पप्पुमाथि छानबिन सुरु, प्रधानमन्त्री कार्यालयले माग्यो पुलको विवरण

निर्माण इन्डस्ट्रिजमा पप्पुको बेइज्जतः कसरी पायो पुलकै मात्र साँढे ५ अर्बको ठेक्का ?
निर्माण सञ्चार, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पप्पु कन्स्ट्रक्सन कम्पनीले बनाएका सबै पुलको वास्तविक विवरण र अवस्था मागेको छ ।

प्रधानमन्त्री कार्यालयले आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै पप्पुले देशभरमा बनाएका सबै पुलको वास्तविक विवरण मागेको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले पुल समयमै नबन्ने र बनेका पनि छिट्टै भत्किने अवस्था आएकाले त्यसको वास्तविक कारण मागिएको जानकारी दिए ।

‘वास्तविक दोषी को हो, सबै विवरण दिनू’ प्रधानमन्त्री कार्यालयले लेखेको पत्रमा भनिएको छ ।

भौतिक मन्त्रालयबाट पप्पुका पुलको विस्तृत विवरण, दोषी पक्ष समेटिएको प्रतिवेदन आएपछि त्यसको ब्रिफिङ प्रधानमन्त्रीलाई गरिने र आवश्यक कारबाही थालिने सचिव अधिकारीले बताए।

प्रधानमन्त्री कार्यालयले नै छानबिन थाल्ने !

मन्त्रालयबाट सबै विवरण आएपछि प्रधानमन्त्री कार्यालयले पप्पुले बनाएका पुलबारे छुट्टै छानबिन र अध्ययन गर्ने भएको छ । ‘पुलको विवरण र अवस्था आएपछि प्रधानमन्त्री कार्यालयले अध्ययन गरी आवश्यक निर्णय गर्छ’, अधिकारीले भने।

मन्त्रालयलाई १५ दिनभित्र विस्तृत विवरण बुझाउन भनिएको उनको भनाइ छ ।

पप्पुले बनाएका पुलको गुणस्तरहीनताले पुल नबन्दै भत्कने गरेको र संघीय समाजावादी फोरमका नेतासमेत रहेका सांसद हरिनारायण रौनियारको नाममा रहेको पप्पु कन्स्ट्रक्सनले देशका विभिन्न भागमा ३१ वटा पुल निर्माणको ठेक्का लिएको छ ।

त्यसमध्ये आधाभन्दा बढी समयमै बन्न नसकको प्रधानमन्त्री कार्यालयमा जानकारी आएको छ । पप्पुले सरकारी निकायबाट पुल बनाउनकै लागि ५ अर्ब रुपैयाको ठेक्का पाएको छ ।

बनेका पुल पनि छोटो समयमै भत्किने, गुणस्तरहीन सामग्री प्रयोग गर्ने गरेको र पप्पुले मलुकलाई नै गम्भीर घाटा पारेको आरोपसहितका उजुरीसमेत प्राप्त भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।

प्रधानमन्त्री कार्यालयले भौतिक मन्त्रालयसँग पप्पुको कम्पनीलाई पुल निर्माण अनुमति दिँदा अनुगमन भए÷नभएको र नभएको खण्डमा किन नगरिएको भन्ने प्रश्नसमेत गरेको छ ।

अब त्यस्ता बदमासीका घटना हुन नदिन अपनाउनुपर्ने सावधानीका उपायसमेत मागिएको सचिव अधिकारीले जानकारी दिए।

निर्माण इन्डस्ट्रिजमा पप्पुको बेइज्जतः कसरी पायो पुलकै मात्र साँढे ५ अर्बको ठेक्का ?

यसैगरी पप्पु कन्स्ट्रक्सन कम्पनीका मालिक रौनियरले पुल बनाउन मात्रै साढे ५ अर्ब रुपियाँको ठेक्का लिएको खुलासा भइसकेको छ ।

उनले राजनीतिक र विभिन्न दबाबमा पारेर एकपछि अर्को ठेक्का लिने र लिएका पुलहरू अलपत्र पार्ने गरेको आरोप छ ।

पछिल्ला दिनमा राष्ट्रिय दैनिकहरुले पप्पुबारे अपरेसन नै थालेपछि उनको वास्तविकता बाहिर आएको हो । रौनियनरको पप्पु कन्ट्रक्सनले ठेक्का लिने, काम अलपत्र पार्ने गरेको भनेर धेरै गुनासाहरू छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पप्पु कन्स्ट्रक्सनमाथि आन्तरिक छानबिनसमेत थालेको छ । पप्पु कन्ट्रक्सनको कम्पनीले एकल र संयुक्तमा गरी पुलमा मात्र साढे ५ अर्बको ठेक्का पाएको छ ।

पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएका अधिकांश पुल अलपत्र परेका छन् । ठेक्का अवधि सकिएको वर्षौं बितिसक्दा निर्माण प्रगति बढ्न सकेको छैन ।

पाएको ३१ मध्ये आधाको अवधि सकिदा पनि भएन काम

पप्पु कन्स्ट्रक्सनले संयुक्त र एकल गरेर ३१ वटा पुलको काम लिएको छ । तीमध्ये १५ वटा पुलको समय सकिसकेको छ ।

अहिले समस्या देखिएको बर्दियास्थित जब्दीघाटको बबई पुल हो ।

यो पप्पु कन्स्ट्रक्सनको एकल ठेक्का हो । १८ करोड ८४ लाख ८४ हजारमा ठेक्का सम्झौता भएर निर्माणको काम सुरु भएको थियो ।

कमला खोला पुलको ठेक्का पप्पु–लुम्बिनी जेभीले २०६८ असारमा पाएको थियो । २०७४ साउनमा सक्नुपर्ने उक्त पुल निर्माणको काम ४५ प्रतिशत मात्र भएको छ । ठेक्का रकम ३० करोड १६ लाख हो ।

२० करोड ७५ लाख भुक्तानी भइसकेको छ । रूपनी–राजविराज–कुनौली सडकअन्तर्गत महुली घाडन खोला पुलको ठेक्का पप्पु–मृतसञ्जीवनी जेभीले २०७१ असारमा ठेक्का सम्झौता गर्यो ।

पर्सा–३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसदसमेत रहेका रौनियारले सरकारी तबरबाट भुक्तानीमा ढिलाइ हुने गरेकाले काम गर्न ढिलाइ भएको आरोप लगाएका छन् ।

उनले पप्पु कम्पनी छोराले जिम्मेवारी लिएको भन्दै आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

___

आजको अन्नपूर्णमा प्रकाशित तथा अन्य समाचार एजेन्सीको सहयोगमा तयार पारिएको

---

पढौं यो पनि

पप्पु कन्स्ट्रक्सनको लापरबाही, निर्माण नसकिँदै भत्काउनुपर्ने भयो टेकुको पुल 

 

 

...

सोमबार, २५ भदौ, ०७५

 

प्रतिक्रिया

Related