जुम्लामा वन्यजन्तु अपराध बढ्दोः नियन्त्रण अभियान सुरु

वनजंगल नासिदै गएपछि वन्यजन्तु हराउँदै
निर्माण सञ्चार, जुम्ला | जनसंख्या वृद्धिसँगै वनजंगलको फडानी तथा वन्यजन्तुको शिकार बढ्न थालेपछि जुम्लामा वन्यजन्तु अपराध नियन्त्रण अभियान थालिएको छ ।

पहिले घर आंगनमै देखिने रेडपाण्डा, डाँफे, चाखुरा लगायत वन्यजन्तु, पशुपन्छी लोपउन्मुख अवस्थामा पुगेपछि स्थानीय बचाउने अभियानमा जुटेका हुन् ।

विभिन्न कार्यक्रमका माध्यमबाट वन्यजन्तुको अपराध नियन्त्रण अभियान थालिने भएको छ ।

महारुद्र सामुदायिक वन पटमाराका अध्यक्ष टेकबहादुर बुढाले भने‘ जुम्लामा पछिल्लो समय वन्यजन्तुको अपराध बढ्दै गएपछि स्थानीय जागरुक बनेका छन् ।’

यसमा रेडपाण्डा नेटवर्क र कर्णाली विकास हातेमालो सेवा समाज संस्थाले नागरिकलाई सघाउँदै आएको उनको भनाई छ ।

वन्यजन्तु अपराध नियन्त्रणका विषयमा हातेमालो सेवा समाजले गाउँगाउँमा सिकाउँदै गएको छ । जुम्लामा रहेका १ सय ५० बढी सामुदायिक वन मार्फत वन्यजन्तुको अपराध रोक्न लगाईने भएको छ ।

पातारासी तथा सिंजा क्षेत्रका स्थानीयले योजना बनाएर वन्यजन्तु अपराध नियन्त्रण अभियान शुरु गरिसकेका छन् ।

वन्यजन्तु जोगिनु नै वनजंगल जोगिनु हो र यसले आम नागरिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा फाईदा हुने भएकाले पनि स्थानीय पछिल्लो समयमा वनजंगल संरक्षण गर्नुका साथै वन्यजन्तु अपराध नियन्त्रणमा अभियानमा लागी परेको अध्यक्ष बुढाले बताए ।

‘पहिला हाम्रा आँखाले घर आगनमै वन्यजन्तुहरु देखेका हौँ तर हामीले हेर्दा हेर्दै तिनै वन्यजन्तुहरु हराए, अहिले कतै पनि देख्न पाईदैन’ उनले भने ।

रेडपाण्डा नेटवर्क र कर्णाली विकास हातेमालो सेवा समाज जुम्लाद्धारा आयोजित दुई दिने वन्यजन्तु अपराध नियन्त्रण अभिमुखीकरण कार्यक्रमका सहभागी सिजा गाउँपालिका सियालामुल सामुदायिक वन समितिका अध्यक्ष अमृता आचार्यले वनजंगल नासिदै गएपछि वन्यजन्तु हराउँदै गएको बताईन् ।

उनले भनिन्, ‘यसका दोषी हामी नागरिक नै हौँ, अब पनि चुप लागेर बसे, पहिचानै हराउने खतरा आउन सक्छ, त्यसैले अभियानकै रुपमा अगाडि बढ्नुपर्छ ।’

समयमा सचेत नभएका कारण वन्यजन्तु हराउँदै गए, उनले थपिन्, ‘अहिले देखि हामी सचेत भएनौँ र वनजंगल जोगाउन नसकेको खण्डमा भोलि आउने सन्ततीहरुले नै संकटमा पर्नेछन् ।’

‘चारकोषे झाडी अहिले मानवीय कारणले गर्दा नै हराउँदै गयो, जनसंख्या वन फडानी बढ्यो, वन्यजन्तु चोरी शिकारी बढ्यो’, ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव सुष्मा रानाले भनिन्, ‘यसमा हामी समचे नभए, समस्या निम्तीने खतरा हुन्छ ।’

वन्यजन्तु र वनजंगल संरक्षणका लागि राज्यले निकुञ्जदेखि आरक्षण स्थापना गरेको र अहिले ३४ हजार वर्गकिलो मिटर वनजंगल क्षेत्र रहेको छ ।

वन्यजन्तु अपराध नियन्त्रणमा स्थानीयलाई उत्प्रेरित गर्दै आमनागरिकहरु नै जाग्नुपर्ने बेला आएको भन्दै सबैलाई साथ दिन, घटना जंगल बनाई वन्यजन्तुको बासस्थल सुरक्षित गर्न उपसचिव रानाले आग्रह गरिन् ।

यस अभियानमा सक्रिय भएर काम गर्ने स्थानीय तथा सामुदायिक वनलाई पुरुस्कृत समेत गरिने बताइएको छ ।

कर्णाली प्रदेश संवाददाता सागर परियार

...

शुक्रबार, ५ असोज २०७५

 

प्रतिक्रिया

Related