एफक्यान इलेक्सनः अझै लागेन टुंगो लोकतान्त्रिक पक्षको अध्यक्ष उम्मेदवार

‘व्यवसायीहरु अमूक दल र अमूक शक्तिकेन्द्रका आडमा पद हत्याउने सिलसिलामा’
निर्माण सञ्चार, काठमाडौँ | नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को नयाँ नेतृत्व छनोटको ११ औं अधिवेशन तथा २० औं साधारणसभाको उद्घाटन भएको छ ।

आज (बिहीबार) बाट शुरु भएको महासंघको अधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रज्ञाप्रतिष्ठान कमलादीमा बिहानै उद्घाटन गरिएको हो ।

यससँगै अधिवेशन मार्फत् आउने तीन वर्षका लागि महासंघले ६ गते (शनिबार) भने नयाँ नेतृत्व चयन गर्दै छ ।

जसमा एक अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष, ७ प्रदेश उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरु गरी ५४ पदका लागि प्रतिस्पर्धा हुने छ ।

तर, आफ्नो नेतृत्व छनोटलाई भविष्यको स्वर्णद्वार बनाउनु पर्छ भन्ने पाठ खासै नसिकेजस्ता देखिने निर्माण व्यवसायीहरु भने अमूक दल र अमूक शक्तिकेन्द्रका आडमा यतिबेला पद हत्याउने सिलसिलामा देखिएका छन् ।

विगत चार दिनदेखि अध्यक्ष उम्मेदवारमा कसरत गरिरहेका कांग्रेसनिकट लोकतान्त्रिक व्यवसायी संघका निर्माण व्यवसायीहरुले अझैसम्म अध्यक्षमा कुनै उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।

निर्माण व्यवसायी रवि सिंह भने आफू आधिकारिक अध्यक्ष उम्मेदवार रहेको बताउँदै आएका छन् ।

सिंहले कांग्रेसनिकट लोकतान्त्रिक व्यवसायी संघकै जिम्मेवारी सम्माल्दै आएका व्यवसायी हुमनाथ कोइरालाई भने आफ्नो महासचिव रहेको दाबी गरेका छन् ।

यता कोइराला भने आफू महासचिव नभएर अध्यक्ष उम्मेदवार रहेको बताइरहेको खुल्ला मैदानमै सुनिन थालेको छ ।

कांग्रेसनिकट वर्तमान महासचिव रामशरण देउजा पनि आउँदो चुनावमा अध्यक्ष उम्मेदवार आफू रहेको बताउँदै आएका छन् ।

बुधबार रातिसम्म गरिएको छलफलमा यसअघि पनि महासंघमा अध्यक्ष पद सम्हालिसकेका सकुन्तलाल हिराचनलाई नै अध्यक्ष उम्मेदवारका लागि उठाउने भनिएता पनि आधिकारिक रुपमा भने टुंगो लाग्न सकेन ।

बामपन्थि निकट व्यवसायीमा अध्यक्ष पदका लागि यक्षध्वज कार्की (वाइडी)लाई साझा उम्मेदवारका रुपमा घोषणा गरेको अवस्थामा कांग्रेसनिकट व्यवसायी भने आ–आफू नै अध्यक्ष उम्मेदवार रहेको होडबाजी गरिरहेका छन् ।

...

बिहीबार ४ असोज २०७५ 

प्रतिक्रिया

Related