प्राधिकरणलाई कुलमानले दिएको नाफाः १ अर्ब, चुहावट झर्यो २० प्रतिशतमा

प्राधिकरणको सञ्चित नोक्सानी अझै २८ अर्ब १२ करोड
निर्माण सञ्चार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले इतिहासमै पहिलो पटक प्रक्षेपित भन्दा बढी मुनाफा आर्जनको प्रक्षेपण गरेको छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यभार सम्हालेको यस अवधिमा प्राधिकरणले गत आर्थिक वर्ष ०७४-७५ मा अनुमान गरेभन्दा बढी आम्दानी प्रक्षेपण गरेको हो ।

गत आर्थिक वर्ष ०७४-७५मा १ अर्ब १ करोड रुपियाँ खुद नाफा आर्जन हुने उसको प्रक्षेपण छ ।

अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि अहिले प्रक्षेपित वाषिर्क खुद नाफा अझै बढ्न सक्ने कार्यकारी निर्देशक घिसिङले बताए । गत आर्थिक वर्षमा प्राधिकरणको संचालन मुनाफा ७ अर्ब ८६ करोड रुपियाँ छ ।

वित्तीय खर्चहरु कटौतीपछि खुद मुनाफा निकालिने हुँदा नाफा अझै यकिन भने नभएको देखिन्छ ।

चुहावट नियन्त्रणबाट झन्डै ४ अर्ब मुुनाफा

प्राधिकरणको मुनाफाका विभिन्न स्रोत मध्ये चुहावट नियन्त्रण पनि एक हो ।

त्यस्तै, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकसँगको विद्युत् औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, विद्युत् भार कटौतीको अन्त्य, वित्तीय पुनःसंरचनाको प्रभावकारी कार्यान्वयन जस्ता पक्षहरु यस मुनाफाको कारण रहेको घिसिङको दाबी छ ।

चुहावट नियन्त्रणबाट प्राधिकरणलाई झण्डै चार अर्ब थप आम्दानी भएको छ ।

गत वार्षिकोत्सवमा आव ०७३-७४को प्राधिकरणको खुद नोक्सानी ९७ करोड ८९ लाख हुने प्रक्षेपण गरिएकोमा अन्तिम लेखा परीक्षणपछि खुद नाफा एक अर्ब ५१ करोड रुपियाँ देखिएको थियो ।

प्राधिकरणको सञ्चित नोक्सानी अझै २८ अर्ब १२ करोड छ ।

‘प्राधिकरणको गत आवको वार्षिक बजेटमा खुद नोक्सानी करीब दुई अर्ब ५० करोड हुने प्रक्षेपण गरेका थियौँ,’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, ‘तर प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट संस्थालाई नाफामा लैजान सफल भएका छौँ ।’

उनले आफूले जिम्मेवारी लिँदा झन्डै ९ अर्ब घाटामा रहेको प्राधिकरणलाई थोरै दिनमा यस्तो उचाइ दिन सकेको दाबी गरेका छन् ।

उनले थपे, ‘मैले जिम्मेवारी सम्हाल्दा संस्था ८ अर्ब ८९ करोड वार्षिक घाटामा थियो, प्रधानमन्त्री, ऊर्जामन्त्री, ऊर्जा सचिव, सञ्चालक समितिसहित नेपाल सरकारका विभिन्न निकाय, आम उपभोक्ता, प्राधिकरणका कर्मचारीलगायत सबैको निरन्तर सहयोगबाट गतवर्ष पनि संस्था नाफामा गएको हो ।’

घिसिङका अनुसार उनले सोचे जति सफलता हासिल गर्न अझै सकिएको अवस्था भने बनेको छैन ।

चुहावट झर्यो कतिमा ?

प्राधिकरण गत आवमा विद्युत् चुहावट नियन्त्रणको लक्ष्य पूरा गर्न सफल भएको छ ।

प्राधिकरणले गत आवमा प्रणालीमा रहेको २२.९० प्रतिशत विद्युत् चुहावटलाई २०.५० प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो ।

गत आवमा विद्युत् चुहावट २०.४५ प्रतिशतमा सीमित भयो । जुन प्राधिकरणको इतिहासमा सबैभन्दा कम चुहावट हो ।

त्यसमध्ये प्रसारण र वितरण प्रणालीको चुहावट क्रमशः करिब ५.५ प्रतिशत र करीब १४.५ प्रतिशत रहेको छ । चालु आवमा विद्युत् चुहावटलाई १८.५ प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ ।

तर प्राधिकरणले १५ प्रतिशत कायम गर्ने लक्ष्य राखेको छ ।

अभियानमा सफलता

चुहावट नियन्त्रण गर्न प्राधिकरणले चोरी नियन्त्रण, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सव-स्टेसनको सुदृढीकरण जस्ता कामहरुलाई घिसिङले अभियानकै रुपमा अघि बढाइरहेका छन् ।

उनले आउने वर्षमा अझै माथि जाने लक्ष्य रहेको बताएका छन् ।

 

 

 

...

मंगलबार, २९ साउन, ०७५


प्रतिक्रिया

Related