नेप्से उकालो लाग्यो, लामो समयपछि साताको डेढ अर्ब कारोबार

निर्माण सञ्चार, काठमाडौं । लामो समयदेखि ओरालो झरिरहेको नेप्सेले उकालो लागेर पुँजी बजारमा सकारात्मक इन्डिकेटर सो गरेको छ । साताको अन्तिम २ बुधबार र बिहीबार नेप्से उकालो लागेको हो ।

बुधबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बिहीबार झिनो अंकले नै भए पनि उकालो लागेको देखेपछि लगानीकर्तामा खुसी सञ्चार भएको देखियो ।

ओली सरकार बनेपछि लगभग पहिलो पटक पूँजीबजारले उकालो लागेको देखेपछि लागनीकर्ताहरुले आशा पलाएको प्रतिक्रिया दिएका छन् ।

यद्यपि यसको मूल्यांकन आजैका दिनले दिने भन्ने पक्कै होइन तर यसले सकारात्मक सन्देश भने पक्कै दिएको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८५ कम्पनीहरुको कारोबार भएको छ । आइतबारदेखि बिहीबारसम्म २२ हजार ५ सय २० वटा कारोबार भएको स्रोतले बतायो ।

नेप्से कारोबारमा आशालाग्दो सुधार

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर ४५ लाख २ हजार ४ सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

४५ लाख दुई हजार चार सय ५० कित्ता सेयरहरु खरिद बिक्री हुँदा एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपियाँ बराबर कारोबार भएको नेप्से बताउँछ ।

यो कारोबार गत साता भन्दा ५६.१० प्रतिशत बढी हो । नेप्सेले दिएको जानकारी अनुसार गत साता १ सय ८१ कम्पनीहरुको कारोबार भएको थियो ।

जसमा १६ हजार ३ सय ७० कारोबारबाट ९१ करोड ८७ लाख ३२ हजार रुपियाँ बराबरको ३६ लाख ४७ हजार ८ सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक हेर्दा पहिलो दिनको तुलनामा ४६.३८ अंकले घटेर अन्तिम दिन १२ सय १०.३२ अंकमा पुगेको देखियो ।

तर ‘क’ वर्गका कम्पनीहरुका कारोबार मापन गरेको सेन्सेटिभ परिसूचकले पहिलो दिनको तुलनामा ९.६८ अंकले घटेर २५५.३८ अंकमा आइपुगेको देखाएको छ ।

नेपाल लाइफ अग्रता

यस साता भएका कारोबारहरु मध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । नेपाल लाइफले ७ करोड ८४ लाख रुपियाँको कारोबार गर्दै पहिलो स्थान जोगाएको हो ।

नेपाल लाइफ पछि नविल बैंकको कारोबारको आधार बलियो देखिएको छ । कारोबारको सेयर संख्याका आधारमा मेगा बैंक अग्रस्थानमा रहन सफल भएको छ ।

बैंकको १ लाख ७५ हजार कित्ता कारोबार गर्दै मेगा अग्रस्थानमा देखिएको हो । तर, कारोबार संख्याका आधारमा १ हजार २ सय ६५ ले आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो अग्रस्थान मजबुत बनाएको देखियो ।

प्राइम कमर्सियल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र नविल बैंक संस्थापक कारोबार रकमका आधारमा क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा रहन पुगे ।

साताभर नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ५ दिन खुला रहेको स्टक एक्स्चेन्जले बतायो ।

तर, ऋणपत्रतर्फ भने न त संस्थागत न सरकारी ऋणपत्रहरु, कुनै पनि कारोबार नभएको एक्स्चेन्ज स्रोतको भनाइ छ ।

 

 

...

शुक्रबार, १ भदौ, ०७५

 

प्रतिक्रिया

Related