जुम्लामा फस्टाउँदो ‘स्मार्ट कृषि’

कृषिमा नयाँ प्रविधि? किसानलाई अब होला त सहज ?
निर्माण सञ्चार, जुम्ला | तिला गाउँपालिका ६ कि लक्ष्मी रावत परम्परागत कृषिबाट दिक्क छन् ।

परिश्रम धेरै, उत्पादन कम, अनि बजारीकरणको कुनै मेसो थाहा नपाउँदा पुरानै शैलीको कृषिले उनी हैरानीमा छन् ।

कृषी आधुनिककरण होलाकि भन्ने आशाले उनले पहिले देखि नै कृषि पेसा नछाडेको बताउँछन् । यस्तै परम्परागत कृषि प्रणालीले लक्ष्मी रावत जस्तै अन्य जुम्ली किसान नयाँ प्रविधिको खोजिमा छन् ।

परम्परागत कृषी शैलीबाट उत्पादीत अन्नले खान समेत धौँ धौँ परेको जुम्लीबासीको गुनासो छ ।

उत्पादनमा वृद्धि, बजारीकरण तथा जीवनस्तर सुधारका लागि यहाँका किसानले सोच्न सक्ने अवस्था पनि थिएन ।

तर, जुम्लामा विगतका वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको कर्णाली दिगोविकास प्रतिष्ठान काष्डाले तिला गाउँपालिका, ६, ७, ८ र ९ नम्बर वडाका झण्डै ३ सय १४ जना किसानलाई अनुदानमा स्मार्ट कृषि सामाग्री वितरण गरेको छ ।

यसकारण जुम्ली किसान सपनामा पनि नसोचेको कुरा पूरा भएको भन्दै उत्साहीत बनेका छन् ।

मंगलबार, ३० वटा समुह भित्रका ३ सय बढी किसानलाई एक कार्यक्रमका बीच ३० लाख बराबरको स्मार्ट कृषि सामाग्री वितरण गर्दा तिला गाउँपालिका सयाँै किसान खुसी भएका हुन् ।

कर्णालीमै पहिलो पटक स्याउ, सिमि र आलु उत्पादनमा वृद्धि गर्न स्मार्ट कृषि सामान वितरण गरिएको छ ।

अब भने जुम्लीबासीले बजारीकरणमा सहजता पाएर जीवनस्तर माथि उकासिने विश्वास लिएका छन् ।

सो ठाउँमा स्याउ, सिमि तथा आलु उत्पादनमा सक्रिय किसानहरुको जीवनस्तर सुधार तथा उत्पादन वृद्धिका साथै बजारीकरणमा सहजता ल्याउने सोचले स्मार्ट कृषि सामाग्री वितरण गरिएको काष्डाका कृषि तथा आर्थिक परियोजना संयोजक भेष बहादुर रावलले बताए ।

उनका अनुसार किसानका आवश्यकतामा आधारित स्मार्ट कृषि सामान वितरण गरेका छौँ । यसले उत्पादन वृद्धि तथा बजारीकरणमा सहजता ल्याउने उनको विश्वास छ ।

कृषि स्मार्ट सामानले उत्पादन वृद्धि, बजारीकरण र जीवनस्तर सुधार गरी यी क्षेत्रमा किसानको पहुँच विस्तार गर्ने लक्ष्य अनुसार आबश्यकता पहिचान गरेर उक्त सामान प्रदान गरिएको स्पष्ट पारे ।

उनका अनुसार स्याउ, सिमि र आलु उत्पादनमा वृद्धिका लागि, पानी जम्मा गर्न, ड्रम,स्प्रे,चाना काट्ने मेसिन, डिजिटल तराजु, पाईप, सिग्नेचर, पाल, आरा, लगायत विभिन्न १० देखि १५ प्रकारका स्मार्ट कृषि सामाग्री अनुदानमा दिइएको छ । तीस समुहका ३ सय १४ किसानलाई सहज हुने गरी स्मार्ट कृषि सामाग्री प्रदान गरिएको हो ।

‘निर्यात बढाउँछौँ, आयात घटाउछौँ’

तिला गाउँपालिका ३ कि जशी रावतले स्मार्ट कृषि सामाग्री बुझ्दै गर्दा निर्यात बढाएर घटाउने दाबी गरिन् ।

उनले भनिन्, ‘तिला गाउँपालिका क्षेत्र अहिले स्याउ, सिमि र आलुको पकेट क्षेत्र हो, कृषि क्षेत्रमा नयाँ प्रविधि नहुँदा पुरानै शैली अपनाउन बाध्य थियौँ, अब हामी स्मार्ट कृषि मात्र होईन स्मार्ट किसान बनाएर देखाउँछौँ ।’

