जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि अब २४ सै घण्टा लोडसेडिङ मुक्त

गुठीचौरले ५१ किलोवाट बिजुली दिएपछि अब बिरामीलाई बेडबेडमै अक्सिजन
निर्माण सञ्चार, जुम्ला । दैनिक लोडसेडिङको मार खेप्दै आइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २४ सै घण्टा बिजुली बलेको छ ।

गुठीचौर गाउँपालिका स्थित नौमुरे लघु जलविद्युत् आयोजना देपालगाउँबाट अस्पतालको लागि छुट्टै विद्युत् लाइन दिएपछि अस्पतालमा बिजुलीको अभाव नहुने भएको हो ।

गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी र प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले संझौता पत्रमा हस्ताक्षर गरी स्वीच बालेर अस्पतालमा बिजुली बलेको घोषणा गरेका थिए ।

प्रतिष्ठानलाई आवश्यक विजुली दिने भनेर दुई वर्ष भन्दा पहिला सम्झौता भएको थियो । स्थानीय सरकार नआउदै भएको सम्झौता अनुसार अहिले स्थानीय सरकार आएपछि ढिला नगरी अस्पताललाई विद्युत् उपलब्ध गराएको हो ।

सम्झौता अनुसार विजुली आएपछि दैनिक लोडसेडिङ खेप्दै आएको तथा जेनेरेटरको भरमा चलेको प्रतिष्ठानमा लोडसेडिङ मुक्त भएको छ ।

बिद्युत सेवा प्रभावकारी नहुँदा जटिल प्रकारका अपरेसन लगायतका प्रशासनिक काममा समेत असर पर्दै आइराखेको थियो ।

प्रतिष्ठानका रजिष्टार काफ्लेले भने, ‘नियमित रुपमा बिजुली बलेपछि अस्पतालका सवै सेवा नियमित गर्नको लागि टेवा पुगेको छ । अस्पतालका सेवा विस्तारमा समेत बिजुलीले ढोका खुलेको हो ।’

बिजुली बिहीन थियो अस्पताल झन्डै एक वर्षको पहल पछि अस्पतालमा बिजुली बलेको हो ।

बिजुली नहुँदा आइसियु सेवा, सिटी स्क्यान लगायतका महत्वपूर्ण उपकरण सञ्चालनमा ल्याउन नसक्दा विरामी मर्कामा परेका थिए।

रजिस्ट्रार काफ्लेले भने, ‘नियमित विद्युत आपूर्ति संगै आइसियु, सिटी स्क्यान, रक्त सञ्चार केन्द्र, अक्सिजन प्लान्ट चलाउन सहज हुने भएको हो ।

उनले भदौ महिनाभित्रै यी सबै सेवा सञ्चालन गर्नको लागि प्रतिष्ठान जुटिसकेको बताए ।

‘अप्रेशनका लागि चौबिसै घण्टा विद्युत चाहिन्छ, यसअघि जेनेरेटर चलाएर अपरेसन गर्नु वाध्यता थियो, ‘रजिस्ट्रार काफ्लेले भने, ‘अब जस्तोसुकै जटिल प्रकारको अपरेसन बिजुलीका लागि पर्खनु पर्दैन, जतिबेला पनि अप्रेशनका लागि अनुकुल हुनेछ ।’

तेल नहुँदा जेनेरेटर चलाउन कठिन थियो, साना जलविद्युत उपभोक्ता समितिको विजुली अधिकांश समय लोडसेडिङ हुँदा आवश्यकताका काम नहुने गरेका थिए।

अहिले प्रशासनिक काम गर्न सहज भएको छ। सामान्य कामका लागि जेनेरेटर चलाउनु परेको छैन । अस्पतालले २५ देखि ३० किलोवाट खपत हुन गरी विद्युत समितिसंग सम्झौता गरेको छ ।

प्रति युनिट ८ रुपैयाँ भाडा तिर्नुपछ । प्रत्येक कक्षमा सवा मिटर राखिने छ । तर गुठिचौर गाउँपालिकाले भने, अस्पतालाई ५१ किलोवाट बिजुली दिएको छ ।

प्रतिष्ठानमा विद्युत आएदेखि झिलीमिली भएको छ ।

अस्पतालका सेवा प्रवाहमा चुस्तदुरुस्त र प्रभावकारी हुने गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले जानकारी दिए ।

उनले भने, ‘गुठीचौर गाउँपालिकाले दिएको विद्युत सेवाले गुणस्तरीय विरामीको सेवामा पुग्ने आशा गरेका छौँ, अब जाडोयाममा सोलार सिस्टमले काम गरेन भन्ने बाहना नहुने भएको छ ।

प्रत्येक कोठामा एसीको व्यवस्था गरिएको छ ।

बिजुली आपूर्तिले चिकित्सक, बिरामी, कर्मचारी र कुरुवा सवै उत्साहित भएको छन् । अब बेडबेडमा अक्सिजन पुग्ने भएको छ ।

 

 

जुम्लाबाट सागर परियारको रिपोर्ट

 

 

...

आइतबार, २४ भदौ, ०७५

 

प्रतिक्रिया

Related