पेट्रोलियम पदार्थको विक्री वितरणमा पनि कोटा !

एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारीलाई उच्च प्राथमिकता
निर्माण सञ्चार, काठमाडौँ | सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा पनि कोटा तोकेको छ ।

केही दिनदेखि ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको हो ।

नेपाल आयल निगमले नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई पत्राचार गर्दै तोकिएको कोटाअनुसार विक्री वितरण गर्न अनुरोध गरेको छ ।

मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर मात्रै पेट्रोल दिन भनिएको निगमले बतायो ।

निगमका अनुसार बाँकी हल्का सवारी साधन कार, भ्यान, आदीलाई भने बढीमा १५ लिटर पेट्रोल, डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म डिजेल उपलब्ध गराउन भनिएको छ ।

यसैगरी, एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकताका साथ पेट्रोलियम पदार्थको विक्रि वितरण गर्न निर्देशन दिइएको छ ।

पेट्रोलियम पदार्थको आयात प्रभावित

मुलुकी संहिताको कतिपय प्रावधानले अन्यायमा परेको भन्दै ट्याकंर चालकहरुले आन्दोलन गरेपछि भारत हुँदै आउने पेट्रोलियम पदार्थको आयात हाल प्रभावित भएको छ ।

अहिले काठमाडौंसहित देशका विभिन्न क्षेत्रका पम्पहरुमा उपभोक्ताको लामो लाइन देखिन थालेको छ ।

इन्धनको हाहाकार मच्चिने त्रासमा धेरैले स्टक गर्न खोजेपछि निगमले वितरण प्रणालीमा नियन्त्रण गरेको हो ।

२ असोजदेखि भित्रिएको छैन इन्धन !

गत मंगलबार (असोज २)देखि पेट्रोलियम पदार्थको ढुवानीको मुख्य नाका रक्सौल डिपोबाट एक थोपा पनि इन्धन भित्रिएको छैन । यो प्रभाव सबैभन्दा बढी काठमाडौंमा देखिने गरेको छ ।

निगमसँग पर्याप्त इन्धन स्टक गर्ने क्षमता नहुँदा दुई दिन ढुवानी रोकिनासाथ बजारमा अभाव सृजना हुने गरेको छ ।

निगमका निर्देशक एवं प्रवक्ता बिरेन्द्र गोइतले उक्त कोटा प्रणाली अर्को सूचना जारी नभएसम्मका लागि भएको बताए । पेट्रोल डिजेलमा हाल नै हाहाकार मच्चिहाल्ने अवस्था नरहेको प्रवक्त गोइतेले जानकारी दिए ।

...

शुक्रबार, ५ असोज २०७५

प्रतिक्रिया

Related