जुम्लाको एक वडाबाट एक महिनामै २० लाख राजश्व संकलन !

‘सेतो चिनी’ नामको जडिबुटीबाट मात्रै हालसम्मकै बढी राजश्व,
निर्माण सञ्चार, जुम्ला | जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकाको राजश्व संकलनको अवस्था निराशाजनक छ ।

स्थानीय सरकार संचालनमा आएको झन्डै दुई वर्षसक्दा पनि राजश्व संकलन सन्तोषजन छैन ।

गाउँपालिका समृद्धिको एक आधार राजश्व भएता पनि यसमा स्थानीय सरकार गम्भीर नभएकै कारण अपेक्षा अनुसार राजश्व नउठेको हो ।

जुम्लाका आठै स्थानीय तहको वार्षिक समिक्षामा प्रस्तुत प्रतिवेदन हेर्दा कममा ६ देखि बढीमा संकलन ८ लाख मात्रै वार्षिक राजश्व उठाएका छन् । जुन एकदमै कम रकम हो ।

सो ठाउँमा जडिबुटि, वन पैदावार, स्याउ, सिमि, व्यापार व्यवसाय, घर जग्गाबाट उठ्नु पर्ने राजश्व उठाउनै नसकेको अवस्था छ ।

आठै गाउँपालिकाले वर्षभरीमा पनि ८ लाख भन्दा राजश्व संकलन गर्न नसकेको अबस्थामा जुम्लाको तातोपानी गाउँपालिकाको ४ नम्बर वडाले भने एकै महिनामा २० लाख राजश्व संकलन गरेको छ ।

यो रकम हालसम्मकै बढी हो ।

नजिकैको पाटन, घर छेउछाउको जंगलमा पाइने सेतो चिनी (खिरौलो) नामको जडिबुटीबाट मात्रै २० लाख रुपियाँ राजश्व संकलन भएको हो ।

पाटन भएका, पर्यटन क्षेत्र भएका, सम्भावाना भएका वडा तथा गाउँपालिका अरु पनि छन् ।

तर, ४ नम्बर वडाका अध्यक्ष धिरज जैशीको सक्रियता र राजश्व संकलनमा कडाईमा एकै महिनामा वडापालिकाले २० लाख राजश्व उठाउन सफल भएको हो ।

यो वडाले जुम्लामा नमुनाकै रुपमा राजश्व उठाएको छ ।

जुम्लामै नमुनाका रुपमा जडिबुटि बाट एक महिनामा तातोपानी गाउँपालिकाको ४ नम्बर वडाले २० लाख राजश्व संकलन गरेको छ ।

वडाध्यक्ष धिरज जैसीले जडिबुटी संकलक र व्यापारीसँग समन्वय गरेर राजश्व उठाउने काम भएको बताए ।

‘विगतका वर्षमा पनि यसरी विना राजश्व जडिबुटि संकलन हुँदो रहेछ’, उनले भने ‘यसकारण हामी घाटामा परेउ, तर यस वर्ष कडाई गरेपछि वडाले २० लाख एकै महिनामा आम्दानी गरेको छ ।’

सेतो चिनीको प्रति केजीमा १० रुपियाँ राजश्व लिने गरिएको छ ।

नसुकाएको यो जडिबुटीको मूल्य प्रतिकेजी ४० देखि ५० रुपियाँ पर्छ । ठेगेदारहरुले हजारौ क्वईन्टलका आधारमा जडिबुटि संकलन गरिरहेका छन् ।

भदौ दोस्रो साता बाट असोज दोस्रो साता सम्मको मात्रै राजश्व २० लाख उठेको हो ।

आगामी दिनमा संकलनकर्ताको सुरक्षा सहित पाटनलाई व्यवस्थित बनाइने वडापालिकाको योजना रहेको छ ।

४ नम्बर वडाले अपेक्ष भन्दा बढी राजश्व उठाएपछि अन्य गाउँपालिका तथा वडापालिका आफ्ना क्षेत्रमा भएका सम्भवानालाई आर्थिकमा रुपान्तरण गर्न तम्सिएका छन् ।

सुकाएको बेच्दा साढे पाँच सय देखि ६ सयसम्ममा बिक्री भइरहेको यो जडिबुडीको संकलन तथा विक्री वितरण कार्यलाई प्रभावकारी बनाउँदै लगिने भएको छ ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

मंगलबार, १६ असोज २०७५ 

प्रतिक्रिया

Related