रौतहटको डुङ्गा दुर्घटनालाई ‘पप्पु’ले बनाएको पुलसँग जोडिएप्रति एफक्यानको विमति

‘निर्माण कम्पनीको टाउकोमा दोष खन्याउने काम न्यायोचित भएन’
निर्माण सञ्चार, काठमाडौँ | रौतहट जिल्लाको लालबकैया नदीमा निर्माणाधीन पुलको विषयमा विभिन्न सञ्चारमाध्यमा पप्पु कन्स्ट्रक्सन कम्पनीको नाम जोडेर आइरहेका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)ले जनाएको छ ।

रौतहटको टिकुलियामा भएको दुःखद डुङ्गा दुर्घटना र त्यसबाट हुन गएको मानवीय क्षतिले महासंघलाई समेत स्तब्ध बनाएको महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तर, मानवीय जीवन र सम्वेदनासँग जोडिएको विषयलाई पुल निर्माण कार्यसँग जोडेर समाचार प्रकाशनमा आएकोप्रति आफ्नो विमति रहेको महासंघले बतायो ।

उक्त पुल निर्माणका लागि ३ वर्षभित्र काम सक्ने गरी २०७१ साल असारमा सम्झौता भएको चार महिना सम्म पनि साइट उपलब्ध नभएको महासंघले जानकारी दियो ।

पुलका लागि उपलब्ध गराउने जग्गाको विवादमै चार महिना बितेको र २०७२ साल वैशाखको भूकम्पले गर्दा निर्माण कार्य रोक्न सडक विभागबाट सूचना प्रकाशित भएको थप ४ महिना सम्म पनि साइट उपलब्ध नहुँदा काम अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस लगत्तै निर्माण सामग्रीको अभाव र ८ महिना लामो मधेस आन्दोलनका कारण काम अघि बढ्न नसकेको महासंघले जनाएको छ ।

महासंघका अनुसार पर्याप्त रकम विनियोजन भएमा निर्माण कम्पनीले ६ महिना थप अवधिमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

१५ करोड रुपियाँको योजनामा हाल सम्म ६ करोड मात्र बजेट विनियोजन भएको हुँदा रकम अभावका कारणले काम प्रभावित भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

पुल निर्माण कार्य सुरु हुनुभन्दा पहिलेदेखि नै उक्त खोलामा डुङ्गा सञ्चालन हुने गरेको र दुर्घटनाको प्रकृति हेर्दा माझीले पुलको दक्षिणतर्फबाट डुङ्गा तार्नुपर्नेमा पुलको उत्तरतिरबाट तार्न खोज्दा पानीको बहावले डुङ्गा पल्टाएर पुलको पिलरमा ठोक्किन गएको महांघको भनाई छ ।

यसरी खोलामा भएको दुर्घटनामा पुल निर्माणको जिम्मा लिएको कम्पनीलाई दोषी देखाउन खोज्नु आफैमा पूर्वाग्रह प्रेरित देखिने महासंघले जनाएको छ ।

सडक विभागको प्रक्रियागत र परिस्थितिजन्य कारणले हुन गएको ढिलाइ नदेखे झै गरी निर्माण कम्पनीको टाउकोमा दोष खन्याउने काम न्यायोचित नभएको महांघको दाबी छ ।

साथै मुलुक निर्माणमा होमिएका १२ हजार ५ सय भन्दा बढी निर्माण व्यवसायीहरुलाई हतोत्साहित नपार्ने गरी सत्य तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गरिदिन सम्बन्धित सबै संचार माध्यमहरुमा महासंघले आग्रह गरेको छ ।

...

सोमबार १५ भदौ, ०७५  

प्रतिक्रिया

Related