नागरिकलाई छैन सिटामोल, लाखौँको औषधि यसरी जान्छ खेर !

निर्माण सञ्चार, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको छेउमै लाखौंको औषधि खेर गइरहेको छ मात्र हैन, जथाभावी फालिएको औषधि सड्न थालेपछि फैलिएको दुुर्गन्धले जनस्वास्थ्यमा समेत असर पर्दा सम्बन्धित निकायको लाजमर्दाे मौनताले सर्वसाधारण वाक्क भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयको नयाँ भवन बन्दैछ । ढिलासुस्ती र अस्तव्यस्त तरिकाले बन्दै गरेको भवनको एउटा कोठामा लाखौंको औषधि असरल्ल मिल्काइएको छ ।

जबकि देशका दुर्गम स्थानमा औषधिको खाँचो छ । बिरामी सिटामोल नपाएर मर्ने ठाउँमा लाखौंको औषधि यसरी खेर जानुलाई के भन्ने ?

निर्माणाधीन भवनको झ्याल, ढोका हालिएको छैन । धारामा पानी जडान र व्यवस्थित शौचालय पनि बनिसकेको छैन । भवनको फिनिसिङ पनि बाँकी छ । तर, यस्तै असरल्ल भवनको कोठामा भने लाखौंका औषधि फालिएका छन् ।

सम्बन्धित निकायको यसमा कुनै चासो देखिदैन ।

भवनको पहिलो तलाभित्र हिँउदमा परेको हिँउ र वर्षाको पानीले भिजेका निर्माण सामाग्री यत्रतत्र ओसिएर छरिएका छन् । कोठामा पस्नै नसकिने गरी फोहोर गन्हाउँछ ।

दोस्रो तलाको दुई कोठामा लथालिंग फालिएको म्याद गुज्रिएको औषधिहरु यतिबेला गन्हाइरहेको छ ।

मुखै छोप्नुपर्ने अवस्थाले मानिसहरु आक्रान्त छन् । फोहोर र म्याद गुज्रिएको औषधि गन्हाएर कामदारले पनि काम गर्न नसकेको गुनासो छ ।

समस्या सिर्जना गर्ने बानी, नानीदेखि नै त लागेको हैन कि !

यसअघि भाडाको घरमा बस्दै आएको जिल्ला स्वास्थ्य कार्यालयले आफ्नो भवन नबन्दै म्याद गुज्रिएको औषधि नँया भवनमा स्टोर गर्न खोजेपछि यस्तो समस्या आएको हो ।

अहिले त्यहाँ लाखाँै मूल्य पर्ने करिब एक गाडी बढी म्याद गुज्रिएको औषधि जथाभावी फालिएको छ । म्याद सकिएको औषधि बनाइ नसकेको घरमा राख्नुको बाध्यता रहेको जिल्ला स्वास्थ्य कार्यालयको भनाइ छ ।

तर, स्थानीय नागरिकहरुले भने भवनभित्र लाखौँको औषधि जथाभावी फालिएको अवस्थामा देखेपछि व्यापक आलोचना गरेका छन् ।

खोज्दा नपाइने औषधि फाल्न भने पाइने !

विगतका विभिन्न समयमा स्वास्थ्य चौकीमा औषधि पर्याप्त नभएको भन्दै बिरामीले उपचार नपाएको स्थानीय सम्झन्छन् । तर यतिबेला दशाकौँको औषधि म्याद गुज्रिएको भनी फालिएको छ ।

स्थानीयले यही मुद्दालाई उठाएका छन् । तर, सम्बन्धित निकाय लाचार देखिन्छ । यहाँका स्थानीयहरु वर्षौंदेखि सिटामोल जोहो गर्न हिँडिरहेका हुनछन् ।

स्थानीय रुपा कामीका अनुसार यहाँ नागरिक अहिले पनि सिटामोलको जोह गर्न बाध्य छन् । तर, स्वास्थ्य कार्यालयले म्याद सकिएको भन्दै लाखौंको सिटामोल पनि फालिरहेको अवस्था छ ।

