२१ वटा राष्ट्रिय गौरवका आयोजनाको अवस्था नाजुक !

पाँच वर्ष वितिसक्दा समेत भएन प्रभावकारी काम, हालसम्म कति भयो काम ?
निर्माण सञ्चार, काठमाडौँ | सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका केही आयोजनाको अवस्था अत्यन्तै नाजुक अवस्थामा छन् ।

जसअन्तर्गतका पश्चिम सेती जलविद्युत् आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, कर्णाली करिडोर, कालीगण्डकी करिडोरको काम असरल्ल छन् ।

राष्ट्रिय योजना आयोगका अनुसार राष्ट्रिय विकास समस्या समाधान समितिको ४३ औँ बैठकमा विभिन्न मन्त्रालयले पेश गरेको आफ्ना निकाय मातहतका आयोजनाको यथास्थितिमा ती आयोजनाको प्रगति न्यून मात्रै नभएर समस्याग्रस्त रहेको पाइएको छ ।

पश्चिम सेती जलविद्युत् आयोजनाको प्रवद्र्धन गर्ने भनिएको चिनियाँ कम्पनी थ्री गर्जेजसँग पटकपटकको वार्ता सफल हुन नसकेपछि विकल्प खोज्नुपर्ने अवस्था देखिएको राष्ट्रिय योजना आयोगले बताएको छ ।

पछिल्लो समय ऊर्जा, अर्थमन्त्रालय, लगानी बोर्ड र चिनियाँ लगानीकर्ताबीच भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि आयोजनाको भविष्य अन्यौलमा परेको हो ।

उक्त आयोजनाको भौतिक र वित्तीय प्रगति शून्यमा रहेको छ ।

हुलाकी राजमार्गको अवस्था बेहाल

विगत ११ वर्षदेखि निर्माण भइरहेको हुलाकी राजमार्गको अवस्था पनि बेहाल छ ।

यस राजमार्गको अहिलेसम्म भौतिक प्रगति २५ प्रतिशत मात्रै भएको छ भने वित्तीय प्रगति ४१ दशमलब ९ प्रतिशत छ ।

जग्गा प्राप्ति, तथा राजमार्ग निर्माण हुने स्थानमा देखिएको प्राविधिक जटिलताका कारण आयोजनाको काम प्रभावकारी हुन नसकेको बताइएको छ ।

मु–आब्जा वितरण गर्नेबाहेक भएन बाँकी काम !

यता बूढीगण्डकी जलविद्युत् आयोजनाले आयोजना प्रभावितलाई मु–आब्जावितरण गर्नेबाहेक अरु कुनै काम गर्न सकेको छैन ।

धादिङ र गोरखाका साविक २७ गाविसका प्रभावितलाई मु–आब्जा वितरण गर्ने भनिएता पनि सात साविक गाविसका प्रभावितलाई मात्रै मुआब्जा वितरण गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालू आवभित्रै मुआब्जा वितरणलगायतका कार्य पूरा गने बताएको छ । तर, सो आयोजनाको भौतिक प्रगति ९ दशमलब ९ प्रतिशत र वित्तीय प्रगति भने १० प्रतिशत मात्रै रहेको छ ।

आयोजना शुरु भएको पाँच वर्ष वितिसक्दा समेत प्रभावकारी प्रगति हुन सकेको छैन ।

२१ वटा परियोजनालाई राष्ट्रिय गौरवका आयोजना

सरकारले सबै साधन स्रोत उपलब्ध गराउने र प्रभावकारीरुपमा तोकिएको समयमा नै आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ २१ वटा परियोजनालाई राष्ट्रिय गौरवका आयोजनाका राखेको थियो ।

जसमा १६ वटा आयोजनाको प्रगति ८० प्रतिशतभन्दा माथि रहेको छ ।

दुईवटा आयोजनाको प्रगति भने ५० प्रतिशत माथि रहेको छ ।

त्यसैगरी, ५० प्रतिशत माथि रहेका आयोजनाको सङ्ख्या दुई रहेका छन् भने प्रगति नखुलेको आयोजनामा एक रहेका छन् । कालीगण्डकी करिडोरको भौतिक प्रगति १० प्रतिशत मात्रै देखिएको छ ।

