जुम्ली स्याउबाट लाखौं बुझ्न थाले किसानः बगैँचामै पुग्छन् बिचौलिया

स्याउ लिन बगैँचामै व्यापारी धाउन थालेपछि किसान दंग, भने जस्तो भाउ भने किसानले नपाएको चिन्ता
निर्माण सञ्चार, जुम्ला । जुम्ला १८ भदौ जुम्लामा यतिबेला स्याउ टिप्ने चटारो छ । सबै किसान आफ्नो फसल बेचेर पैसा बुझ्ने दौढमा व्यस्त छन् ।

स्याउ उठाउन बगैँचामै बिचौलियाहरु धाउन थालेपछि स्याउले पहिले भन्दा बढी बजार लिन थालेको छ । किसानहरु स्याउ टिप्न व्यस्त रहेपनि बजारीकरण हुदैनकि भन्ने चिन्तामा थिए केही समय पहिले ।

किनकि, स्याउको बजारीकरण नहुने यस अघि समस्या थियो ।

बजारमा पुगेन भने वर्षभरको आफ्नो मिहिनेत खेर जाने डर । भदौ महिना लागेसँगै स्याउ टिप्ने चटारो हुन्छ । तैपनि भनेजस्तो बजार नपाइएला भन्ने डरमा रहेको किसानहरु यतिबेला दंग छन् ।

किनभने स्याउ लिन बगैँचामै व्यापारी धाउन थालेपछि किसान दंग छन् । भने जस्तो भाउ भने किसानले नपाएको उनीहरुको चिन्ता छ ।

चन्दननाथ नगरपालिका–९ की स्याउ किसान प्रतिमा जिसीको स्याउ लिन बिचौलियाहरु बगैँचामै आए ।

पहिले पहिले स्याउ किनदिनुस् भन्दै मान्छे खोज्नु पर्ने अवस्थामा यसरी व्यापारीहरु बगैँचामा आउन थालेपछि उनी खुसी नहुने कुरै भएन ।

व्यापारीले बगैँचाबाटै स्याउ उठाउन थालेपछि ठेक्कामा स्याउ टिपाउन थालेका छन् यहाँका किसान । कामदार लगाएर स्याउ टिप्न थालेपछि प्रतिमालाई निकै राहात मिलेको छ ।

प्रतिमाको अन्य व्यवसाय पनि केही छैन् । दुखको कुरा के छ भने, घरमा पनि अरु कोही छैन । आफ्नो श्रीमान ढुंगा खानीमा छोपिएर मरेपछि घरव्यवहार सबै उनकै टाउकोमा परेको छ ।

अर्काेतिर एक छोरा एक छोरी उनको भविष्यको पर्खामा छन् । उनीहरुको पढाइ धान्न पनि उनलाई मस्किल नै छ ।

उनी भन्छिन्, ‘तर, यस अघि आफूले नचिनेकाले पनि स्याउ लिन कोही आएन । अब त त्यस्तो रहेन । मलाई धेरै नै राहत मिलेको छ ।’

जुम्लाबाट काठमाडौं जस्तै विभिन्न बजारमा स्याउ लैजाने व्यापारी हुन् टीकाराज डाँगी । बगैँचामै पुगेर कामदार लगाउँछन् उनी स्याउ टिप्न ।

प्याकिङको काम पनि आफँ गर्छन् र ढुवानी गर्छन् बजारमा । कसरी किनेका छन् त उनले स्याउ ?

जुम्लामा प्रति किलो ४० रुपियाँ

उनी भन्छन्, ‘१० देखि १५ रुख भएको बगैँचालाई ३० हजारमा खदिर गरेको छु । हिसाब गर्दा प्रतिकेजी ४० रुपियाँ पर्न गएको छ ।’

उनी किसानले टिप्ने तर प्याकिङ नगर्ने भएकाले आफैं कामदार लिएर बगैंचा बगैंचा पुग्न थालेको बताउँछन् ।

उनी थप्छन्, ‘म आफै स्याउ खोज्दै गाउँमा आएको हुँ । किसानले टिप्ने र प्याकिङको कुरामा ध्यान नदिने गरेपछि कुहिने समस्या हुन्छ । त्यसैले म आफैं आएर टिप्ने र प्याकिङ गर्ने गरेको छु ।’

उनले स्याउमा फाइदा हुने बताए । तातोपानी–२ का स्याउ किसान विष्णु अधिकारी, कालो बुढा, मिम डाँगी लगाएतका बगैंचामा व्यापारी पुगेका छन् ।

जुम्ला स्याउको लागि प्रसिद्ध ठाउँ मध्येको एक हो । जुम्लाका १८ हजार घरधुरीमध्ये १६ हजार घरधुरी स्याउमै आत्मनिर्भर रहेको जिल्ला कृषि प्राविधिकहरु बताउँ छन् । 

यो त केही उदाहरण मात्र हुन् । तर, यतिबेला जुम्लाका गाँउ गाउँमा स्याउ व्यापारी छिरेका छन् ।

कमाइ १ देखि १५ लाखसम्म !

