पोखराको अमरसिंह मावि मुलुककै ‘पहिलो’ उत्कृष्ट विद्यालय, उत्कृष्ट विद्यालयभित्र परे मात्र एक दर्जन !

कुन कुन हुन् ? नामसहित
निर्माण सञ्चार, काठमाडौं । ३९ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुककै उत्कृष्ट विद्यालयहरुको नाम सार्वजनिक गरेको छ ।

उत्कृष्ट विद्यालयलाई प्रदान गरिने पुरस्कार घोषणा समेत गरेको मन्त्रालयले छनोट गरेका उत्कृष्ट विद्यालयहरुमा मात्र एक दर्जन विद्यालय समावेश छन् ।

छनोटमा परेका एक दर्जन विद्यलाय मध्ये काश्की जिल्ला पोखरा महानगरपालिका अन्तर्गत रहेको अमरसिंह माध्यमिक विद्यालय मुलुककै ‘पहिलो’ उत्कृष्ट विद्यालयमा छनिएको छ ।

शिक्षा सचिव खगराज बरालको संयोजत्वमा गठित विद्यालय पुरस्कार छनोट समितिले सामुदायिक र संस्थागततर्फ गरी १२ उत्कृष्ट विद्यालयलाई छनोट गरेको हो ।

शिक्षाका सहसचिव सूर्यप्रसाद गौतमका अनुसार विभिन्न विधा अन्तर्गत यी विद्यालय छनोट गरिएका हुन् ।

उनले सामुदायिक र संस्थागततर्फ माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) मा राष्ट्रियस्तरमा उत्कृष्ट हुने तीनरतीन र माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा राष्ट्रियस्तरमा उत्कृष्ट हुने तीन/तीन विद्यालय छनोटमा परेका जानकारी दिए ।

कुन कुन परे छनोटमा ?

मन्त्रालयले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) मा सामुदायिकतर्फ प्रथम अमरसिंह मावि काश्की परेको छ ।

त्यस्तै, द्वितीय हुनेमा काठमाडौंको विश्वनिकेतन माध्यमिक विद्यालय त्रिपुरेश्वर रहेको छ भने तृतीयमा बज्रबराही माध्यमिक विद्यालय, चापागाउँ, ललितपुर रहेका छन् ।

त्यस्तै, संस्थागततर्फ छनोटमा पहिलो बनेको छ एसओएस हरमन माइनर माध्यमिक विद्यालय, सानोठिमी, भक्तपुर र द्वितीय हुनेमा एभरेस्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालय विराटनगर मोरङ रहेका छन् ।

तृतीय हुनेमा नेसनल सेकेन्डरी स्कुल इमाडोल ललितपुर रहेका छन् । 

त्यस्तै, माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा राष्ट्रियस्तरमा सामुदायिकतर्फ प्रथम शीतलादेवी सामुदायिक माध्यमिक विद्यालय पोखरा, कास्की, द्वितीयमा त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालय पुल्चोक ललितपुर र तृतीय हुनेमा कालिका माध्यमिक विद्यालय, कालिकानगर बुटवल रुपन्देही रहेका छन् ।

संस्थागततर्फ प्रथम मदरल्यान्ड माध्यमिक विद्यालय मासवार, पोखरा कास्की पर्न सफल भएको छ भने द्वितीयमा जेम्स माध्यमिक विद्यालय धापाखेल, ललितपुर र तृतीय ज्ञान निकेतन माध्यमिक विद्यालय, शङ्खमूल, काठमाडौँ रहेका छन् ।

पुरस्कृत गरिने, कति कति रुकम ?

आउने शनिबार हुने विशेष कार्यक्रममा छनेटमा परेको उत्कृष्ट विद्यालयहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कृत गर्ने छन् ।

शिक्षामन्त्रालयले दिएको जानकारी अनुसार पहिलो, द्वितीय र तृतीय हुने सामुदायिक र संस्थागत विद्यालयलाई क्रमशः ३ लाख, २ दुई लाख र १ लाख रुपयाँ सहित प्रमाणपत्र तथा सिल्ड प्रदान गरिने छ ।

यस पटकदेखि प्रदेश तथा केन्द्र सरकारले पुरस्कृत गर्ने छुट्टाछुट्टै व्यवस्था गरिएको छ । प्रदेश तथा स्थानीय तहमा उत्कृष्ट विद्यालयबारे ‘शिक्षा पुरस्कार निर्देशिका –२०७५’ अनुसार हुने छ ।

 

 

 

...

बुधबार, २० भदौ, ०७५

 

प्रतिक्रिया

Related