स्थानीय जनप्रतिनिधिहरुकै खिचातानीले जुम्ला लगानी सम्मेलन स्थगित

जनप्रतिनिधिहरु नै खिचातानीमा उत्रिएपछि कहिले हुन्छ विकास ?
निर्माण सञ्चार, जुम्ला । यही भदौ २९ गते हुने भनिएको जुम्ला लगानी सम्मेलन राजनीतिक खिचातानीले गर्दा स्थगित भएको छ ।

लागनी सम्मेलनका लागि आन्तरिक तयारीमा जुटिरहेको स्थानीय सरकारलाई जुम्लास्थित स्थानीय निकायका कर्मचारीहरुले खुलेआम असहयोग गरेपछि लगानी सम्मेलन स्थगित भएको हो ।

चन्दननाथ नगरपालिकाको आयोजनामा हुने भनिएको उक्त लगानी सम्मेलनको अन्तिम चरणमा आइपुगेपछि जिल्लाका सबै स्थानीय तहका कर्मचारीहरुले सम्मेलनमा भाग नलिने खुलेआम चुनौती दिएका छन् ।

उनीहरुले खुलेआम ‘सहयोग नगर्ने’ बताएपछि आयोजक पक्ष निरीह बनेर सम्मेलन नै स्थगित गर्न बाध्य भएको जनाएको छ ।

खिचातानीकै लागि हुन् जनप्रतिनिधि ?

आयोजक नगरपालिकाले आफ्नो स्थानीय तहसँग समन्वय नगरेर एकतर्फी लगानी सम्मेलन गर्न लागेको आरोप सातवटै गाँउपालिकाका जनप्रतिनिधिले लगाएका छन् ।

जनतासँग भोट लिएर विकास गर्ने सपथ खाएका जनप्रतिनिधिहरुबाटै नगरपालिकाले गर्ने उक्त सम्मेलनलाई खुलेआम ‘असफल’ बनाइदिने रणनीति बनाएको थिए ।

यसले जनप्रतिनिधिहरुमा हुर्किएको अराजकतालाई पुष्टि गरेको स्थानीय उद्योगी व्यवसायीको गुनासो छ ।

असफल बनाइदिन किन लागिपरेको भन्ने प्रश्नमा उनीहरुको गुनासो छ, ‘जिल्लाका स्थानीय तहको क्षेत्रधिकारलाई बेवास्ता गरेर नगरपालिकाले एलौटी गरेपछि हामीले के गर्ने त ?’ एक जनप्रतिनिधिले भने ।

उनीहरुले आफूहरुलाई बेवास्ता गरेरै लगानी सम्मेलनको तयारी थालेपछि ७ वटै तहका जनप्रतिनिधिहरुले सम्मेलन सफल हुन नदिने रणनिति बनाएको खुलेआम प्रचार गरिरहेका छन् ।

सातवटै स्थानीय तहको क्षेत्रधिकार मिचेर हुनलागेको लगानी सम्मेलनमा कुनै स्थानीय तहले सहभागिता नजाउने निचोडमा पुगेको गाउँपालिका महासंघका केन्द्रीय सदस्य तथा तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीको जिकिर छ ।

उनले भने, ‘अब शून्यबाटै सम्मेलनको तयारी नभए हामी सातैटा तहका प्रतिनिधिहरु सहभागी हुँदैनौं ।’

रुष्ट पक्षले सम्मेलनको नाउँमा जिल्लाको स्वामित्व नगरपालिकाले लिन खोजेको पनि आरोप लगाएको छ ।

उनले भने, ‘हामीहरुले आफूहरुसँग कुनै समन्वय नगरेको भन्दै जिल्ला समन्वय समिति मार्फत् ध्यानकर्षणपत्र समेत पठाएका थियौं । तर तयारीबारे एकलौटी गरेपछि, सल्लाह नलिएपछि सहयोग पनि नचाहिएला भन्ने ठहर गरेका हौं ।’

यही खिचातानीले गर्दा भदौ २९ गते हुने भनिएको लगानी सम्मेलन तयारी बिनै एकाएक स्थगित गरिएको हो ।