म्याद गुज्रेको भए पनि जथाभावी पाइँदैन फाल्न औषधि

औषधि विज्ञानको आफ्नै सिस्टम र अनुशासन छन् । तर, हामीकहाँ कसैले आफूलाई अनुशासित बनाउनु भनेको मर्नु सरह ठान्दछ । म्याद गुज्रेको भए पनि जथाभावी रुपमा औषधि फाल्न पाइँदैन ।

यसरी फालिने औषधिबारे औषधि प्राविधिक, स्वास्थ्यकर्मी, स्थानीय पत्रकार र प्रशासनको रोहबरमा औषधिको वैज्ञानिक डिस्पोज गर्नु पर्ने प्रावधान छ ।

तर, सरकारी निकायबाटै हुने यस्तो लापरबाहीको जिम्मा लिने कसले ?

जिल्ला स्वास्थ्य संस्थाहरुमा उपचार गर्न गएका बिरामीले सिटामोलसम्म नपाएर रित्तो हात घर फर्किनु परेको धेरै उदाहरण छन् ।

निर्वाचन पछि जिम्मेवारीमा आएका जनप्रतिनिधिहरु, स्थानीय तहका अधिकारीहरु पनि यसप्रति बेखबर छैनन्, तर जिम्मेवारी बहन भने कसैले गरेको देखिदैन ।

वर्षौदेखि यहाँका स्वास्थ्य संस्थामा औषधि अभाव हुँदै आएको रेकर्ड छ ।

तर हरेक बर्ष स्वास्थ्य संस्थामा बाराम्बार औषधि अभाव हुने बताइए पनि जिल्ला स्थास्थ्य कार्यालयको स्टोरमा औषधि म्याद गुज्रिएर थन्किनुले यी निकायको नियत प्रति प्रश्न उठेको हो ।

जिल्ला अधिकारी अल्छी, लापरबाह स्वास्थ्य अधिकारी ?

म्याद गुज्रिएका उक्त औषधिहरु धेरै वर्ष अघिदेखि रहेको जनस्वास्थ्य अधिकृत अंगतबहादुर शाहीको दाबी छ । उनी आफूले नै म्याद गुज्रिएका कारण वर्षाैंदेखि स्टोरमा थन्किएकै अवस्थामा रहेको स्वीकार गर्छन् ।

तर एक, दुई वर्षमै यति ठुलो परिणामको औषधि कसरी म्याद गुज्रिएको हो भन्ने प्रश्नमा अलिअलि गर्दै धेरै वर्षभित्र म्याद गुज्रेको औषधि एकै पटक ठुलो परिणाममा देखिएको उनको दाबी छ ।

निर्माण सञ्चारसँग बोल्दै उनले भने, ‘विगत दुई वर्षयता जिल्लामा औषधि अभाव छैन । तर यस अवधिमा भने कुनै औषधिको म्याद पनि गुज्रिएको छैन ।’

‘स्टोरमा थन्किएको म्याद गुज्रेको औषधि दुई दशक यताकै मात्र हो । नत्र एक, दुई वर्षमा यति ठुलो परिणामको औषधि म्याद जाँदैन ।’

उनका अनुसार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित औषधि डिस्पोज समितिले हरेक वर्ष म्याद गुज्रेको औषधि टिप्पणि उठाएर जलाउने प्रावधान छ ।

तर पनि विगत दुई दशकयता म्याद गुज्रेको औषधि प्रक्रिया अनुसार नजलाइएकाले यस्तो समस्या आएको हो ।

जनताको आलोचना बढेपछि अब यी औषधि जिल्लामै डिस्पोज गर्ने वा केन्द्रमा पठाउने भन्नेबारे भरखरै मात्र कुरा हुन थालेको जनस्वास्थ्य अधिकृत शाहीको दाबी छ ।

 

 

...

सोमबार, ४ भदौ, ०७५

 

प्रतिक्रिया

Related