राष्ट्रिय गौरवका आयोजनाबारे भट्टराईको प्रश्नः ‘के गर्दै छन् मन्त्रीहरु ?’

राष्ट्रिय सभाका लागि नेकपाका मुख्य सचेतक भट्टराई भन्छन्, ‘के हाम्रो सरकारले न्याय दिदैन सुकुम्बासीलाई ?’
निर्माण सञ्चार, काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको प्रगति चितबुझ्दो नभएको भन्दै आलोचना बढिरहेकै बेला राष्ट्रिय सभाका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मुख्य सचेतक खिमलाल भट्टराईले गौरवका आयोजना समयमै सम्पन्न गर्नेबारे आवाज उठाएका छन् ।

राष्ट्रिय सभाको आइतबारको वैठकमा बोल्दै मुख्य सचेतक भट्टराईले गौरवका आयोजनाबारे सम्बन्धित तालुक मन्त्रीले जनता समक्ष चितबुझ्दो जवाफ दिन माग गरेका हुन् ।

नेता भट्टराईले भने, ‘मेलम्ची खानेपानीले ३० वर्ष जति लामो कथा बोकिसक्यो । कथैकथा सुनाएर अझै पनि कति दिनमा मेलम्चीले काठमाडौंबासीलाई पानी खुवाउने हो ? मेलम्ची अहिलेको दशैंमै आउँछ, पोहोर सालकै दशैंमै आउँछ भनेर हल्ला पिटियो तर, काम कहिले हुने हो ?’

गौरवका आयोजनाहरुको प्रगति जनताको आँखामा छारो हाल्ने कुरा हुन नसक्ने बताउँदै नेता भट्टराईले मेलम्ची आउने नाउँमा भ्रम छर्ने काम बन्द गर्न समेत आग्रह गरेका छन् ।

यतिबेला राष्ट्रिय गौरवका २१ आयोजनाहरु चितबुझ्दो गतिमा काम नभइरहेको विकासविद्हरुले पनि आलोचना गरिरहेका छन् ।

लुम्बिनी गुरु योजनादेखि विभिन्न सिँचाइ परियोजनाहरु पनि अलपत्र अवस्थामा रहेका छन् । कतिपय आयोजनालाई बजेट विनियोजन भइसक्ता पनि काम सुरु नभएको अवस्था छ भने कतिको काम जुन गतिमा पूरा भइसक्नु पर्ने थियो भएको छैन ।

लुम्बिनीका नेता समेत रहेका भट्टराईले लुम्बिनी गुरु योजनाबारे रहेको लामो मौनता पनि तोडेका छन् । सभाबाट बाहिरिदै गर्दा निर्माण सञ्चारसँग बोल्दै नेता भट्टराईले भने, ‘दशकौंदेखि दन्त्य कथा मात्र बनाउन लुम्बिनी गुरु योजना ल्याइएको हो ? हैन भने काम कहिलेदेखि सुरु हुन्छ, जवाफ चाहियो ?’

उनले सम्बन्धित मन्त्रालयले यसको तुरुन्त जवाफ दिनु पर्ने बताए ।

त्यस्तै, नेता भट्टराईले सुकुम्बासी समस्याबारे पनि कुरा उठाए । लामो समयदेखि विशेष गरी कम्युनिस्ट पार्टीहरुले सुकुम्बासी समस्या समाधान गर्ने कुरा उठाउँदै आएका छन् ।

गौरवका आयोजनाहरुको प्रगति जनताको आँखामा छारो हाल्ने कुरा हुन नसक्ने बताउँदै नेता भट्टराईले मेलम्ची आउने नाउँमा भ्रम छर्ने काम बन्द गर्न समेत आग्रह गरेका छन् 

तर आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा पनि काम नभएपछि स्थानीय तहमा बढ्दो सुकुम्बासी आक्रोसबारे उनले सरकारको ध्यानाकर्षण गराएको बताए ।

सुकुम्बासी समस्या विभिन्न राजनीतिक तरलताले लाभ उठाउने तर काम नगर्ने हुँदै आएको छ । हजारौं बासिन्दाहरु अझै पनि भूमिमाथिको अधिकार नपाएर ‘स्टेटलेस’ सरह छन् ।

