तीन वर्षभित्र कुन–कुन आयोजना बन्दै ?

कुन आयोजनाको कस्तो हुँदैछ काम ?
निर्माण सञ्चार, काठमाडौँ | प्रदेश ५ मा सञ्चालित पाँच राष्ट्रिय गौरवका आयोजना आगामी तीन वर्षभित्र सकिने दाबी गरिएको छ ।

प्रदेश ५ सरकारले गरेको आयोजनाको प्रगति र समीक्षामा आयोजना प्रमुखहरूले तीन वर्षभित्र काम सकिने बताएका हुन् ।

प्रदेश सरकारले आयोजना निर्माणमा भएको प्रगति र समस्या पहिचानका लागि छलफल गरेको हो ।

प्रदेश ५ मा लुम्बिनी विकास कोष, गौतमबुद्ध विमानस्थल, सिक्टा सिँचाइ, भेरी बबई डाइभर्सन र बबई सिँचाइ आयोजना राष्ट्रिय गौरवका आयोजना हुन् । यी आयोजनामा दातृ निकायसहित करिब ७४ अर्ब लगानी हुँदै छ ।

पाँच आयोजनामध्ये सबैभन्दा पहिला भैरहवाको गौतमबुद्ध विमानस्थलको काम सकिने आयोजनाले जनाएको छ ।

आयोजनाको ५५ प्रतिशत काम सम्पन्न भइसकेको र आगामी १० महिनामा सबै काम सकिने आयोजना प्रमुख ओम शर्माले बताए ।

‘सिमेन्टको काम २० प्रतिशत मात्रै बाँकी हो, अन्य काम छोटो समयमा पनि धेरै सकिने भएकाले आगामी १० महिनाभित्र विमानस्थल सञ्चालनमा आउनेछ’, उनले भने ।

गौतमबुद्ध विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभन्दा पनि ठूलो भएकाले महत्वपूर्ण आयोजना मानिएको छ । विमानस्थलको रनवे कालापत्रे गर्नेबाहेक अन्य केही पूर्वाधार अन्तिम चरणमा पुगेका छन् । विमानस्थल विस्तारका क्रममा ९ अर्ब मुआब्जासमेत वितरण गरिसकिएको छ ।

थप ५ अर्ब बजेट निकासा भए सबै प्रक्रियाको टुंगो लाग्ने शर्माले जानकारी दिए । विमानस्थल सञ्चालनमा आउन निकै कम समय भए पनि सञ्चालनको मोडालिटी भने तय भइसकेको छैन ।

यो विमानस्थल निर्माणपछि पर्यटक आवागमन १० गुणाले वृद्धि हुने अनुमान गरिएको छ । विमानस्थल हुँदै आउने पर्यटकको प्रमुख गन्तव्य लुम्बिनी गुरुयोजनाको काम भने ७५ प्रतिशत सकिएको छ ।

विकास कोषका योजना प्रमुख सरोज भट्टराईले दुई वर्षभित्र गुरुयोजनाको काम सकिने प्रदेश सरकारलाई जानकारी गराए ।

मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीमा गुरुयोजना निर्माण मात्रै नभई पर्यटकको बसाइ लम्बाउने योजना बनाउन आवश्यक रहेको बताए ।

‘प्रदेश ५ को समृद्धिको आधार पर्यटन हो, विमानस्थलको काम सकिएपछि आउने पर्यटकलाई बसाउने आधार लुम्बिनीमा हुनुपर्छ’, उनले भने ।

लुम्बिनीसँगै तिलौराकोट, रामग्राम र देवदहसमेत चिनाउन आवश्यक रहेको उनले बताए । प्रदेश ५ का अन्य तीन गौरवका आयोजना सिँचाइ हुन् ।

बबई सिँचाई आयोजनाको काम ५८ प्रतिशत सकिएको निर्देशक कुञ्जनभक्त श्रेष्ठले जानकारी गराए । करिब सवा १२ अर्बको यो आयोजनाको ४३ किलोमिटर नहरमध्ये २० किलोमिटर सकिएको छ ।

०७८ मा यो आयोजना सक्नुपर्ने समयसीमा छ । बाँकेको ४३ हजार हेक्टर भूमि सिँचाइ गर्ने आयोजना दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।

आयोजनाका सिनियर डिभिजन इन्जिनियर प्रवीण श्रेष्ठले ५७ प्रतिशत काम सकिएको जानकारी दिए । आयोजना सम्पन्न नहुँदै नहर भत्किन सुरु भएपछि अहिले छानबिन समितिसमेत बनेको छ ।

श्रेष्ठले माटोको रासायनिक परीक्षण नगरेकाले अहिले समस्या निम्तिएको बताए ।

यो २५ अर्ब २ करोडको आयोजना हो ।

भेरी बबई डाभर्सनको काम तीन वर्षमा सकिने इन्जिनियर प्रकाश पुठासैनीले जानकारी गराए ।

०६९ सालबाट सुरु यो आयोजना तीन वर्षमा सकिने बताइएको छ । यो नहरको १२ किलोमिटरमध्ये करिब ७ किमि मात्रै तयार भएको छ ।

मुख्यमन्त्री पोखरेलले सबै आयोजना सामाजिक महत्वका रहेकाले समयमै सक्नुपर्ने दायित्व रहेको बताए । प्रदेश सरकारले आयोजना निर्माणमा ढिलाइ हुने भए सघाउनेसमेत प्रतिबद्धता जनाए ।

प्रदेश सरकारले प्रदेशभित्रका आयोजनको समयमै सम्पन्न र गुणस्तरीयताको विषयमा निगरानी राख्ने मुख्यमन्त्रीले जनाएका छन् ।

आयोजना प्रमुखहरूले स्थानीय तहका कतिपय जनप्रतिनिधि आयोजनाविरुद्ध उभिएको भन्दै गुनासो गरेका थिए ।

समीक्षामा प्रदेश सरकारका सबै मन्त्री, सचिव र योजना आयोगका प्रमुखको सहभागिता रहेको थियो ।

अन्नपूर्णपोष्टको सहयोगमा

...

शुक्रबार, १ भदौ २०७५ 

 

प्रतिक्रिया

Related