भ्रष्टाचारका कारण ‘पप्पु’का मालिक सांसद रौनियार पदबाट निलम्बित !

पप्पुका मालिकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
निर्माण सञ्चार, काठमाडौँ | ‘पप्पु कन्स्ट्रकसन’का मालिक सत्तारुढ संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियार पदबाट स्वतः निलम्बित भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी सांसद पदबाट निलम्बनमा परेका हुन् ।

तर, प्रतिनिधिसभा नियमावली अनुसार सांसाद रौनियारले अदालतबाट फैसला नभएसम्म सांसदको लोगो भने प्रयोग गर्न पाउने छन् ।

उनले सांसदको हैसियतको सेवा सुविधा भने पाउने छैनन् ।

शुक्रबार पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रौनियार, पप्पु कन्स्ट्रक्सनका अध्यक्ष तथा सांसद रौनियारका छोरा सुमित, सडक डिभिजिन प्रमुखसहित १२ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अधिवक्ता नवराज थपलियाले भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन २०४८ अनुसार भ्रष्टाचारको मुद्दा दायर भएसँगै सार्वजनिक पद धारण गरेका व्यक्तिको पद स्वतः निलम्बनमा पर्ने बताए ।

उनी प्रतिनिधिसभाको निर्वाचन अगाडिसम्म पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रहेका थिए । सांसद भएलगत्तै रौनियारले अध्यक्ष पद छाडी छोरालाई पद हस्तान्तरण गरेका थिए ।

यसअघि देखि नै पर्साको पोखरियामा रहेको पप्पु कन्स्ट्रक्सनले बबई पुल बनाउँदा गुणस्तरहीन सामग्री प्रयोग भएको, पुल बनाउँदादेखि नै बांगो देखिएको,उद्घाटन नहुँदै भत्किएको लगायतका विषयमा विवादमा तानिएको थियो ।

सोही मुद्दा अख्तियारमा उजुरी परेपछि अनुसन्धान थालिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।

बबई पुल निर्माण गर्न डिभिजन सडक कार्यालय नेपालगञ्ज र पप्पुबीच २०६८-०३-२२ गते सम्झौता भएको थियो ।

अख्तियार अनुसार उक्त कम्पनीले पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरुबाट लाईन लेभल तथा पाइर हाइटको सम्बन्धमा भएको गम्भीर लापरवाहीलाई नसच्याई त्रुटीपूर्ण कार्यलाई स्वीकार गरी गुपचुप रुपमा कार्य गरेको,फिल्डको नाँपजाँच हचुवाको भरमा गरेको छ ।

...

शुक्रबार १९ भदौ, ०७५ 

प्रतिक्रिया

Related