्यकता अनुसार ‘कन्ट्रयाक्ट बेसिस’मा चलाउन दिने तयारी गरेको छ ।

उपाध्यायले दिएको जानकारी अनुसार नेपाल सरकारले भारतीय रेल्वेसँग सहयोग मागेको छ र आवश्यक बिडिङ डकुमेन्टको मस्यौदाको लागि पनि भनेको छ ।

विदेशी अनुभवी कम्पनीले डेढ वर्षसम्म उक्त ठाउँमा रेल चलाउने छ र पछि नेपाललाई सीप हस्तान्तरण गर्ने गरी रेल्वे विभागले आउटसोर्सिङको तयारी गरेको छ ।

रेल चल्यो यसरी

नेपालमा सञ्चालित रेलबारे रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख विनोद ओझाले रेल सञ्चालन कसरी गरिएको भन्ने जानकारी दिए ।

उनका अनुसार भारतीय रेल सञ्जालबाट जोडेर भारतबाटै उपलब्ध इन्जिन जडान गरी खजुरीसम्म परीक्षण सञ्चालन गरिएको हो ।

भारतीय रेल्वेकै चालक र प्राविधिकको रेखदेखमा १० किलोमिटर प्रतिघण्टा भित्रैको गतिमा रेल परीक्षण सञ्चालन गर्न सकिएको उनको भनाइ छ ।

पहिलो चरणमा इन्जिन चलाएपछि दोस्रो चरणमा मालबोगी चलाएर पनि परीक्षण गरिएको छ ।

आउने कात्तिकसम्म भारतीय पक्षबाटै नेपालको कुर्थासम्म रेल गुडाउने योजना सहित काम अघि बढिरहेको छ । निर्माणाधीन ६९ किलोमिटर ब्रोडगेज मार्ग मध्ये ३ किमि भारतमा र बाँकी खण्ड नेपालमा पर्छ ।

भारतको इरकोन कम्पनीले जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर रेलवे ट्र्याक र अरु पूर्वाधार निर्माण गरिसकेको छ ।

जयनगर–कुर्थाखण्डमा ट्र्याक ओछ्याउनेदेखि पुल–पुलेसा, रेल स्टेसन, हल्ट निर्माणजस्ता सिभिलतर्फका काम करिब पूरा भइसकेको जनकपुरस्थित रेल विभागको कार्यालयले भनाइ छ ।

यो चरणको काम अक्टोबरसम्ममै सकिने लक्ष्य रहेको छ ।

यस्तै, दोस्रो चरण अन्तर्गत मार्च २०१९ देखि धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किमि र त्यही वर्षको डिसेम्बरसम्म बिजलपुरादेखि बर्दिवाससम्म १७ किमि रेलमार्ग सञ्चालनमा ल्याउने योजना रहेको छ ।

रेल सञ्चालनका लागि भारत सरकारले इन्जिन र डिब्बा उपलब्ध नगराउने भएपछि नेपाल सरकारले भाडामा लिएर भए पनि रेल सञ्चालन गर्ने तयारी अघि बढाएको हो ।

लागत कति ?

भारत सरकारले कुल ७० किलोमिटर रेल मार्ग निर्माणका लागि ७ सय करोड रुपियाँ सहयोग गरेको छ । हालै कुर्ता-जनकपुर-जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोडगेजका अर्थात् फराकिलो वेका रुपमा यसको निर्माण भएको हो ।

रेलवे विस्तारको काम सन् २०१४ बाट सुरुवात भएको थियो ।

रेल कसरी गुड्यो हेरौं भिडियो

 

 

...

 

बिहीबार, २४ साउन, ०७५

 

प्रतिक्रिया

Related