बिमस्टेक शिखर सम्मेलन सुरुः प्रधानमन्त्री ओलीद्वारा अजेन्डा प्रस्तुत

निर्माण सञ्चार, काठमाडौं । नेपालको राजधानी काठमाडौंमा चौथो बिमस्टेक शिखर सम्मेलन आरम्भ भएको छ । नेपालका तर्फबाट अध्यक्षता गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले वैठकका अजेन्डा प्रस्तुत गरेका छन् ।

आजै स्वदेश फर्किने चर्चा भइरहेकै बेला बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले (वर्णानुक्रम पालो अनुसार) साँढे चारबजेबाट सम्बोधन गरेकी छन् ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) नाउँमा सुरु भएको यसको चौथो सम्मेलन होटल सोल्टीमा सुरु भएको हो ।

सम्मेलनमा सहभागी पूर्वी एसिया सहितको दक्षिण एसियाली राष्ट्र (७ मुलुक) का राष्ट्र तथा सरकार प्रमुखहरुले आजको वैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शिखर बैठकमा नेपालका तर्फबाट प्रधानमन्त्री ओली, बंगलादेशकी प्रधानमन्त्री हसिना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलंकका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा सहभागी छन् ।

सम्मेलनको आरम्भमा (३ः४५ बजे) प्रधानमन्त्री ओलीले करिब २५ मिनेट सम्बोधन गरेका थिए ।

सम्बोधन रोलक्रम अध्यक्ष्ता गर्ने राष्ट्र वा सरकार प्रमुखले बोलेपछि वर्णानुक्रम अनुसार बंगलादेश, भुटान, भारत, म्यान्मार, श्रीलंका र थाइल्यान्डका राष्ट्रप्रमुखरसरकार प्रमुखहरूले मन्तव्य दिने कार्यक्रम रहेको छ ।

सम्बोधन पछि रात्रीभोज

आयोज राष्ट्र नेपालले तय गरेको कार्यतालिका अनुसार आज साँझ ६ बजे सम्मेलनको पहिलो दिनको औपचारिक सत्र सम्पन्न हुने छ ।

त्यसपछि अतिथिहरुलाई प्रधानमन्त्री ओलीद्वारा रात्रीभोज दिइने कार्यक्रम रहेको छ । आजको रात्रिभोज होटेल ह्यातमा हुने छ ।

आजको कार्यक्रम पछि शुक्रबार बिहान प्रधानमन्त्री ओलीले सदस्य राष्ट्रका सरकार प्रमुखरराष्ट्र प्रमुखको सम्मानमा ‘रिट्रिट’ दिने कार्यक्रम रहेको छ । बिहीबार हुने दोस्रो दिनको वैठक बिहान साँढे एघार बजेबाट सञ्चालन हुनेछ ।

अजेन्डा के के ?

शान्त, समृद्ध र दिगो बंगालको खाडीतर्फ भन्ने मूलनारा सहितको बिमस्टेक शिखर सम्मेलनमा यस क्षेत्रमा हुने प्रतिआतंकवादका साझा रणनीति तय गर्ने विषय प्राथमिक रहेका छन् ।

यस अघि अन्तर्राष्ट्रिय आतंकवाद, सीमापार सांगठनिक अपराध र अवैध ओसारपसार सम्बन्धी बिमस्टेक सन्धि ४ भदौमा प्रतिनिधिसभाबाट अनुमोदन भइसकेको छ ।

सम्मेलनमा स्वतन्त्र व्यापार, बिमस्टेक वडापत्र निर्माण, संयुक्त लगानी कोष, भन्सार सहजतासम्बन्धी सम्झौता, मोटरगाडी तथा परिवहन, स्थल तथा जलमार्ग कनेक्टिभिटी जस्ता विषयमा छलफल हुने बताइएको छ ।

बुधबार बसेको बिमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकले विद्युत प्रसारण लाइन (ग्रीड इन्टरकनेक्सन्स) को एमओयुलाई अगाडि बढाउने निर्णय समेत गरिसकेको छ ।

बिमस्टेक सदस्य राष्ट्रहरु यही अजेन्डामा केन्द्रित हुने छन् ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले दिएको जानकारी अनुसार बिमस्टेक शिखर सम्मेलनले महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर सहित काठमाडौं घोषणापत्र जारी गर्ने छ ।

आउने पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्ने गरी प्रम ओलीले अध्यक्षता हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।

 

 

 

...

बिहीबार, १४ भदौ, ०७५

 

प्रतिक्रिया

Related