रानी–जमरा–कुलरिया सिँचाइ आयोजना रोकियोः किन अघि बढेन काम ?

जानाजान दुःख दिने नियतले झुलाउने काम गरेको आरोप
निर्माण सञ्चार, काठमाडौँ | रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको काम हाल अघि बढ्न सकेको छैन । राष्ट्रिय गौरवको यो आयोजनाले जरासम्बन्धी अल्झन खेप्नुपरेकोले कामलाई निरन्तरता दिनसकेको छैन ।

कैलाली वन डिभिजन कार्यालयले नहर क्षेत्रमा पर्ने रुखका जरा हटाउने अनुमति नलिँदा ६ महिनाभन्दा बढी समय आयोजनाको काम रोकिएका हो ।

कर्णाली नदीको पानीबाट ३८ हजार हेक्टरमा सिँचाइ पुर्याउने उद्देश्यका साथ यो आयोजना निर्माण भइरहेको आयोजना निर्देशक मधुकर रानाले जानकारी दिए ।

तर, अहिले उक्त आयोजना अघि बढाउने सन्दर्भमा रुखको मात्र होइन, जरा हटाउनेसम्बन्धी अनुमतिको अल्झन खेप्नु परेको निर्देशक रानाले बताए ।

कति प्रगति ?

राष्ट्रिय सरोकार तथा कार्यान्वयन समितिको शुक्रबारको बैठकमा निर्देशक रानाले उक्त आयोजनाको हालसम्म भौतिक प्रगति ३६ र वित्तीय प्रगति ३४ प्रतिशत भएको जानकारी दिए ।

निर्देशक रानाका अनुसार डिभिजन वन कार्यालयले आयोजनको नहर क्षेत्रमा पर्ने रुख हटाउने अनुमति दिए पनि काटेका रुखको ठूटा र जरा हटाउन अनुमति दिएको छैन ।

प्रमुख रानाले प्रश्न गरे, ‘रुख काट्न दिने तर, जरा हटाउन नदिने यो कस्तो निती हो ?’

जानाजान दुःख दिने नियतले जराको विवाद झिकेर झुलाउने काम गरेको उनको आरोप छ । डिभिजन कार्यालयका प्रमुख फेरिएपछि पछिल्लो समय भने विगतको समस्या टरेको आयोजनाले बताएको छ ।

यो राष्ट्रिय गौरवका आयोजना अगाडि बढाउने सन्दर्भमा अन्तर मन्त्रालयबीच समन्वय नहुँदा आयोजना तोकिएको समयमा अघि बढाउन नसकिएको गुनासो व्याप्त छ ।

राष्ट्रिय गौरवका आयोजनामा पनि ठूला रुख र वन क्षेत्रका कारण ठीक समयमा ठीक ढङ्गले अघि बढाउन नसकेको गुनासो आयोजना निर्देशक रानाको छ ।

...

आइतबार १४ असोज २०७५

प्रतिक्रिया

Related