नयाँ हाइकिङ स्थलको उद्घाटन गरेर मनायो टानले विश्व पर्यटन दिवस

‘ककनीलाई अन्तर्राष्ट्रिय एक्जिबीसन तथा कन्भेन्सन सेन्टरको रुपमा विकास गरिन्छ’– पर्यटनमन्त्री अधिकारी
निर्माण सञ्चार, काठमाडौँ । टानले नयाँ हाइकिङ गन्तव्य स्थलको उद्घाटन गर्दै विश्व पर्यटन दिवस मनाएको छ ।

३९ औं विश्व पर्यटन दिवसको अवसरमा ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले Tourism and the Digital Transformation भन्ने नाराका साथमा हाइकिङ कार्यक्रमको आयोजना गरेको थियो ।

विभिन्न पर्यटन संघ संस्थाहरुको सहकार्यमा टानले गत मंगलबार ५ सयभन्दा बढीको सहभागीतामा हाइकिङ गरेको थियो ।

प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीद्वारा ककनी मेमोरियल पार्कबाट सुरु भई शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै सूर्याचौर पुग्ने नयाँ पैदल यात्रा पदमार्गको उद्घाटन गरिएको हो ।

सूर्याचौर आयोजित कार्यक्रममा मन्त्री अधिकारीले नयाँ पदमार्ग गन्तव्यले स्थानीय पर्यटनको प्रवर्द्धनमा मद्दत पुग्ने बताए ।

‘यस क्षेत्रको विकासका लागि अति आवश्यक भौतिकपूर्वाधार मध्य सडकको अवस्था महत्वपूर्ण रहेको छ’ उनले भने ‘ सडक निर्माणको लागि सहयोग गर्न सरकार सधैँ तयार छ ।’

ककनीलाई अन्तर्राष्ट्रिय एक्जिबीसन तथा कन्भेन्सन सेन्टरको रुपमा विकास गर्न बजेट समेत विनियोजन भइसकेको मन्त्री अधिकारीले जानकारी दिए । ककनी क्षेत्रमा पर्यटनको विकास गर्न सरकार आतुर रहेको उनको दाबी छ ।

टानका अध्यक्ष नवराज दाहालले सूर्याचौरलाई नयाँ पर्यटन गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस हाइकिङ कार्यक्रम आयोजना गरेको बताए ।

उनले सूर्याचौर काठमाण्डौबाट नजिकै पर्ने एक उत्तम गन्तव्य भएको कारण आन्तरिक र बाह्य पर्यटकहरूले सुन्दर प्रकृतिको आनन्द लिनसक्ने धारणा राखे ।

साथै पर्यटन व्यवसायीहरूलाई सूर्याचौर हाइकिङ पर्यटकहरुको भ्रमण प्याकेजमा समेत समावेश गर्न अनुरोध गर्दै यसले नेपालको पर्यटन विकासमा धैरै मद्दत पर्याउने दाबी गरे ।

त्यसैगरी, टानका महासचिव आङ पेम्बा शेर्पाले काठमाण्डौको धुलो धुवाँबाट टाढा आएर रमाउने आन्तरिक र बाह्य पर्यटकहरू सूर्याचौरको रमणीय प्रकृतिबाट आकर्षित हुने बताए ।

उक्त हाइकिङ ककनी मेमोरियल पार्कबाट सुरु भएर शिवपुरी नेशनल पार्क हुँदै सूर्याचौरमा अन्त्य भएको थियो ।

समुन्द्री सतहबाट १९२५ मिटरको उचाईमा रहेको सूर्यचौरबाट अन्नपूर्ण, लाङटाङ, गौरीशंकर, गणेश हिमाल, राउचुली हिमाल जस्ता अन्य हिमश्रृंखला लगायत मनोरम प्राकृर्तिक दृष्य अवलोकन गर्न सकिन्छ ।

हाइकिङका लागि पर्यटन मन्त्री अधिकारी, सचिव कृष्ण प्रसाद देवकोटा, टानका कार्यसमिति सदस्यहरु, नेपाल पर्यटन बोडर्का कार्यकारी निर्देशक दिपक राज जोशी, विभिन्न पर्यटन संस्थाका प्रतिनिधिहरु, पर्यटन व्यवसायीहरु, मिडिया लगायतको सहाभागिता थियो ।

यससँगै प्रदेश नं.३ का वन तथा पर्यटन विकाश समितिका सभासदहरु समेतको उपस्थिति रहेको थियो ।

...

बुधबार १० असोज २०७५

प्रतिक्रिया

Related