कुकुरमा समेत कर ! ढाड सेक्ने करले नागरिकमा बढ्दो आक्रोश

जडीबुटी व्यापारका लागि इजाजत पत्र लिँदा पाँच हजार र हरेक जडीबुटीको प्रति केजी छुट्टा छुट्टै कर तिर्नुपर्ने
निर्माण सञ्चार, जुम्ला । स्थानीय सरकारले सर्वसाधारणको ढाडसेक्ने कर लगाएको भन्दै जुम्लाका नागरिकले आक्रोस व्यक्त गरेका छन् ।

संघीयता आएपछि घरको दैलो दैलामा सिंहदरबार आउने आशा गरेका नागरिक पशुदेखि घर जग्गाका क्षेत्रमा लगाइएको मनपरी करले सामान्य आयस्तर भएका समुदायको ढाडसक्ने भन्दै आक्रोस व्यक्त गरेका हुन् ।

तातोपानी २ का लोकबहादुर दमाईं भन्छन्, ‘अपेक्षा गरिएभन्दा कर बढी किन लगाइएको हो ? यो विषयमा संशोधन नभए विरोधका कार्यक्रम गरिने छ ।’

सुन्दै अचम्म लाग्न सक्छ, जुम्लाको गुठीचौर गाउँपालिकाले लगाएको करले पशुपन्छी उपचारदेखि कुुकुरसम्मको पनि कर लिन थालेपछि स्थानीय आक्रोसित बनेका हन् ।

स्थानीय सरकार आइसकेपछि यसरी पहिलो पटक कुकुर, बिरालो र पशु उपचारदेखि चरीचरणमा पनि कर लगाएको स्थानीय बताउँछन् ।

स्थानीयहरुले घरमा पाल्ने गरेका पाल्तु जनावरमा यसअघि कर लागइएको थिएन ।

एक स्थानीय भन्छन्, ‘हामीले घरका पाल्तु जनावरको उपचार गर्दा औषधिको त पैसा तिरेकै हो तर, उपचारमा पनि कर लागेको त कहिलै थिएन । अचम्म लागिरहेको छ ।’

गुठीचौरको पाटनमा चराइने गाईवस्तुमा पनि कर लगाउँदा पशुचौपाया पाल्ने कि नपाल्ने भन्ने दुविधा भएको स्थानीय बताउँछन् ।

‘घरमा वस्ताुभाउ पालिएको छ । मल चाहिन्छ, जोत्नका लागि पनि पशु चाहिन्छ । आठ, दशवटा स्थानीय जातको गाई पालेको छु । तर तिनको रेखदेख गर्न, चरन गराउन पनि कर लागेको छ भन्दा मन दुखेर आयो,’ गुठीचौर ५ का दाने नेपालीले भने, ‘त्यसबाट हामिलाई कुनै फाइदा छैन । उल्टै स्थानीय सरकारले कर लिने भए यस्तो कानुन हामीलाई चाहिएन ।’

भरखरै मात्र यहाँको स्थानीय सरकारले वस्तु ओसारपसार गरे पनि र जस्तो व्यवसाय गरे पनि कर लगाउने प्रस्ताव पारित गरेपछि स्थानीयले विरोध जनाएका हुन् ।

उनीहरु महँगो कर लगाएर जनतालाई सुख नभई दुख दिएको बताउँछन् ।

स्थानीय मानबहादुर नेपाली भन्छन्, ‘पैसा कमाउन विदेश जानु पर्ने । मरी मरी बाँचेर आउँछ । बिचराले कर तिरेरै सक्तैन भने के गर्नु ?’ 

सुन्दै अचम्म लाग्न सक्छ, जुम्लाको गुठीचौर गाउँपालिकाले लगाएको करले पशुपन्छी उपचारदेखि कुुकुरसम्मको पनि कर लिन थालेपछि स्थानीय आक्रोसित बनेका हन् । स्थानीय सरकार आइसकेपछि यसरी पहिलो पटक कुकुर, बिरालो र पशु उपचारदेखि चरीचरणमा पनि कर लगाएको स्थानीय बताउँछन् 

‘कालापहाड गएर कमाएको पैसाले घरखर्च चलाउन पनि धौधौ पर्ने यस्तो ठाउँमा सरकारले दुखी र गरिबका लागि के दियो त ?’ उनले प्रश्न गरे ।

कुकुर, बिरालो उपचारमा पनि कर !

घरदेखि चिया पसलसम्म करैकर लागेको यतिबेला स्थानीयको बुझाइ छ । कुकुर र बिरालोको उपचारमा पनि कर लगाए विषय यतिबेला जुम्लामा चर्चामा छ ।

गुठीचौर गाँउपालिकाले पहिलो पटक कुकुर, बिरालो तथा अन्य पशुपन्छी उपचारदेखि पशु चरनमा कर लगाएको छ ।

जुन कुराको स्थानीयले स्वीकार गरेका छैनन् ।

कुकुर, बिरालोदेखि पशुवस्तु उपचार गर्नु परे १० देखि ५० रुपियाँ कर तिर्नुपर्नेछ । जसअनुसार कुकुर, बिरालोको उपचार गर्नुपर्दा दर्तास्वरुप २५ रुपियाँ कर तोकिएको छ ।