विगत नौ वर्षदेखि निर्माणमा रहेको उक्त आयोजना पनि जग्गा प्राप्ति, निर्माण व्यवसायीले समयमै काम गर्न नसक्दा समस्यामा परेको छ ।

यस आयोजनाले हालसम्म ८ दशकलब ४ प्रतिशत मात्रै वित्तीय प्रगति गरेको छ ।

कर्णाली करिडोरको भौतिक प्रगति १२ प्रतिशत

कर्णाली अञ्चललाई यातायात सञ्जालमा जोड्ने लक्ष्यका साथ निर्माण भइरहेको कर्णाली करिडोरको अवस्था पनि उस्तै नाजुक रहेको छ ।

आयोजनाको काम भइरहेको जस्तो देखिए पनि राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको पछिल्लो प्रतिवेदनमा सो करिडोरको भौतिक प्रगति १२ प्रतिशत र वित्तीय प्रगति ११ प्रतिशत रहेको छ ।

उक्त परियोजना पनि विगत नौ वर्षदेखि सञ्चालनमा छ ।

त्यसैगरी, रेल्बे तथा मेट्रो विकास आयोजनाको प्रगतिसमेत न्यून रहेको छ ।

सो आयोजनाको वित्तीय प्रगति १३ दशमलब ७ प्रतिशत र वित्तीय प्रगति १४ दशमलब ९ प्रतिशत रहेको आयोगका जानकारी दियो ।

विगत आठ वर्षदेखि सञ्चालनमा रहेको आयोजनाले पनि सफलता हासिल गर्न सकेको छैन ।

माथिल्लो तामाकोशी आयोजना कहिले हुन्छ पूरा ?

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका केही आयोजना भने चालू आवमा नै सम्पन्न हुने देखिन्छन् । त्यसमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजना एक हो ।

माथिल्लो तामाकोशीको भौतिक प्रगति ९७ प्रतिशत रहेको छ भने वित्तीय प्रगति ९९ प्रतिशत छ ।

आयोजना सम्पन्न हुने मिति आउँदो पुस मसान्त राखिएको भएता पनि एकाध महिना बढ्न सक्ने आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए ।

चालू आवममै मेलम्ची खानेपानी आयोजना

विगत २७ वर्षदेखि काठमाडौँ उपत्यकावासीको प्रतिक्षा रहेको मेलम्ची खानेपानी आयोजनासमेत चालू आवमा नै सम्पन्न हुँदैछ ।

मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ९५ प्रतिशत रहेको छ ।

बबई सिँचाइ आयोजनाको कति भयो काम ?

राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमको पनि भौतिक प्रगति ९० प्रतिशत रहेको छ ।

बबई सिँचाइ आयोजनाको भौतिक प्रगति ६० प्रतिशत रहँदा रानीजमराको ३६ प्रतिशत मात्रै प्रगति देखिएको छ ।

यता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भने भौतिक प्रगति  ५० प्रतिशत रहेको छ ।

सो विमानस्थल आगामी नौ महिनाभित्र सञ्चालनमा ल्याउने सरकारको तयारी रहेको छ ।

त्यस्तै पोखरा विमानस्थलको प्रगति १५ प्रतिशत रहेको छ ।

 केहीको प्रगति केहीको निराशाजनक

केही आयोजनाको प्रगति सकारात्मक रहेपनि केहीको प्रगति भने निराशाजनक रहेको छ ।

पूरा हुन लागेका आयोजनालाई समयमै सम्पन्न गर्न र प्रगति निराशाजनक रहेका आयोजनामा देखिएका समस्या समाधान गरेर तत्काल परिणाम निकाल्न सरकार गम्भीरतापूर्वक लाग्नुपर्ने आवश्यकता देखिन्छ ।

...

मंगलबार २ असोज २०७५ 

प्रतिक्रिया

Related