पानी र शौचालयको सांकेतिक चिन्ह

‘संकेतका आधारमा पनि विद्यार्थी शौचालय जान थाले’
निर्माण सञ्चार, कर्णाली प्रदेश | तातोपानी गाउँपालिकाको भगवानी आधारभुत विद्यालयका अधिंकाश विद्यार्थी पहिले शौचालय हुँदा पनि खुल्ला रुपमा दिशा पिसाब गर्थे ।

खानेपानीको धारा मैत्रीपुर्ण नहुँदा त्यसको पहुँचमा समेत थिएनन्, उनीहरु ।

ज्ञानको अभावले कुनै अप्ठयारो नमानी शौचालय छोडेर बाहिर दिशा पिसाब गर्नु बालबालिको गल्ति भएपनि उनीहरुलाई बुझाउन नसक्नु विद्यालयको कमजोरी भएको अनुभुति भएको थियो ।

विव्यस अध्यक्ष धन बहादुर बुढाले बालबालिकालाई शौचालय र खानेपानीको पहुँचमा पुराउन कुनै जुक्ति नभएको जिकिर गरे ।

किर्डाक नेपालको शिक्षा कार्यक्रमले शौचालय जान र धारामा हात धुने बानीको विकास गर्न सांकेतिक चिन्ह बनाएपछि बालबालिकाको आनिबानीमा सुधार आएको भवानी आधारभुत विद्यालयका प्रधानाध्यापक दिपक खत्रीले बताए ।

उनले भने, ‘संकेतका आधारमा पनि विद्यार्थी शौचालय जान थालेका छन् भने शौचालयबाट आएर धारामा हात धुने पानी पिउने बानीको विकास भएको छ ।’

प्रधानाध्यापक खत्रीका अनुसार विशेषगरी कक्षा १ देखि ३ सम्म पढ्ने साना बालबालिकालाई शौचालय र खानेपानीको पहुँचमा ल्याउन गाह्रो भएको थियो ।

तर, किर्डाक नेपालद्धारा शौचालय र धारामा सांकेतिक चिन्ह बनाउने अवधारणअनुसार निमार्ण गरिएपछि निकै बालबालिकाहरु शौचालय जाने हात धुने गर्न थालेको प्रधानाध्यापक खत्रीले जानकारी गराए ।

अहिले फोहोर व्यवस्थापन पनि हुँदै गएको बताउँदै उनले किर्डाकको कार्यक्रम संचालन भएको विद्यालयमा सांकेतिक चिन्ह कार्यक्रम निकै प्रभावकारी भएको बताए ।

नाभिडाँडाँ निमावी, लगायत सिंजा क्षेत्रका विभिन्न विद्यालयमा सांकेतिक चिन्हले शौचालय तथा खानेपानी धारामा बालबालिकाको पहुँचमा बृद्धि भएको छ ।

बालमैत्री पढाईदेखि हरेक गतिविधि बालबालिकाको चाहाना अनुसार पठन/पाठन संचालन हुँदा परिवर्तन भएको महशुस गरिएको छ ।

 हात र खुट्टाका पाइला बनाइयो

आधारभुत विद्यालयमा बालबालिकालाई शौचालयको प्रयोग र खानेपानी धारामा पहुँच बृद्धि गर्न हात तथा खुट्टाको चित्र बनाइएको छ ।

शौचालय जानका लागि खुट्टाको चित्र बनाइएको छ भने, धारामा हातको चित्र कोरिएको छ । जसले सहजै रुपमा बालबालिका शौचालय जान्छन, र धारामा हात धुन्छन भन्ने परिकल्पना अनुसार चित्र कोरिएको किर्डाक नेपाल जुम्लाका तालिम संयोजक दिपराज रावतले बताए ।

उनले भने, ‘बालमैत्री धारा निमार्णका लागि १ लाख ८० हजार बढी रकम लागेको छ भने फोहोर फाल्ने खाल्डो, शौचालय निमार्णका लागि २ लाख बढी खर्च भएको छ ।’

‘विशेषगरी चित्रद्धारा बालबालिकाले बुझ्ने र सरसफाईको पहुँचमा बृद्धि हुने मनशाय थियो’ रावतले भने, ‘अनुगमनका क्रममा नाभिडाँडाँ निमावी सापुल्ली, भवानी आधारभुत विद्यालय जर्मी लगायतका विद्यालयमा सांकेतिक चिन्ह बालबालिकाका लागि प्रभावकारी देखिएको छ ।’

आगामी दिनमा अन्य विद्यालयमा पनि यो अवधारणालाई विस्तार गरिने उनको भनाई छ ।

नाभी डाँडा निमावीमा चित्रद्धारा बालबालिकाको बानीमा विकास भएको पाइयो ।

जहाँ पहिले खुल्ला रुपमा दिशा पिसाब गर्ने, हात नधुने, बालबालिका हिजोआज, शौचालय जाने, हात धुने धाराकै पानी प्रयोग गर्ने गरेको पाइएको छ ।

धारामा हात र शौचालय जाने बाटोमा खुट्टाको चित्र बनाउँदा शौचालय जाउँ, र धारामा हात धोउ भन्ने संकेत गरेको मर्म बालबालिकाले सजिलै बुझेको र प्रभावकारी भएको नाभीडाँडा निमावीका प्रधानाध्यापक मान बहादुर शाहिले बताए ।

उनका अनुसार सांकेतिक चिन्ह नहुन्जले चौरभरी दिशा पिसाब गरेर हैरान हुनेगथ्र्यो ।

हाल सहज भएको उनको भोगाई छ ।

वल्डभिजको आर्थिक लगानी तथा किर्डाक नेपालको समन्वयमा विगतका वर्षकादेखि शिक्षाका क्षेत्रमा करोडौ लगानी गर्दै आएको छ ।

जसले धेरै परिवर्तन गरेको स्थानीय नागरिकको अनुभुति छ ।

जुम्लामा बल्डभिजनको आर्थिक सहयोगमा किर्डाकले शिक्षा र काष्डाले कृषिका क्षेत्रमा काम गरिरहेका छन् । जो निकै प्रभावकारी तथा नागरिकका आवश्यकतामा आधारित छन् ।

कर्णाली प्रदेश संवाददाता सागर परियार

....

आइतबार, २१ अजोज २०७५ 

प्रतिक्रिया

Related