प्रदेश–२ का आठै जिल्ला धार्मिक पर्यटनको गन्तव्य बनाउने मन्त्री सोनलको घोषणा

निर्माण सञ्चार, कलैया । प्रदेश नम्बर–२ सरकारका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले बारा, पर्सा लगायत प्रदेश–२ का ८ वटै जिल्लालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने बताएका छन् ।

आइतबार विश्व प्रसिद्ध गढीमाई मन्दिरको पूजा गर्न बाराको महागढीमाई मन्दिर पुगेका मन्त्री सोनलले प्रदेश–२ अन्तर्गत रहेका सम्पूर्ण धार्मिक स्थललाई पर्यटकीय स्थलका रुपमा विकास गर्न व्यवस्थित कार्यक्रम ल्याउने योजना रहेको मन्त्री सोनलको भनाइ छ ।

दर्शन पछिको चियापान कार्यक्रममा बोल्दै मन्त्री सोनलले जनकपुरस्थित जानकी मन्दिर, साखडा भगवती, बारा स्थित कंकाली तथा गढीमाई मन्दिर र वीरगंज स्थित गहवामाई लगायत प्रसिद्ध तीर्थ स्थलहरुले भरिएको प्रदेश नम्बर २ धार्मिक तथा सांस्कृतिक पर्यटनको अथाह भण्डार रहेको दाबी गरे ।

गढीमाई मन्त्री अव्यवस्थित भएको गुनासो बढिरहेकै बेला मन्त्रीले गढीमाई मन्दिरलाई व्यस्थित बनाउन प्रदेश सरकारले सोच बनाइरहेको पनि बताए ।

मन्दिरलाई आधुनिक युगले माग गरेजस्तै अत्याधुनिक विवाह मण्डप, दर्शनार्थी विश्राम स्थलको निर्माण, पोखरीको व्यवस्थापन गर्ने उनले बताए ।

पोखरी व्यवस्थापन अन्तर्गत भूतही नदीमा डुंगा सञ्चालन गर्ने कार्यक्रम अघि बढाउन निर्देशन दिएको पनि उनको भनाइ छ ।

भौतिक रुपले कमजोर रहेको उक्त धार्मिक स्थलमा यतिबेला मन्दिरसम्म पुग्ने बाटो समेत राम्रो छैन ।

यस अघिका मन्त्री तथा स्थानीय नेताहरुले चुनावै पिच्छे यो गर्छु र ऊ गर्छु भने पनि विश्वको ध्यान जाने यस मन्दिरको सरसफाइदेखि भौतिक पूर्वाधारसम्म राम्रो नभएको गुनासो बढिरहेको छ ।

तर, मन्त्री सोनालले प्रदेश सरकारको काम भनेकै आफ्नो प्रदेशको विकास र समृद्धि भएको बताउँदै आफूले बोलेको काम गरेरै देखाउने बताए ।

उनले भने, ‘प्रदेश सरकारको काम भनेकै स्थानीय प्रदेशका सम्भावनालाई विकास र समृद्धिमा फेर्नु हो । त्यसैले गढी माई जतिको प्रसिद्ध मन्दिरलाई आउँ आउँ लाग्ने बनाउन सके प्रदेश २ ले रोजगारी दिन सक्छ, र आम्दानी पनि गर्न सक्छ ।’

सोही कार्यक्रममा मन्त्री सोनलले प्रदेश–२ का भौतिक पूर्वाधार विकास मन्त्रालयका भवन विभाग प्रमुख गंगा यादव तथा सडक विभाग प्रमुख सञ्जय साहलाई सम्बन्धित मन्दिर विकासको योजना र डिटेल परियोजना रिपोर्ट (डिपिआर) बनाउन समेत निर्देशन दिएका छन् ।

चियापन लगत्तै मन्त्री सोनलले मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, भवन तथा सडक विभाग प्रमुखहरु, जिल्ला समन्वय समिति बाराका सभापति नवल किशोर सिंह, राजपाका बारा प्रवक्त अरुण सिंह, देवताल गापका अध्यक्ष चन्दन सिंह, राजपाका नेता जयप्रकास साह सहित लिएर मन्दीर प्रांगण र आवश्यक जग्गा जमिनको अवलोकन गरेका थिए ।

आफ्नो प्रतिबद्धता आफ्नै कार्यकालमा पूरा गर्ने गरी काम अघि बढाउन मन्त्री सोनलले जिल्ला समन्वय समिति बाराका सभापतिलाई आग्रह पनि गरेका छन् ।

गढीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी उपरीक्षक रञ्जित सिंह राठौर, समितिका सचिव मोतिलाल कुशवाहा, राजपाका शशिभूषण प्रसाद केशरी, शम्भु गुप्ता, पप्पु गुप्ता लगायत सहभागी थिए ।

तस्वीरमा कार्यक्रम

  

 

 

...

प्रदेश नम्बर–२ बाट राजु साह कानुको रिपोर्ट 

 

 

 

...

सोमबार, २८ साउन, ०७५

 

प्रतिक्रिया

Related