निर्माण व्यवसायीका अध्यक्ष बने रवि सिंह, महासचिवमा दाहालले मारे बाजी

वरिष्ठ उपाध्यक्षमा निकोलस पाण्डे सहित बहुमत सिटमा सिंह प्यानल नै विजयी (सूचिसहित)
निर्माण सञ्चार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको चुनावबाट संस्थापनमा पकड रहेको पूर्व अध्यक्षहरु समर्थित पक्षले नै जित हासिल गरेको छ ।

नेपाली काँग्रेस निकट प्यानलको नेतृत्व गरेका रवि सिंह अध्यक्षमा विजयी बनेका छन् । उनकै प्यानलबाट वरिष्ठ उपाध्यक्ष सहित झन्डै ७५ प्रतिशत सिटमा संस्थापन पक्ष विजयी बनेको हो ।

आफ्नो भोट काट्ने गरी थप दुई उम्मेदवार ‘बागी’ बनेपनि सिंहले शानदार जित हासिल गर्न सफल रहे । उनका निकटतम प्रतिद्वन्द्वी वामपन्थी दलका तर्फबाट एकल उम्मेदवार यक्षध्वज कार्कीले ३५३ मत ल्याउँदा सिंहले ११३ मत बढी पाएर जित हासिल गरेका हुन् ।

सिंहले ४६६ मत पाएका छन् ।

काँग्रेसले टिकट नदिएपछि बागी उम्मेदवारका रुपमा तत्कालीन महासचिव रामशरण देउजाले अध्यक्ष र महासचिव लगायत पदाधिकारीमा उम्मेदवारी दिएका थिए ।

अध्यक्षमा देउजाले ६६ मत मात्रै पाएका छन् भने काँग्रेस निकट नै मानिने पुरुषोत्तम मानन्धरले लाजमर्दाे भोट (७ मात्रै) पाएका छन् ।

मतपरिणाम गएराति १ बजे घोषणा गरिएको थियो ।

मुख्य निर्वाचन अधिकृत अधिवक्ता बाबुराम दाहालले दिएको जानकारी अनुसार ९३७ कुल मतदाता मध्ये ९०८ मत खसेको थियो ।

निर्वाचनका सबै कार्यहरु शान्तिपूर्ण रुपले सम्पन्न भएको एफक्यान कानुनी सल्लाहकार समेत रहेका दाहालले बताए ।

सिंह ‘क’ वर्गका निर्माण व्यवसायी हुन् । उनी यस अघिको निर्वाचनमा तत्कालीन अध्यक्ष शरद गौचनसँग पराजित बनेका थिए ।

‘ए’ क्लासका प्रभुत्वशाली निर्माण व्यवसायीसँग ‘बी’, ‘सी’ र ‘डी’ क्लासका कमजोरहरु बीचको लडाइँ जस्तो देखिएको महासंघको यो चुनावी पराजयलाई सत्तारुढ निकट प्यानलले सोचेभन्दा फरक परिणाम पाएको महसुस गरेको छ ।

महासचिवमा भने सत्तारुढ दल निकट वाइडी कार्की प्यानलका रोशन दाहाल ३४९ मत पाएर विजयी बनेका छन् । दाहालले काँग्रेस निकट निर्माण व्यवसायी संघका अध्यक्ष समेत रहेका हुमनाथ कोइरालालाई ३३ बढी मतले पराजित गरेका हुन् ।

कोइरालाले ३१६ मत पाएका थिए । महासचिवका लागि त्रिपक्षीय भिडन्त परेको थियो । जसमा देउजा प्यानलबाट दीपक गौतमले २२९ मत पाउन सफल रहे ।

जुन दलको सत्ता छ प्रायः त्यतैतिर ढल्किने स्वभाव रहेको आरोप खेपेका निर्माण व्यवसायीहरुले यसपटक सत्ता विपरीत प्यानललाई जिताएर आफ्नो व्यावसायिक हैसियत पुष्टि गरेका छन् ।

सत्तारुढ वाम निकट प्यानललाई पराजित गरेर नेपाली काँग्रेसले निर्माण व्यवसायीहरु भित्र आफ्नो पकड रहेको सन्देश दिन पनि सफल भएको छ ।

महासंघको जिन्दगीमै भने यो चुनाव पेसागत भन्दा पनि बढी राजनीतिक भ्रातृ संगठनहरुको भिडन्त जस्तो बन्न पुग्यो । यसले गर्दा आगामी दिनमा व्यवसायीहरुले आफ्नो पेसागत मर्यादालाई जोगाइरहन मुस्किल हुने देखिन्छ ।

वरिष्ठ सहित उपाध्यक्षहरुमा को को विजयी ?

वरिष्ठ उपाध्यक्षमा पूर्व मन्त्री विक्रम पाण्डे पुत्र निकोलश पाण्डेले बाजी मारेका छन् । पाण्डेले ४६५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी वाइडी प्यानलका लक्ष्मण रानाले ४२८ मत पाएका छन् ।

त्यस्तै, प्रदेश उपाध्यक्षहरुमा वाइडी प्यानलले हार व्यहोरेको छ ।

७ प्रदेश मध्ये ५ नम्बर प्रदेशबाट मात्र वाइडी प्यानलका एकजना विजयी बन्न सफल बने । जसमा प्रदेश नम्बर–१ बाट धिरेन्द्र दाहाल, २ बाट सुरेन्द्रप्रसाद सिंह, ३ बाट पेम्बा लामा शेर्पा, ४ बाट राजेन्द्र पहाडी, ५ बाट टोपबहादुर रायमाझी, ६ बाट रत्न बहादुर खड्का र ७ बाट टेकबहादुर सेटी विजयी बनेका हुन् ।

यता एसोसिएट उपाध्यक्षमा पनि वाइडी कार्कीले पराजय हाता पारे । वाइडी पक्षका उम्मेदवारलाई पराजित गर्दै सिंह तर्फका आङदोर्जी लामा विजयी बनेका हुन् ।

नीतिगत उपमहासचिवमा भने वाइडी प्यानलका टंकप्रसाद चौलागाई विजयी बनेका छन् भने आन्तरिकतर्फ उपमहासचिवमा नरहरी थपलिया विजयी बन्न सफल भए ।

त्यस्तै, कोषाध्यक्षमा सिंह प्यानलबाटै हिरण्यकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा एउटै मात्र महिला उम्मेदवार सरस्वती कार्की विजयी बनेकी छन् ।

विजयी उम्मेदवारहरुलाई आइतबार अपराह्न ४ बजे पद तथा गोपनीयताको सपथ खुवाउने कार्यक्रम रहेको छ ।

एफक्यान सञ्चार डेस्क प्रमुख रामचन्द्र गिरीले दिएको जानकारी अनुसार नयाँ बानेश्वर ब्यांकेट थापा गाउँमा साँझ ४ बजे सपथ समारोह आयोजना गरिएको हो ।

पढौं यो पनि 
 
 

 

विजयीहरुको पूर्ण विवरण

 

 

 

 

 

 

 

 

 

 

 

 

...

आइतबार, ७ असोज, ०७५

 

प्रतिक्रिया

Related