सिक्टा प्रकरणः दोषी देखिए कन्ट्र्याक्टर, परामर्शदाता र आयोजना प्रमुख जो सुकै पनि कारबाहीमा पर्न सक्ने

अख्तियार पनि ओर्लियो, दोषीलाई कस्तो होला त कारबाही ?
निर्माण सञ्चार, काठमाडौं । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको परीक्षण क्रममा भत्केपछि गठित समितिको सिफारिसका आधारमा सरकारले जोसुकैलाई पनि कारबाही गर्ने ठोकुवा गरेको छ ।

सिँचाइ परियोजनामा कुनै न कुनै पक्षको बदमासी रहेको जिकिर गर्दै दोषीलाई कारबाही गर्ने तयारी सम्बन्धित मन्त्रालयले गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनामा दोषी देखिए जोकोहीलाई पनि नछाड्ने बताएका छन् ।

केही महिना अघि मात्रै निर्माणाधीन परियोजनाको नहर परीक्षण क्रममा भत्किएको थियो ।

उक्त नहर परीक्षणकै क्रममा भत्केपछि त्यसबारे सत्य तथ्य सार्वजनिक गर्न सरकारले मन्त्रालयले सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा छानबिन समिति समेत गठन गरेको थियो ।

गठन लगत्तै छानबिन समितिले स्थलगत अध्ययन गरी आयोजनामा भएको बदमासी र खराबीबारे अध्ययन गरेको थियो ।

समितिको प्रतिवेदनका आधारमा दोषी देखिएका जो कोहीलाई पनि कारबाही गर्ने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको हो ।

गौरवका आयोजना भित्र राख्दै सरकारले बाँकेको ४२ हजार हेक्टर कृषियोग्य जमिनका लागि दीर्घकालीन रुपले सिँचाइ गर्न सो आयोजना अघि बढाएको हो ।

निर्माणकै क्रममा आयोजनाको पश्चिम मूल नहरको अधिकांश काम सम्पन्न भएपछि नहर परीक्षण गरिएको थियो । निर्माण कम्पनी स्वयम्ले नै गरेको उक्त परीक्षण क्रममा नहर भत्केपछि राष्ट्रिय मुद्दा बनेको छ ।

यसको निर्माणको जिम्मा पूर्व मन्त्री समेत रहेका विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले पाएको थियो । आयोजनाको भौतिक निर्माण कार्य मात्र ५५ प्रतिशत सम्पन्न भएको छ ।

कारबाही कसलाई ? कारबाही के ?

यतिबेला सिक्टा शाखा नहरको निर्माण सम्पन्न हुने क्रममा रहेको बताइएको छ भने डुडुवा शाखा नहरको निर्माण र पुनः स्थापना सँगै पूर्वी मूल नहरको पनि निर्माण भइरहेको छ ।

नहरसँग जोडिने अन्य शाखा निर्माण कार्य पनि जारी रहेको अवस्था छ ।

राप्ती नदीमा बाँध निर्माण कार्य सम्पन्न भए पछि मूल नहरको ३५ किलोमिटर खण्डमा परीक्षणको क्रममा पानी सञ्चालन गर्दा नहरका विभिन्न स्थानमा क्षति पुगेको थियो ।

निर्माण मिडियाले सोधेको प्रश्नमा सिँचाइ मन्त्री पुनले निर्माण क्रममा देखिएको त्रुटीको भागिदार जो हुन्छ उसलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताएका हुन् ।

उनले डिजाइनमा भएपनि, निर्माण कार्यमा भए वा निर्माण सामग्रीकै दोष भएपनि अथाव प्राविधिकरुपमा कुनै कमजोरी देखिन गएपनि उपयुक्त छानबिन गरिने बताएका हुन् ।

दोषी को ?

गत साउन १८ गते आयोजना हस्तान्तरण हुनु पर्ने सम्झौता अनुसार उक्त दायित्व पूरा नभइसकेको अवस्थामा देखिएका समस्याबारे ठेक्का सम्झौताकर्ता नै जिम्मेवार हुने करारमा स्पष्ट उल्लेख छ ।

सो अनुसार यस बापत्को दोषभागिदार निर्माण कम्पनी नै पर्ने छ ।

छानबिन समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका दुई वरिष्ठ प्राविधिक कर्मचारी र सिँचाइ विभागका दुई अधिकारी रहेका छन् ।

भत्क्यो कसरी ?

आयोजना परीक्षण क्रममा गत साउन ७ गते नहर भत्किएको थियो । नहरको पूरा भएको खण्डमा परीक्षण गर्न पानी छोड्दा नहर भत्किएको थियो ।

यसअघि पनि २०७३ असार १४ गते परीक्षणका क्रममा सोही खण्ड भत्केको थियो ।

समस्या के ?

निजी क्षेत्रबाट भएको स्थलगत अध्ययनले भने आयोजनाको नहर निर्माण स्थलको जमिनको सतहमा पुरुवा माटोले भरेकाले भत्कन गएको पनि बताइएको छ ।

भत्केको उक्त खण्ड चाहिने गुणस्तर भन्दा फरक क्वालिटीको माटो भरिएको पाइएको अध्ययनकर्ताहरु बताउँछन् । अध्ययनकर्ताका अनुसार भरुवा ठाउँमा पानीको लोड लिन नसक्ने अवस्थामा नहर परीक्षण अवधिमै भत्कन पुगेको देखिन्छ ।

निजी क्षेत्रका अध्येताका अनुसार भत्केको स्थलमा प्राविधिक भन्दा पनि कमजोर माटो रहेको देखिन्छ ।

कमजोर माटो वा जमिनको बनोट रहेको ठाउँमा डिजाइन गर्दा पनि त्रुटी रहेको हुन सक्ने अनुमान छ । उक्त समस्याबारे प्राविधिकले समयमै जानकारी किन दिएनन् भन्ने प्रश्न यतिबेला उठाइएको छ ।

काम कति भयो, लागत कति ?

राप्ती नदीमा बाँध निर्माण गरी बाँकेमा ४२ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले सिक्टा सिँचाइ आयोजना निर्माण भइरहेको हो ।

अहिलेसम्म मुख्य नहरको ३५ किलोमिटर काम मात्र सम्पन्न भएको छ । कुल लागत २५ अर्ब रुपियाँ रहेको यो आयोजना आर्थिक वर्ष २०७७-७८ मा सम्पन्न गर्ने लक्ष्य सहित अघि बढाइएको थियो ।

काम लिएको कन्ट्र्याक्टरका कारण सम्झौता अवधिभित्र काम नसकिएको मन्त्रालय स्रोतको दाबी छ ।

अख्तियार पनि ओर्लियो

उक्त आयोजनामा समस्या देखिएपछि समस्याबारे अध्ययन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन अघि बढाइरहेको छ ।

 

...

सोमबार, ८ असोज, ०७५

 

प्रतिक्रिया

Related