बिपी राजमार्गमा पनि बन्ने भो सुरुङमार्ग !

विकासको बाहक टनेलः चियाबारी–खुर्कोटमा कस्तो बन्ला त टनेल ?
निर्माण सञ्चार, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तावित चियाबारी–खुर्कोट सुरुङमार्ग निर्माणस्थलको आइतवार निरीक्षण गरेका छन् ।

मन्त्री खतिवडाले आइतबार सिन्धुलीको खुर्कोट र कमलामाई नगरपालिका–२ चियाबारीस्थित सुरुङमार्ग निर्माणस्थलको निरीक्षण गरेका हुन् ।

५ किमि लामो सुरुङ कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीसहितको जनप्रतिनीधिको टोली र मन्त्री खतिवडाले संयुक्तरुपमा सुरुङमार्ग निर्माणस्थलको निरीक्षण गरेका हुन् ।

जापान सरकारले निर्माण गरेको बनेपा–सिन्धुली–बर्दिवास (बीपी) राजमार्गको सिन्धुली–खुर्कोटखण्डमा ठुला सवारी साधन सञ्चालनमा समस्या आएपछि सरकारले विकल्पकारुपमाा चियाबारीदेखि खुर्कोटसम्म सुरुङमार्ग निर्माण गर्ने निर्णय गरेको थियो ।

अर्थमन्त्री खतिवडाले सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन, भौगोलिक अवस्था र आवश्यक बजेटबारे जिल्लाबासीसँग छलफल पनि गरेका छन् ।

अर्को वर्षबाट निर्माण

निरीक्षणका क्रममा अर्थमन्त्री खतिवडाले सुरुङमार्ग निर्माणका लागि विदेशी दातृ निकायसँग कुरा भइरहेको बताउँदै सरकारले आवश्यक सहयोग जुटाएर छिट्टै निर्माण थाल्ने जानकारीसमेत दिए ।

‘मन्त्रीज्यूले सुरुङमार्गलाई निक्कै चासोका साथ लिनुभएको छ ।

यो सुरुङमार्गको डिपीआर यसै वर्ष तयार गरिसकिने भएको छ । आगामी आर्थिक वर्षबाट निर्माण थाल्ने गरी सरकार जुटेको बताउनुभयो’, अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै मेयर खत्रीले भने ।

झण्डै ५ किलोमिटर लामो सुरुङ मार्ग निर्माणका लागि सरकारले चालू आर्थिक वर्षमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

भार नथेग्ने सडक

उक्त बजेटले यसै वर्ष सुरुङमार्गको सम्भाव्यता अध्ययनथालिने भएको छ ।

बीपी राजमार्ग अन्तरगत सिन्धुलीबाट खुर्कोटसम्मको झण्डै २५ किलोमिटर सडक साँघुरो र घुम्ती नै घुम्ती हुँदा ठुला सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

१० टन भन्दा बढी भारक्षमताका सवारीसाधन र २९ सिटभन्दा लामा बस सञ्चालन गर्दा सडकमा क्षति पुग्नुका साथै दुर्घटना बढ्ने भएकाले विकल्पमा सुरुङमार्ग निर्माण गर्न स्थानीय जनप्रतिनीधिले सरकारलाई दबाब दिँदै आएका थिए ।

सुरुङमार्ग निर्माणपछि ठुला सवारी साधन त्यहीँबाट सञ्चालन गरिने छ ।

बीपी राजमार्गको नागबेली सडकमा भने पर्यटकीय सवारी साधन मात्रै आवतजावत गर्न दिइने योजनामा छ ।

साँघुरो सडकको विकल्प

जापान सरकारको झण्डै २५ अर्ब रुपैयाँ लागतमा चार वर्ष अघिमात्र निर्माण गरिएको राजमार्ग २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो ।

भूकम्पले सडक चिराचिरा परेर चर्केर भासिएपछि उक्त राजमार्गको विकल्पमा सुरुङमार्ग निर्माण गर्न जिल्लाबासीले माग गरेका थिए । सुरुङमार्गको यसै वर्ष डीपीआर बनाउने तयारी सरकारले थालेको छ ।

मध्य तराईबाट राजधानी भित्रने सबैभन्दा छोटो बीपी राजमार्गमा सुरुङमार्ग बनेपछि राजधानी झनै नजिक हुनेछ ।

कमलामा पुल

मन्त्री खतिवडाले कमलामाई नगरपालिकाको ९ र १० नम्बर वडा जोड्ने गरी कमला नदीमा पक्की पुल निर्माणस्थलको समेत निरीक्षण गरेका छन् ।

खतिवडाले नगर प्रमुख खत्रीको आग्रहमा पुल निर्माणस्थलको निरीक्षण गरेका समाचार अन्नपूर्ण पोस्टबाट लिइएको हो ।

 

 

 

...

सोमबार, १८ भदौ, ०७५

 

प्रतिक्रिया

Related