तीन वर्षमै काठमाडौँमा मोनो रेल ! खर्च कति ?

तोकिएको समयअघि नै सकियो सम्भाव्यता अध्ययन
निर्माण सञ्चार, काठमाडौँ | काठमाडौं र ललितपुरमा पर्ने २७ किलोमिटर लामो चक्रपथमा चल्ने मोनो रेल ३ वर्षमै बनाउन सकिने चिनियाँ कम्पनीले बताएको छ ।

मोनोरेलको सम्भाव्यता अध्ययन गरेको चिनियाँ कम्पनी चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसन (सिआरसिसी)को प्रतिवदेनमा सो कुरा उल्लेख गरिएको छ । उक्त मोनो रेल बनाउन भने १ खर्ब १६ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

गत तीन महिनादेखि सम्भाव्यता अध्ययन थालेको सिआरसिसीले काठमाडौं र ललितपुर महानगरपालिकालाई आज (बिहीबार) प्रतिवेदन बुझाएको छ ।

सम्भाव्यता अध्ययनको समय ६ महिनाको दिइएता पनि उक्त कम्पनीले तीन महिनामै अध्ययन गरिसकेको हो ।

बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौं र ललितपुर महानगरका प्रमुखहरू विद्यासुन्दर शाक्य र चिरिबाबु महर्जन समेतको उपस्थिती रहेको थियो ।

दुवै प्रमुखले सम्भाव्यता अध्ययन प्रतिवेदन हेरेर चाडै डिपिआरको पक्रिया अगाडि बढाउने जानकारी दिए ।

सिआरसिसीले डिपिआरका लागि पनि आफू इच्छुक भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

जसका लागि ६ महिना समय लाग्ने कम्पनीले बताएको छ ।

मोनोरोलको संरचना निर्माण भएपछि चिनियाँ कम्पनीले केही समय सञ्चालन गरेर हस्तान्तरण गर्ने सहमति भएको छ ।

विज्ञहरुसँग छलफल गरेर एक महिनाभित्र चिनियाँ कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न दिइने समेत बताइएको छ ।

तीन चरणमा निर्माण गर्ने गरी सम्झौता भएको काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । उनका अनुसार ६ महिनाभित्र डीपीआर तयार गरि तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ ।

कोटेश्वर(कलंकी, कलंकी(महाराजगन्ज र महाराजगन्ज(कोटेश्वर खण्ड गरी तीन चरणमा मोनोरेलको निर्माण हुनेछ । महानगरमा तीन हजार यात्रु बोक्न सक्ने र प्रतिघण्टा एक सय किलोमिटर दगुर्ने मोनो रेल सञ्चालन हुने छ ।

मोनो रेलबारेको प्रारम्भिक अध्ययनले उपत्यकामा भौगर्भिक, वातावरणीय, प्राविधिक र आर्थिकरुपमा सञ्चालन गर्न सकिने देखिएको छ । काठमाडौं र ललितपुरमा मोनोरेलका २१ वटा स्टेसन हुनेछन् ।

...

बिहीबार, २८ भदौ २०७५ 

प्रतिक्रिया

Related