जिल्ला समन्वय समिति र स्थानीय सरकारहरुको ध्यानाकर्षण पत्र, अर्थ मन्त्रालयको सुझाब र नगरकार्यपालिका बैठकको धारणाका आधारमा सम्मेलन स्थगन गरिएको नगरपालिकाले पत्रकार सम्मेलन मार्फत् जानकारी दिएको हो ।

मेयर कान्तिका सेजुवालले आफूहरुले सबैलाई समेटेर अघि बढ्ने भनेर नै स्थगित गरेको भन्दै बचाउ गरेकी छन् ।

उनका अनुसार सम्मेलनको अन्तिम तयारी पूरा भैसकेकै अवस्थामा स्थानीय सरकारले एकाएक आनाकानी गर्नुले कस्तो विकास गर्न खोजेको हो भन्नेमा आशंका उब्जेको छ ।

उनले भनिन्, ‘तैपनि हामीहरुले मन्त्रालयको पत्राचार सहितको सुझाब र स्थानीय जनप्रतिनिधिहरुको सुझावलाई सम्मान गर्दै लागनी सम्मेलन स्थगन गरेका हौं ।’

उनका अनुसार ३ विषयमा सम्मेलनको अवधारणा पत्र तयार भइसकेको थियो । साथै सबै निकायसँग स्वीकृत र सहमति लिने, स्वदेशि तथा विदेशी गरी ३ सय बढी पाहुनालाई निमन्त्रणा वितरण, कार्यदल गठन र कामको बाँडफाड गर्ने जस्ता महत्त्वपूर्ण काम सम्पन्न भइसकेको थियो ।

समयमै ध्यान दिने र समन्वय गर्ने पाठ नसिकेका प्रतिनिधिलाई चुनेर पठाउनाले जनताको समृद्धिको सपनालाई यसैगरी चकनाचुर बनाउन स्वयम् जनप्रतिनिधि नै लागिपर्छन् भन्ने उदाहरण बन्ने पुगेका छन् जुम्ली जनप्रतिनिधिहरु

‘जुम्लाको विकासको लागी मैले देखेको लगानी सम्मेलनको सपनाप्रति म प्रतिबद्ध छु, यसलाई सफल बनाउन सँधै क्रियाशील हुनेछु’ उनको दाबी छ । लगानी सम्मेलन अवरुद्ध भएप्रति दुख व्यक्त गर्दै उनले भनिन्, ‘विभिन्न बाधा अवरोधका कारण सम्मेलन स्थगन भएकोप्रति म दुखी छु, तर यसलाई भावी दिनमा सफल पार्न सबैलाई आग्रह गर्दछु ।’

लागनी सम्मेलनले जिल्लामा हुने आर्थिक कारोबार र अवसरहरुको सिर्जना पनि रोकिएको स्थानीय बुद्धिजीवीहरु बताउँछन् । स्थगन भएपछि जिल्लाको विकास पछि परेको उनीहरुको तर्क छ ।

एक विश्लेषकले भने, ‘किनकि, सम्मेलन सम्पन्न भएको भए, जुम्लाका चार-पाँच सय युवा–युवतीहरु त्यस अवधिमा रोजगारमा क्रियाशील हुन्थे । र, त्यसले निकट भविष्यमै रोजगार पाउने थिए, जसबाट उनीहरु वञ्चित हुन पुगे ।’

विकास गर्छु भनेर आएका जनप्रतिनिधिकै कारण लगानी सम्मेलन स्थगन गरेर जिल्लाको विकासमा अवरोध सिर्जना गर्नु उपयुक्त नभएको नागरिक समाजका सचिव सरोज शाही बताउँछन् ।

यसले जिल्लाको समृद्धिमा बाधा सिर्जना गरेको स्थानीय पनि बताउँछन् ।

यसरी, समयमै ध्यान दिने र समन्वय गर्ने पाठ नसिकेका प्रतिनिधिलाई चुनेर पठाउनाले जनताको समृद्धिको सपनालाई यसैगरी चकनाचुर बनाउन स्वयम् जनप्रतिनिधि नै लागिपर्छन् भन्ने उदाहरण बन्ने पुगेका छन् जुम्लीका जनप्रतिनिधिहरु ।

 

 

जुम्लाबाट सागर परियार 

...

आइतबार, २४ भदौ, ०७५

 

प्रतिक्रिया

Related