नेपाल–म्यानमार निर्माण व्यवसायीबीच सहकार्यको थालनी, यस्तो भयो सहमति

निर्माण सञ्चार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले म्यानमार लाइसेन्स्ड कन्ट्रयाक्टर एसोसिएसनले द्विपक्षीय हितमा काम गरेर अघि बढ्ने सहमति गरेका छन् ।

निर्माण व्यवसायी महासंघको सचिवालय अनामनगरमा शुक्रबार भएको भेटमा महासंघ र एसोसिएसन पदाधिकारीहरुबीच द्विपक्षीय हितमा सहकार्य गर्दै अघि बढ्ने सहमति भएको हो ।

सहमति पछि महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठले दुई देशका निर्माण व्यवसायीहरुको सहकार्यले भविष्यमा थप गुणस्तरीय काम गर्न दुवै पक्षलाई सहज हुने विश्वास व्यक्त गरेका छन् ।

निर्माण क्षेत्रमा प्रविधिको भूमिका महत्त्वपूर्ण रहेको सन्दर्भमा दुई देशबीच प्रविधि आदानप्रदानमा पनि सहकार्य हुनुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले छिट्टै महासंघ र एसोसिएसनबीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर हुने तयारी भइरहेको पनि जानकारी दिएका छन् ।

म्यानमार लाइसेन्सड कन्ट्रयाक्टर एसोसिएसनका अन्तर्राष्ट्रिय विभाग प्रमुख को को लाटले नेपाल निर्माण व्यवसायी महासंघसँगको सम्बन्धलाई एसोसिएसनले उच्च प्राथमिकता दिएको बताएका थिए ।

दुई संस्थाबीचको सहकार्यले निर्माण क्षेत्रलाई माथि उठाउन सकिने उनले विश्वास प्कट गरेका छन् ।

लाट म्यानमार लाइसेन्सड कन्ट्रयाक्टर एसोसिएसनका प्रविधि अनुसन्धान तथा आर्थिक विकास समितिका प्रमुख समेत हुन् ।

दुई पक्षीय भेटमा लाट सहित एसोसिएसनका अन्य पदाधिकारीहरुलाई महासंघको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

महासंघ नेपालका निर्माण व्यवसायीहरुको छाता संगठन हो भने एसोसिएसनले म्यानमारका निर्माण व्यवसायीहरुलाई प्रतिनिधित्व गर्दछ ।

 

 

 

...

शनिबार, २५ साउन, ०७५

 

प्रतिक्रिया

Related