काठमाडौँ–तराई फास्ट्रयाक: डीपीआरको जिम्मा कोरियन कम्पनीलाई !

कस्तो बन्नेछ द्रुतमार्ग ? हालसम्म कति भयो प्रगति ?
निर्माण सञ्चार, काठमाडौं | नेपाली सेनाले तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को जिम्मा कोरियाली परामर्शदाता कम्पनी सुसुङ इन्जिनियरिङ लाई दिएको छ ।

यसअघि द्रुतमार्गको भारतीय कम्पनी आइएल एण्ड एफएस्ले तयार पारेको डिपीआरमा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि सेनाले यो परामर्शदाता कम्पनीको छनोट गरेको हो ।

डीपीआर सम्बन्धी खरिद–बिक्री सम्झौतामा मंगलबार द्रुतमार्ग निर्माणको समन्वय गरिरहेको नेपाली सेनाका प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँण र कम्पनीका अध्यक्ष किह्युन ह्वाङले हस्ताक्षर गरेका हुन् ।

फास्ट्रयाकको डिपिआरका लागि आह्वान गरिएको बोलपत्रमा सहभागी १७ कम्पनीमध्ये ‘सर्ट लिस्ट’मा परेका ६ कम्पनीबाट सुसुङ छानिएको हो ।

सो कम्पनीलाई सेनाले २९ भदौमा पत्र पठाइएको र १३ असोजमा सम्झौता गर्ने सेनाले जनाएको थियो । तर, त्यसको २ दिनपछि १६ असोजमा सम्झौता भएको छ ।

९० करोड सस्तो

यो सुरुङमार्गको डिपीआर १० करोड १२ लाख २७ हजार रुपियाँ लागतमा तयार गर्ने जिम्मा दिइएको काठमाडौं –तराई मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँणले बताए ।

सो लागत भारतीय कम्पनी आइएल एण्ड एफएस्को मागभन्दा ९० करोड सस्तो रहेको छ ।

आइएल एन्ड एफएसले डिपिआरको मूल्य सुरुमा ६४ करोड रुपियाँ मागे पनि आयोजना आफूले बनाउन नपाउने भएपछि डिपिआर मूल्य बढाएर एक अर्ब रुपियाँ मागेको थियो ।

आयोजना प्रमुख खाँणका अनुसार ४ कात्तिकबाट डिपिआर निर्माण सुरु गरी साढे ३ महिना (१०५ दिन) भित्र सम्पन्न गर्ने सम्झौता गरिएको छ ।

द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको १३ महिनापछि सेनाले औपचारिकरुपमा डिपीआरका लागि परामर्शदाताको छनोट गर्न सफल भएको हो ।

वैकल्पिक सुरुङमार्गको रेखांकन पनि

परिवर्तन एसियाली विकास बैंकले सन् २००८ मा तयार पारेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनमा रहेको सुरुङ मार्गको रेखांकन परिवर्तन पनि गरिएको छ । नयाँ रेखांकनबारे निर्णय हुन भने बाँकी रहेको छ ।

नयाँ प्रस्ताव गरिएको रेखांकनका आधारमा मार्ग निर्माण गर्दा दुरी छोटिने, समय र इन्धनको बचत हुने बताइएको छ ।

कहिले हुन्छ पूरा ?

सेनाले २७ साउन ०७४ मा यो आयोजना ४ वर्षभित्र निर्माण पूरा गर्ने गरी संयोजनको जिम्मा पाएको थियो । यो आयोजनाको एक वर्ष भने बितिसकेको छ ।

विगतमा भएका सम्भाव्यता अध्ययन प्रतिवेदन, प्रारम्भिक डिजाइन, इआईलगायत प्रतिवेदनका आधारमा सेना आफैँले तयार पारेको विस्तृत इन्जिनियरिङ सर्भेक्षण तथा डिजाइनका आधारमा हाल पुल र सुरुङमार्गबाहेकका काम भइरहेका छन्  ।

सबै पक्षबाट साथ र सहयोग भए आगामी ३ वर्ष (०७८ भदौ) भित्र नै आयोजना बनाउन सकिने उपरथी खाँणको भनाई छ ।

हालसम्म कति भयो प्रगति ?

हालसम्म आयोजना स्थलमा पर्ने २० हजार ३ सय ९ रुखहरू काट्नुपर्नेमा १९ हजार ३ सय १९ रुख कटान भइसकेको छ ।

यसैगरी, ६० लाख १७ हजार घनमिटर माटो कटान र ८ लाख ९ हजार घनमिटर पुर्ने काम भएको छ  भने९० प्रतिशतभन्दा बढी जग्गा अधिग्रहण सकिएको छ ।

उपरथी खाँणका अनुसार आयोजनाका लागि निर्माण गर्नुपर्ने १० वटामध्ये ८ वटा क्याम्प निर्माण सकेको छ । आर्थिक वर्ष ०७४/७५ मा शतप्रतिशत भौतिक प्रगति र ९५ प्रतिशत आर्थिक प्रगति भएको उनले बताए ।

खाँणलेचालू आर्थिक वर्षका लागि विनियोजन गरिएको १५ अर्ब ३९ करोड बजेटमध्ये अहिलेसम्म ७ प्रतिशत खर्च भइसकेको जानकारी दए ।

कस्तो बन्नेछ द्रुतमार्ग ?

७६.२ किलोमिटर लामो दु्रतमार्गमा दुईमुखे सुरुङमार्ग बनाइने छ ।

सुरुङमार्गको कुल लम्बाइ ६.७ किलोमिटर हुनेछ भने ८० भन्दा धेरै पुल बन्ने प्राविधिक उपरथी खाँणले जानकारी दिए । सुरुङमार्गको बीचमा बचाउ मार्ग पनि बनाइनेछ ।

भिराला ठाउँहरू तथा रुख काटिएका ठाउँ, चार लेन सडकको बीच भाग तथा दायाँबायाँ वृक्षारोपण गर्ने र बायो इन्जियरिङ अपनाएर हरियाली कायम गरिने सेनाले जनाएको छ ।

सेनाले भविष्यमा सडकको किनाराबाट खानेपानीको पाइप, ग्यास पाइपलाइन, अप्टिकल फाइबर, विद्युत् प्रसारण लाइनसमेत लान सकिने गरी विकास गर्ने भएको छ ।

आयोजनाको निर्माण पूरा गरेपछि काठमाडौंबाट बाराको निजगढसम्मको दुरी एक घन्टाको हुने दाबी गरिएको छ ।

...

बुधबार १७ असोज २०७५ 

प्रतिक्रिया

Related