वर्षौंदेखि जमिनको उपभोग गर्दै आए पनि उनीहरुको आफ्नो जमिन र बासोबासको आधार नहुँदा लुम्बिनीदेखि काठमाडौं राजधानीसम्म कयौं सुकुम्बासीहरु अधिकारविहीन अवस्थामा छन् ।

कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालदेखि पुष्पकमल दाहालसम्मले सुकुम्बासी र गरिबको स्वर्ग बनाइदिने बताउन नछाडेको तितो यथार्थले यतिबेला नेकपाका नेता कार्यकर्ताहरु गाउँ टोलमा समेत छिर्न लजाउन थालेको अवस्था छ ।

राष्ट्रिय सभामा नेता भट्टराईले प्रश्न गरे, ‘के हामी सुकुम्बासीको समस्या समाधान गर्दैनौं ? सुकुम्बासी समस्या समाधान गर्न सरकार किन जिम्मेवार रुपमा प्रस्तुत भइरहेको छैन ?’

आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा पनि काम नभएपछि स्थानीय तहमा बढ्दो सुकुम्बासी आक्रोसबारे उनले सरकारको ध्यानाकर्षण गराएको बताए

मुलुुकको समृद्धिका लागि पूर्वाधार विकास र उत्पादनमा जोड दिदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीका मन्त्रीहरुले बजेट तथा नीति र कार्यक्रमले बोकेको स्प्रिटका आधारमा काम गर्न नसकेको उनको भनाइ छ ।

नेता भट्टराई पछिल्ला दिनमा पूर्वाधार विकास, स्तरोन्नति तथा गौरवका आयोजना समयमै सम्पन्न गर्ने पक्षमा आवाज बुलन्द गर्दै आइरहेका छन् ।

उनका अनुसार चालू आर्थिक वर्षको बजेट कार्यक्रम मात्रै सही रुपमा लागू हुन सकेमा आउने केही वर्षमै मुलुकले समाजवादी विकासको बाटो समात्ने दाबी गरिरहेका छन् ।

केही दिन अघि मात्र नेता भट्टराईले बजेट र गौरवका आयोजनालाई लिएर समाजवादी विकासको आधारबारे वकालत गरेका थिए ।

विगतमा जस्तो विना पैसा योजना बनाउने र पुँजी विनियोज गर्ने काम अहिलेको बजेटले नगरेको भन्दै उनले ओली सरकारले पूर्व–पश्चिम रेल मार्ग, पूर्व–पश्चिम राजमार्गको स्तरीकरण, सिगात्से काठमाडौं रेलमार्ग, दक्षिण रेल मार्ग जस्ता पूर्वाधारको विकासलाई ‘कि प्रोजेक्ट’ का रुपमा व्याख्या गरेका थिए ।

उनका अनुसार यस्ता परियोजनाहरु चीनको समृद्धि र विश्व शक्ति बन्ने सपनाका लागि जसरी वान बेल्ट वान रोड ‘कि प्रोजेक्ट’ हो त्यसरी नै नेपाल जस्तो सानो मुलुक समृद्ध बन्नका लागि यी पूर्वाधारहरुको विकास पनि महत्त्वपूर्ण हुन् ।

उनले यस अघि पनि मध्यपहाडी, पुष्पलाल राजमार्ग, विभिन्न हुलाकी मार्ग निर्माणमा सरकारले उचित ध्यान दिन नसकेको बताएका थिए ।

यस्ता परियोजनाहरु चीनको समृद्धि र विश्व शक्ति बन्ने सपनाका लागि जसरी वान बेल्ट वान रोड ‘कि प्रोजेक्ट’ हो त्यसरी नै नेपाल जस्तो सानो मुलुक समृद्ध बन्नका लागि यी पूर्वाधारहरुको विकास पनि महत्त्वपूर्ण हुन् 

विभिन्न ३ प्रकारका मुद्दाहरु उठाउँदै आजको राष्ट्रिय सभामा नेता भट्टराईले बोलेका थिए । जसमा दशैं, तिहार, छठ, ल्होसार जस्ता पर्वहरुमा जनताले महँगी खेप्न नपरोस् भन्दै सरकारको सुशासन व्यवहारमा प्रत्याभूति हुन माग गरेका छन् ।

 

 

 

...

आइतबार, ७ असोज, ०७५

 

प्रतिक्रिया

Related