गाई भैसी उपचार गर्दा प्रतिवटा २०, भेडा बाख्रा प्रतिवटा १०, हात्ती, घोडा, खच्चर प्रतिवटा ५० र कृतिम गर्भधान गरे प्रतिवटा ५० रुपियाँ गाँउपालिकालाई कर तिर्नुपर्ने भएको छ ।

स्थानीय सरकारले गरेको व्यवस्था अनुसार स्थानीय वा बाहिरका पशुपालक किसानले पालिकाको जुनसुकै वन क्षेत्रमा पशुपालन गरेर चरीचरन गराए पनि पालिकालाई कर तिनुपर्ने व्यवस्था गरेको हो ।

यसअघि पालिकाभित्र जहाँ पनि वन वा पाटन क्षेत्रमा निःशुल्क पशुवस्तु पालन तथा चरीचरन गर्ने पाइने थियो । तर अब नयाँ व्यवस्था अनुसार यी सबै काममा कर तिर्नु पर्ने छ ।

गुठीचौर गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०७५ मा यसरी बन तथा पाटन क्षेत्रमा पशु चराए कर असुल्ने उल्लेख छ ।

राजपत्रमा प्रकाशित आर्थिक वर्ष २०७५/०७६ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने निर्णय अनुसार स्थानीयले पशु चराए कर तिर्नु पर्ने भएको हो ।

सो अनुसार बन तथा पाटन क्षेत्रमा स्थानियले भैसी चराए प्रति भैसीको ५ र बाहिरका किसानले चराए २० रुपियाँ कर लिइनेछ । त्यस्तै स्थानीयलाई गाई, घोडा, घोडी चराए बापत प्रतिवटा ५, घोडा खच्चर, भेडा बाख्रा प्रतिवटा २ र बाहिरकालाई १० रुपियाँ कर लाग्ने व्यवस्था छ ।

कर बिना पालिका चल्दैन

केन्द्रले दिने अनुदानकै भरमा पालिका संचालन गर्न नसकिने भन्दै हरेक वस्तु, व्यवसाय तथा निर्माण सामाग्रीमा कर लगाइएको गुठीचौर गाँउपालिकाले जनाएको छ ।

स्थानीय तहमा उठ्ने करले पालिका सञ्चालनमा सहज हुने अध्यक्ष हरीबहादुर भण्डारीले बताए । सबैको स्वीकार्य हुनेगरी लगाइएको करको दायरमा सबै आउनुपर्ने उनको भनाइ छ ।

कच्ची घर र पक्की घरको फरक फरक ‘कर’

पालिकाका प्रशासकीय अधिकृत केशवराज शर्माका अनुसार पालिकाले लगाएको कर जनताको हितमै रहेको छ र उनीहरुले तिर्न सक्ने मात्र कर लगाइएको छ ।

उनका अनुसार सेवा शुल्क कर अन्र्तगत नागरिकले सिफारिस लिनुपरे एक सय रुपिया दस्तुर लाग्ने छ । कच्ची माटोको घरमा बस्ने नागरिकले ५० र पक्की घरमा बस्ने नागरिकले १५० रुपिया कर तिर्नेछन् ।

जडीबुटी संकलकलाई पनि कर, करमा मनपरी !

पालिकाले भूमिकर र घरवहाल करसँगै व्यावसायिक करमा पनि महँगो शुल्क तोकिएको छ ।

व्यावसायिक कर अन्तर्गत खुद्रा पसल र होटल सञ्चालन गर्नेलाई पाँच हजार वार्षिक कर तोकिएको छ भने कुटानी पिसानी उद्योग सञ्चालन गर्नेलाई मात्र दुई हजार कर तोकिएको छ ।

जडीबुटी, कवाडी र जीवजन्तु कर अन्तर्गत भारी कर लगाइएको छ । यसअघि जडीबुटी व्यापारीले मात्र कर तिर्नुपर्ने अवस्था थियो ।

तर, अब संकलनकर्ताले पनि कर तिर्नुपर्ने भएको छ । जडीबुटी व्यापारका लागि इजाजत पत्र लिँदा पाँच हजार र हरेक जडीबुटीको प्रति केजी छुट्टा छुट्टै कर तोकिएको छ ।

संघीयता आएपछि घरको दैलो दैलामा सिंहदरबार आउने आशा गरेका नागरिक पशुदेखि घर जग्गाका क्षेत्रमा लगाइएको मनपरी करले सामान्य आयस्तर भएका समुदायको ढाडसक्ने भन्दै आक्रोस व्यक्त गरेका हुन् 

सवारी साधान कर अन्तर्गत ट्रक्याटर प्रतिटिप पाँच सय, ट्रक हेबी प्रतिटिप सात सय र काठ निर्यात सिफारिस प्रतिट्रक दुई हजार पाँच सय रुपियाँ कर लाग्ने गुठीचौर गाँउपालिकाले जनाएको छ ।

त्यस्तै आन्तरिक पर्यटकलाई दश र बाह्य पर्यटकलाई एक सय रुपियाँ पालिकाले कर तोकेको छ ।

 

 

 

...

सोमबार, ४ भदौ, ०७५

 

प्रतिक्रिया

Related