लाखौको सामान मुल्य उत्पादन वृद्धि गरेरै चुकाउने उनको भनाई छ । ‘तिला गाउँपालिकाले अब आउने दिनमा निर्यातदर बढाउने छ, स्थानीय रावतले भनिन्,‘ स्याउ, सिमी र आलु मात्रै निर्यात गरे लाखौँ आम्दानी भित्राउन सकिने र त्यसको शुरुवात म आफैबाट गर्छू ।’

सामान लिन पाउँदा उनी निकै उत्साहीत देखिन्थिन् । तिला गाउँपालिकाका ६ देखि ९ वडामा स्याउ, सिमि र आलु सबै भन्दा बढी पाइने ठाउँ हुन् ।

तर, बजारीकरणको व्यवस्थापन नुहँदा लाखौँको उत्पादन गाउँमै कुहिने रावतले बताइन् ।

उत्पादन बढाएमा निर्यात स्वत बढ्छ, काष्डाले दिएको लाखौको स्मार्ट कृषि समानले स्मार्ट किसानको जीवन सार्थक बनाउने स्थानीय रावतले विश्वास व्यक्त गरे ।

‘आजको आवश्यकता कृषिमा स्मार्ट प्रविधि भित्राउनु हो’ उनले भने ‘हाल काष्डाले जुम्ली किसानको सपना पुरा गरेको छ, पक्कै पनि अगामी वर्ष तिला गाउँपालिकाबाट, लाखौँको स्याउ सिमि र आलु निर्यात गरेरै देखाउँछौ ।

‘बजारीकरणको अभावमा लाखौँको कृषि उत्पादन अब कुहिएर सड्ने दिन गए, स्थानीय सरकार छ, काष्डा संस्था छ, हामी ढुक्क छौँ ’ तीला गाउँपालिकाका अधिकांश किसानले भने ।’

स्मार्ट कृषि संगै स्मार्ट किसान बनेर नमुना सन्देश दिने तिला गाउँपालिकाका किसानको भनाई छ ।

स्थानीय सरकारको लगानी

तिला गाउँपालिकाका कृषि सम्भवनालाई अवसरमा बदल्नका लागि स्थानीय सरकारले विशेष योजना अघि सारेको गाउँपालिका अध्यक्ष रतनाथ योगीले बताए ।

किसानलाई स्मार्ट कृषि सामान वितरण गर्दै उनले अब स्मार्ट किसान अभियानको थालनी हुने बताए । साथै काष्डाले सो पक्षमा पुलको भुमिका खेलेको दाबी गरे ।

उत्पादन वृद्धिदेखि बजारीरकणमा स्थानीय सरकारले पनि विशेष सहयोग गर्ने उनको भनाई छ । तिला गाउँपालिका घोडेमहादेव तथा मालिकाठाँटा कृषिमा आत्मनिर्भर समाज हुन् ।

काष्डाले शुरुवाती गरेपनि यसको कार्यान्वयन प्रक्रियामा तिला गाउँपालिकाले साथ दिने प्रतिवद्धता गरेको छ ।

‘लाखौँ बजेट कृषिका क्षेत्रमा छुटाएका छौँ, अध्यक्ष योगीले भने ‘कृषि कर्मले बाचेको समुदायलाई आत्मनिर्भर बनाउन स्मार्ट कृषि सामानले इट्टाको काम गर्ने जिकिर गरे ।

तिला गाउँपालिकाबाट निर्यात बढाउने किसानको संकल्पलाई देखेर कृषिमा लगानी बढाउनुको विकल्प नरहेको उनको भनाई छ ।

यता काष्डाका देबेन्द्र आर्चायले भने अबको तीन वर्ष काष्डाले तिल गाउँपालिकाका ६ देखि ९ सम्ममा कृषिका क्षेत्रमा काम गर्ने बताए ।

कर्णाली क्षेत्र कृषिमा आत्मनिर्भर भएकाले पनि काष्डाको लगानी कृषिमा केन्द्रित भएको काष्डाका भरत राईले जानकारी दिए ।

उनका अनुसार तिला गाउँपालिकाका किसानको माग अनुसार नै स्मार्ट कृषि सामान दिइएको हो । उत्पादन बढेर जुम्लामै पहिलो स्मार्ट किसान पनि बन्ने विश्वास उनको छ ।

कर्णालीबाट सागर परियारको रिपोर्ट

...

बिहीबार, २८ भदौ २०७५

प्रतिक्रिया

Related