गफमै सीमित स्मार्ट सिटीः जुम्ला सदरमुकाम– हिलाम्मे सडकले सास्ती

भर्खरै कालोपत्रे गरेका सडकमै खाल्डा खुल्डी
निर्माण सञ्चार, कर्णाली प्रदेश | विकासका नाममा विनास गर्ने प्रवृति हावि भएपछि बनेका संरचनाहरु दिर्गकालीन हुन सक्दैनन् ।

निर्माण व्यवसायीले विकास गर्दा पर्ने असर र त्यसको दिर्गकालिन प्रभावका बारेमा हेक्का राख्न जरुरी छ । वन फडानी गरेर भू–क्षय, मनपरी डोजर प्रयोगले पहिरोको जोखिम बढ्दै जानु सबै विकासले अपनाएको विनास हो ।

जुम्लामा विगतदेखि हालसम्म विकास पछिका विनासलाई नियन्त्रण गर्न हालसम्म प्रभावकारि नीति कार्यक्रम बन्न सकेको छैन ।

यस्तै, असारे विकासको रोग हावि हुँदा जुम्ला सदरमुकाम टेलिकम अगाडिको कालोपत्र गरिएको सडक खाल्डै खाल्डा भएको छ ।

सो ठाउँमा पानि पर्दा हिलोले तथा घाम लाग्दा धुलोले यात्रुलाई निकै सास्ति दिएको छ । स्मार्ट सिटि बनाउने भनिएको जुम्ला सदरमुकामका सडक हिलाम्मे भएक छन् ।

जसअन्तर्गत सदरमुकामको टेलिकम अगाडिको सडक, सिंहाचौर जाने सडक, कृषि अनुसन्धान नजिकैको मुल्य सडक पुरै हिलाम्मे हुँदा नागरिकले सास्ती भोगिरहेका छन् ।

हाल कालोपत्र उक्किएर खाल्डा परेका छन्  । यातायातका साधन गुडाउन तथा दैनिक ओहोरदोहोर गर्न निकै सास्ति भइरहेको छ ।

नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महतले निमार्ण भएको सडकमाथि कालोपत्रेको हिलो बनाएर पिचको कुनै निशाना नभएको दावी गरे ।

६ वर्ष पहिले निमार्ण भएको नाला खोल्न चन्दननाथ नगरपालिकाले डोजर लगाएर माटो निकालिएको थियो । तर, निकालेको सो माटोको व्यवस्थापन नगर्दा पिच रोड हिलाम्मे बनेको छ ।

यसमा नगरपालिकाले ध्यान दिन आवश्यक रहेको अध्यक्ष महतले जोेड दिए । नयाँ निमार्ण नगरेपनि निमार्ण भईसकेका पूर्वाधारलाई विनास गर्न नहुने युवा हस्ती बताउँछिन् ।

‘योजना मात्रैको स्मार्टसिटी सम्भव छैन’, उनले भने ‘सामान्य नगरक्षेत्रका हिलाम्मे सडकको व्यवस्थापनमा नगरपालिकाले ध्यान दिन आवश्यक छ ।’

वृद्धवृद्धा तथा बालबालिकालाई विद्यालय आउँदा जादाँ निकै सास्ती हुने गरेका स्थानीय बताउँछन् ।

बस्ती–बस्तीमा सडक पुर्याउने सबै नगरक्षेत्रका सडक कालोपत्रे गर्ने नीति तथा योजना अघि बढाउने तर, कालोपत्रे गरिएका सडक हिलाम्मे बनाउने निमार्ण प्रक्रियाले दिर्गकालिन विकासमा धक्का पुग्ने महिला अधिकारकर्मी लक्ष्मीकन्या बुढाले बताइन् ।

उनले भनिन्, ‘चन्दननाथ नगरपालिकाले सिंजाचौर जाने सडक, टेलिकम अगाडिको सडक र कर्णाली राजमार्गको कृषि अनुसन्धान नजिकैको सडकलाई पहिलकै अवस्थामा बनाउन नसकेको खण्डमा विकासको अनुभुति जनताले गर्न पाउँदैनन् ।’

योजना महत्वकांक्षी बनाउनुभन्दा आईपर्ने समस्या समधानतर्फ ध्यान जान जरुरी रहेको उनको भनाई छ ।

स्मार्ट सिटीको परिकल्पना गरिएको नगरपालिका सडकको दुरदशा त यस्तो छ भने ग्रामीण बस्तीका सडकको अवस्थाबाट नागरिकले कति सास्ती भोगिरहेका होलान् ।

स्थानीय सर्माट परियारले भने, ‘सके बनाउ नसके नविगारौँ’ नीति ल्याउन अवश्यक छ ।’ पछिल्लो समय परेको भारि वर्षाका कारण ती सडकमा यात्रुलाई हिड्न हम्मेहम्मे परेको छ ।

कालोपत्र गरिएका सडक यसरी हिलाम्मे भएपछि नगरबासीदेखि सदरमुकाम आउने सयौँ नागरिक सास्ति खेप्न बाध्य छन् ।

यता चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले नाली बनाउदाँ पिच सडकमाथि पर्नु स्वभाविक भएको बताइन् ।

दैनिक हुने वर्षाका कारणले हिलो माटो व्यवस्थापन गर्न नसकिएपछि सडक हिलाम्मे भएको मेयर सेजुवालले बताइन् ।

उनले सिंहाचौर जाने सडक र कृषि अनुसन्धान नजिकको सडक अगामि चालु आवमा व्यवस्थित बनाइने बताइन् ।

योजना विना समृद्धि सम्भव छैन, स्मार्ट सिटिबारे गरिएको व्यंगलाई यर्थातमा बदल्ने संकल्प नगरपालिकाका सबै जनप्रतिनिधिले लिएको मेयर सेजुवाललको दाबी छ ।

यससँगै टेलिकम अगाडिको पिच सडक हिलाम्मे भएपछि नागरिकले भोग्ने सास्तिको जिम्मेवारी वडा नम्बर छ ले लिनुपर्ने बताइएको छ ।

अध्यक्ष नरविर रावतले अब हिलो व्यवस्थापनको काम तत्काल अघि बढाइने जानकारी दिए ।

...

कर्णाली प्रदेश संवाददाता सागर परियार

शनिबार, २६ साउन २०७५ 

प्रतिक्रिया

Related