अचम्म के छ भने, जुम्ली स्याउ मालिकहरुले यतिबेला खटाखट पैसा गनेर बसे हुने भएको छ ।

हुनत पैसा लिने ठाउँसम्म पुराउन किसानले कति धेरै मिहिनेत र लागनी गर्नु परेको छ, त्यसको कुरा नगरौं, तर व्यापारीहरु बगैंचामै स्याउ उठाउन आएपछि कुहिएर खेर जाने गरेको स्याउले पैसा दिन थालेको भन्दै किसान दंग परेका हुन् ।

जुम्ला स्याउको लागि प्रसिद्ध ठाउँ मध्येको एक हो ।

जुम्लाका १८ हजार घरधुरीमध्ये १६ हजार घरधुरी स्याउमै आत्मनिर्भर रहेको जिल्ला कृषि प्राविधिकहरु बताउँ छन् । यस खाले स्याउ उत्पादनका लागि जुम्लाको भूमि निकै उरर्बर मानिन्छ ।

यहाँ सरकारी तथा गैरसरकारी निकायले स्याउ खेतीका लागि पनि सिँचाई र विरुवा वितरणमा प्रथामिकता दिने यहाँका प्रति किसानले न्यूनतम १ लाखदेखि अधिकतम १५ लाखसम्म स्याउबाट आम्दानी गर्न थालेका छन् ।

‘वर्षभरिको मिहिनेत र परिश्रम यतिबेला स्याउ बनेर फलेको छ । प्रतिफल पाएपछि थोरै भएपनि माया लाग्दो रहेछ,’ स्याउ कृषक प्रतिमा जिसी भन्छिन्, ‘यो वर्ष मैले ३० हजार मात्रै कमाएँ ।’

उनका अनुसार घरवरिपोरिको बगैंचाबाट मात्रै पहिला पहिला लाखौं कमाइ हुने गरेको थियो । यसपाला एकघरा परिवार भिन्न भएका छन् । आम्दानी पनि बाँडिएको छ ।

डाँगीका अनुसार स्याउबाट गाउँका अधिकांश किसानले मनग्गे आम्दानी गर्ने भएका छन् । यो वर्ष प्रति किसान ५ लाख जति आम्दानी गर्न सक्ने उनको दाबी छ ।

कम उत्पादन

यो वर्ष गत वर्षका तुलनामा स्याउको उत्पादन कम भएको किसानहरु बताउँछन् । किसान रतन दमाई भन्छन्, ‘यो वर्ष ३ लाख जति आम्दानी हुने देखिएको छ ।’

उनका अनुसार उनको स्याउ व्यापारीले पहिले नै सम्पर्क गरी बगैँचा ठेक्कामा लिएका थिए ।

जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत बालराम देवकोटाका अनुसार यो वर्ष, स्याउको आम्दानी बढ्ने अनुमान गरिएको बताए । गत आवमा स्याउ निर्यातबाट जुम्लाले १७ करोड रकम भित्राएको थियो ।

त्यो भन्दा यो वर्ष बढ्ने अनुमान अधिकारीहरुको छ ।

जुम्लाको स्याउ भन्ने जुन ‘ब्रान्ड’ बनेको छ, समय नै नभई जथाभाबी बिक्री हुने कुरालाई किसानहरु नै सचेत भएपछि रोक्न थालिएको हो 

अहिले स्याउको मूल्यमा एकरुपता नभएकाले समस्या भएको उनको भनाइ छ ।

ढिला निर्यात सुरु

गत वर्ष स्याउ निर्यातमा मनपरी भएपछि जुम्लाको पहिचानै गुम्ने खतरा देखिएको थियो । निर्देशन लत्याउदै स्याउ टिप्ने र मनलागी निर्यात गरेपछि समस्या निम्तिएको थियो ।

तर यो वर्ष, स्याउ परिपक्व भएपछि मात्र निर्यात गरिने भएको हो । जुम्लाको स्याउ भन्ने जुन ‘ब्रान्ड’ बनेको छ, समय नै नभई जथाभाबी बिक्री हुने कुरालाई किसानहरु नै सचेत भएपछि रोक्न थालिएको हो ।

उनीहरुले जुम्लाको पहिचान स्याउसँग जोडिएको भन्दै परिपक्व नभई बगैंचा अरुलाई नसुम्पने बताएका छन् ।

त्यसैले भदौ १० पछि मात्रै निर्यात गर्न निर्देशन दिइएको कृषि विकास अधिकृत भरतप्रसाद कँडेल बताउँछन् ।

उनी भन्छन्, ‘अहिले स्याउ टिप्ने तथा प्याकिङ गर्ने काम मात्रै भएको छ । भदौ १० अघि निर्यात गर्न खोज्ने व्यापारीलाई कारबाही समेत गरिने छ ।’

कुडारी, रारा र नाग्म चौकीमा चेकजाँचमा समेत कडाई गरिएको उनले बताए ।

परिपक्व नहुँदै स्याउ देशका विभिन्न ठाउँमा बेचिएपछि जुम्लाको स्याउको पहिचान संकटमा पर्ने देखिएको उनको भनाइ छ ।

उनका अनुसार कतिपय व्यापारीले बाहिरको स्याउलाई नै जुम्लाको भन्दै बेच्ने गरेपछि पहिचान गुम्ने खतरा बढेको पनि गुनासो गरे ।

उनले भने, ‘त्यस्तो हुन नदिन, एकैसाथ निर्यात गर्ने तयारी भएको हो । स्याउ निर्यातको सिफारिस तथा करसंकलन भने प्रत्येक स्थानीय तहले गर्ने गरेका छन् ।’

उनले बताए अनुसार बाहिरका व्यापारीलाई स्याउ निर्यातको आधारमा कर लाग्ने छ भने जिल्ला भित्रका व्यापारीलाई लगाएको करमा केही छुट दिने चलन छ ।

जुम्लाबाट स्याउ निर्यातका लागि अनिवार्य रुपमा कृषि कार्यालयको सिफारिस लिनु पर्ने व्यवस्था गरिएको छ ।

 

फोटो क्याप्सन- स्याउ बगैंचामा आफै स्याउ प्याकिङ गर्दै व्यापारी । समाचार तथा तस्बिर– सागर परियार

 

...

मंगलबार, १९ भदौ, ०७५

 

प्रतिक्रिया

Related