मुलककै ठूलो ढल्केबर सबस्टेसन सञ्चालनमा !

२२० केभी प्रसारण लाइनबाट विद्युत आयात थालनी
निर्माण सञ्चार, काठमाडौँ | नेपालकै हालसम्मको ठूलो स्वचालित २२०/१३२ केभी ढल्केबर सबस्टेसन सञ्चालनमा आएको छ ।

मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण गर्नका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सबस्टेसन संचालन (चार्ज)मा आएको हो ।

सो सबस्टेसन सञ्चालनमा अब करिब २ सय ७० देखि ३ सय मेगावाटसम्म बिजुली आयात/निर्यात गर्न सकिने भएको छ ।

नेपाल र भारतबीचको विद्युत व्यापार बढाउनले उद्देश्यले निमार्ण गरिएको यस सबस्टेसनको बिहीबार राती ११ बजे चार्ज गरी संचालनमा ल्याइएको थियो ।

सब स्टेसन चार्ज भएसँगै भारतबाट पहिलोपटक २२० केभी प्रसारण लाइनबाट विद्युत आयात थालनी भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

उक्त सबस्टेसन बन्नुअघि ढल्केबर सबस्टेसन निर्माण पूरा नभएकाले १३२ केभीमार्फत विद्युत आयात भइरहेको निर्देशक घिसिङ बताउँछन् ।

उनले भने ‘ढल्केबर सबस्टेसन संचालनमा आउनु आन्तरिक प्रसारण प्रणाली सुदृढीकरण र दुई मुलुकबीचको विद्युत व्यापारका लागि एउटा कोशेढुंगा हो,’ ‘ढल्केबरमै ४००/२२० केभीको अर्को सबस्टेसन निर्माण गरिरहेका छौं, यसको काम पनि डेढ वर्ष्भित्रमा सक्नेछौं ।’

निर्देशक घिसिङका अनुसार विद्युत आयात÷निर्यातका लागि ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनको यस अघि नै निर्माणको काम पूरा भइसकेको छ ।

आयात/निर्यातका लागि पूर्वाधार तयार

यस सबस्टेसन चार्ज भएपछि नेपाल र भारतबीच थप विद्युत आयात/निर्यातका लागि पूर्वाधार समेत तयार भइसकेको प्राधिकरणका प्रवक्ता एवं विद्युत व्यापार विभागप्रमुख प्रबल अधिकारीले बताए ।

अधिकारी भन्छन्, ‘स्वचालित भएकाले काठमाडौँको स्यूचाटारमा रहेको प्राधिकरणको भार प्रेषण केन्द्रबाटै सब स्टेसनको संचालन र अनुगमन गर्न सकिने छ ।’

सबस्टेसनमा १६०/१६० एमभीए, २२०/१३२ केभीका दुई वटा ट्रान्सर्फमर रहेका उनको भनाई छ ।

सबस्टेसन सञ्चालनमा आएपछि हिउँदको बढी विद्युत माग हुने समय (पिक)मा भारतबाट थप विद्युत आयातका लागि पूर्वाधार तयार भइसकेको छ ।

४५६ मेगावाटको माथिल्लो तामाकोसीको निर्माणको काम पूरा भएपछि नेपालमा वर्षायाममा विद्युत बढी हुन गएको खण्डमा निर्यात गर्नका साथै उक्त लाइनमार्फत इनर्जी बैकिङ गर्न समेत बाटो खुलेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

हाल तोकिएको समयबाटैै विद्युत आयातको निरन्तरता भएको अधिकारीले बताए ।

उनका अनुसार हाल त्यहाँबाट झण्डै एक सय मेगावाट विद्युत आयात भइरहेको छ ।

मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरणका लागि हाल हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण भइरहेको छ ।

प्रवक्ता अधिकारीले ढल्केबर सबस्टेसन चार्जभएसँगै भारतको पावर ग्रिडसँग भाडामा लिएर राखिएका ट्रान्सर्फमर अब राख्नु नपर्ने बताए ।

क–कसको लगानीमा सबस्टेसन ?

यो प्रसारण लाइन तथा सब स्टेसनको निर्माण नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण ऋणमा गरिएको हो ।

...

शुक्रबार, १ भदौ २०७५ 

प्रतिक्रिया

Related