सुर्खेत–जुम्ला आन्तरिक उडान सुरु, कुन–कुन दिन चल्ने ?

कर्णालीका बाँकी जिल्लामा कहिले हुन्छ आन्तरिक उडान ?
निर्माण सञ्चार, कर्णाली प्रदेश | वर्षौपछि सिधैँ सुर्खेतबाट जुम्ला हवाई जहाज चड्ने जुम्लीको सपना पुरा भएको छ ।

कर्णाली प्रदेशको पर्यटन मन्त्रालयको पहलमा वर्षौपछि सुर्खेतबाट सिधा जुम्ला जहाज चड्ने सपना पुरा भएको हो ।

कर्णालीमा आन्तरिक उडानका लागि पटक–पटक कर्णाली बासीले माग गर्दा समेत उडान हुन सकेको थिएन ।

छलफल र बहसमै सिमित कर्णालीको आन्तरिक उडान अझै कर्णालीका चार जिल्लामा कहिले पुग्ने पत्तो छैन । तर, जुम्लाका लागि भने बुधबारदेखि समिट एयरको ९ एन एकेजेट कलसाइनको जहाजले सुर्खेत–जुम्ला उडान शुरु गरेको छ ।

अब नेपालगन्जबाट जुम्ला यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।

सुर्खेत जाँदा नेपालगन्ज पुग्नुपर्ने बाध्यता बाट पनि जुम्लाबासीले मुक्ति पाएको नागरिक समाजका सचिव सरोज शाहिले बताए । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले स्वय चढेर जुम्ला पुगि सुर्खेत जुम्ला उडानको उद्घाटन गरेका हुन् ।

पर्यटन मन्त्री सहित पहिलो उडानमा १८ जनाले पनि सुर्खेतबाट जुम्लाको यात्रा गरेका छन् ।

साहित्य, कला, संस्कृति र भाषालगायत क्षेत्रमा प्रदेशकै लागि अत्यन्त महत्वपूर्ण मानिएको जुम्लालाई प्रथामिकता दिदैँ राजधानी सुर्खेतसँग सहज पहुँच कायम गर्न सिधा हवाई सेवा शुरु गरिएको मन्त्री बुढाले बताए ।

उनले भने, सुर्खेत जुम्ला उडानले नागरिकलाई सेवामा पहुँच मात्र नभई जुम्लाको पर्यटन प्रवद्र्धनमा समेत ठूलो सहयोग पुर्याउने उनको विश्वास छ ।

कर्णाली प्रदेश पर्यटन मन्त्रालयको पहलमा कर्णाली ट्राभल्स एण्ड टुरिजम जुम्लाको व्यवस्थापनमा समिट एयरले सुर्खेत–जुम्ला उडान गर्ने भएको छ ।

सुर्खेत जुम्ला उडानको शुभारम्भ गर्दैै जुम्ला पुगेका पर्यटन मन्त्री नन्दसिंह बुढाले पर्यटकीय दृष्टिकोण तथा सेवाग्राहीको सजिलोका लागि जुम्ला प्रथामिकतामा परेको बताए ।

नेपाल पर्यटन पत्रकार संघ जुम्लाले सुर्खेत जुम्ला उडानको स्वागत गर्दै यसलाई निरन्तरता दिन सुझाब दिएको अध्यक्ष नेत्र बहादुर शाहिले बताए ।

सबैको आवश्यकतालाई मध्यनजर गरी नियमित उडानमा जोड दिईने समिट एयर जुम्लाका ईन्चार्ज सन्तोजङ्ग शाहीले बताए ।

कुन दिनमा हुन्छ उडान ?

वर्षौ पछि सुर्खेतदेखि जुम्लामा सुरु भएको उडान,त्योपनि नियमित नहुने ईन्चार्ज शाहि बताउँछन् । तत्कालका लागि नियमित उडान गर्ने अबस्था नरहेको उनको भनाई छ ।

बुधबार उडानको औपचारिक उद्घाटन भएसंगै, समिट एयरले हप्ताको मंगलबार र शुक्रबार मात्रै उडान गर्ने छ । अन्य पाँच दिन भने उडान नहुने भएको छ ।

हप्ताका दुई दिनमा हुने उडानका लागि अग्रीम टिकट बुकिङको व्यवस्था गरिएको ईन्चार्ज शाहिले जनाए ।

सुर्खेत–जुम्लाको भाडादर भने १ सय रुपियाँले तलमाथि परेको छ ।

सुर्खेतबाट जुम्ला जाँदा ४ हजार १ सय र जुम्ला देखि सुर्खेत आउँदा ४ हजार भाडा तिर्नुपर्ने भएको छ ।

जुम्ला तथा सुर्खेतमा टिकट बुकिङ उडानका लागि यात्रुहरुलाई गो कर्णाली टुर एण्ड ट्राभल्स तथा स्नोल्याण्ड होटलले सघाउने भएको छ ।

समिट एयरसंग भएको सम्झौता अनुसार गो कर्णाली टुर एण्ड ट्राभल्सले सेवा दिने छ ।

उडानको उद्घाटन शुभारम्भको जानकारी दिन जुम्ला पुगेका पर्यटन मन्त्रीले जुम्लाका पर्यटकिय तथा धार्मिकस्थलको अनुगमन गरेका छन् ।

जुम्ला जिल्लालाई पर्यटकीय शहरका रुपमा विकास गर्नका लागि मन्त्रायले करोडौ बजेट विनियोजित गरेको छ ।

उनले भने, ‘गुठिचौरको पर्यटन विकासका लागि १ करोड ५० लाख, सिञ्जा उपत्यकाको विकास गर्न १ करोड तथा गिडी दह पर्यटन सडक निर्माणका निम्ति ५५ लाख बजेटसहित अन्य क्षेत्रमा गरी करोडौ बजेट विनियोजन गरिएको छ ।’

चार जिल्लामा उडान कहिले ?

पर्यटन मन्त्रायले चासो दिएर प्रदेश राजधानी सुर्खेतबाट जुम्लाका लागि बल्ल उडान शुरु भयो । तर, अन्य चार जिल्ला हुम्ला,डोल्पा, मुगु र कालिकोटको बाध्यता भने उस्तै छ ।

सुर्खेत जानका लागि नेपालगन्ज पुग्नु नै पर्ने हुन्छ ।

कर्णाली विगतदेखि उपेक्षाको सिकार भएपनि अब परिर्वतनको सास फेर्ने तर्खरमा रहेको मन्त्री नन्द बहादुर बुढाले दाबी गरे । उनका अनुसार कर्णालीका बाँकी ४ जिल्लामा पनि उडानका लागि पहल गरिने छ ।

अबको केही समयमै कर्णालीका बाँकी ४ जिल्ला पनि हवाई सेवाबाट सुर्खेत जोडिने उनको प्रतिबद्धता छ । कर्णालीका सम्भावनालाई चिनाउन हवाई उडानलाई प्रथामिकता दिने मन्त्री बुढाले जिकिर गरे ।

जुम्लामा उडान भएपछि बाँकी ४ जिल्लाका बासिन्दाले चाडो उडानको व्यवस्था मिलाउन माग गरेका छन् ।

कर्णाली प्रदेश संवाददाता सागर परियार

...
मंगलबार ३ असोज २०७५

 

प्रतिक्रिया

Related