‘पप्पु’ले बनाएको जब्दीघाट पुलः हस्तान्तरण नै नगरी भासिए पनि अझै भएन मर्मत !

आवतजावतमा सास्ती खेप्न बाध्य बासिन्दा
निर्माण सञ्चार, बर्दिया | पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको बबई नदीस्थित जब्दीघाट पुल भासिएको बर्षदिन भन्दा बढी भएको छ ।

तर, पप्पुले हालसम्म यो पुलको मर्मत नगर्दा गुलरिया र बारबर्दिया नगरपालिकाका करिब १ लाख भन्दा बढी बासिन्दाले सास्ती खेपिरहेका छन् ।

पुल मर्मत नहुँदा ती स्थानीयहरु एक वर्षदेखि ५० किलोमिटर लामो घुमाउरो बाटो हुँदै आउजाउ गर्न बाध्य छन् ।

कहिले भासियो ?

गुलरिया–रम्मापुर जोड्ने बबई नदीस्थित जब्दीघाटमा निर्मित पुल गत वर्षको साउन २८ मा हस्तान्तरण नहुँदै भासिएको थियो ।

हास्तान्तरण नै नगरि भासिएको यो पुल हालसम्म कुनै मर्मत नहुनु कन्स्ट्रक्स्नको चरम लापरवाही भएको भन्दै स्थानीय आक्रोसित बनेका छन् ।

हाल गुलरियाबाट लक्ष्मणा, औरी हुँदै बारबर्दिया आवातजावत गर्दा यातायात खर्चका साथै समय पनि बढी लाग्ने गरेको स्थानीयको गुनासो छ ।

जतिसक्दो चाडो पुल मर्मत हुनुपर्ने उनीहरुको माग रहेको छ ।

गुलरियाबाट जयनगरस्थित नगरपालिकाको कार्यालय नै करिब १० किलोमिटरको दूरीमा छ ।

स्थानीयले लामो समयदेखि सास्ती खेप्न बाध्य हुँदाहुँदै सरकारले यस विषयमा कुनै चासो नदेखाउँदा यसले पूर्णता पाउन नसकेको बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारूले दाबी गरे ।

उनले भने ‘सरकारले कारबाही प्रक्रिया अगाडि नबढाएकाले नै यस क्षेत्रका करिब १ लाख बासिन्दा कठिन यात्रा गर्न बाध्य छन् ।’

भासिएको वर्षौसम्म मर्मत नगर्नुमा यो कम्पनीको चरम लापरवाही देखिएको छ, के अब पुल मर्मत नहुने नै हो ? हामीले कहिले सम्म सास्ती खेप्न पर्ने हो ? स्थानीयको प्रश्न रहेको छ ।

पुल भासिएलगत्तै मर्मत गर्नुपने भएता पनि लामो समयसम्म मर्मत नगर्दा आवत/जावतमा कष्टकर भएको मेयर थारुले बताए । तर, उक्त पुलबाट मोटरसाइकललाई पार गर्न दिइएको छ ।

मोटरसाइकल पार गर्न दिएता पनि सडक डिभिजन कार्यालयले चारपांग्रे सवारीका साधनमा भने प्रतिबन्ध लगाएको छ ।

दोषी ठहर पप्पु कन्स्ट्रक्सन

पुल महाशाखाले पुल भासिएपछि गरेको छानबिनबाट पप्पु कन्स्ट्रक्सनलाई दोषी ठहराइसकेको छ ।

पप्पु कन्स्ट्रक्सनलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउँदै महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले कारबाही प्रक्रिया गर्न महाशाखाले नमिल्ने स्पष्ट पारे ।

उपमहानिर्देशक थापाका अनुसार अख्तियारले पुल भासिएको बारे छानबिनको जिम्मा लिएकाले उसैले कारबाही गर्नुपर्छ ।

यता अख्तियार प्रमुख नवीन घिमिरेले पुलको छानबिन प्रतिवेदन एक साताभित्र टुंगो लगाउने जानकारी दिए । प्रमुख घिमिरेले छानबिनको टुंगो नलागि अरु केही बोल्न नमिल्ने बताए ।

१६ करोड  खर्च गरेर निर्माण

उक्त पुल पप्पुले १६ करोड ६८ लाख रुपियाँ खर्च गरेर निर्माण गरेको थियो ।

सो पुल निर्माणको जिम्मा लिने पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायन रौनियार पर्साबाट संघीय समाजवादी फोरम लोकतान्त्रिक पार्टीबाट प्रतिनिधिसभा सदस्य समेत हुन् ।

पुलमाथि चरम लापरवाही गरिएको बताउँदै गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले पुलको छानबिन चाडो भन्दा चाडो टुंग्याएर दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताए ।

...

मंगलबार, १६ असोज २०७५

प्रतिक्रिया

Related