‘सिन्डिकेट’ बलियो पार्नेतिर रवि सिंहको यात्रा ! ‘जस्केला’बाट सल्लाहकार नियुक्त गरेपछि पहिलो निर्णयले नै फसाद

एफक्यानको आगामी यात्रा ‘ठेक्काभित्रको सिन्डिकेट’ संरक्षणमै केन्द्रित हुने संकेत ! दुई अध्यक्ष निकटलाई सल्लाहकार दिएर प्रधानमन्त्रीहरुलाई विवादित पार्ने ‘ठेकेदारी’ खेलकै अनुमोदन
निर्माण सञ्चार, काठमाडौं | असोज ४–६ मा भएको १ औं अधिवेशनको निर्वाचन हलबाट अध्यक्षमा निर्वाचित भएका रवि सिंह नेपाल निर्माण व्यवसायी महासंघको इतिहासका पानामा १० औं अध्यक्षका रुपमा अंकित हुने छन् ।

उनी अघि ८ औं अध्यक्ष रहेका शरदकुमार गौचनको ठेक्का सिन्डिकेटका कारण चुलिएको अन्तरविरोध र त्यसबाट सिर्जित गुण्डाकरणको आततायी हत्यापछि विधिवश ९ औं अध्यक्षका रुपमा विष्णुभाइ श्रेष्ठले अध्यक्षको कार्यभार सम्हालेका थिए ।

उनी विशेष परिस्थितिको विशेष म्यान्डेटबाट अध्यक्ष बन्न पुगेका थिए, जो यतिबेला ‘निवर्तमान’ अध्यक्ष स्थाई कमिटिमा बस्न पाउने परम्परागत भागबाट समेत खोसिएका छन् ।

उद्योग वाणिज्य महासंघसँगै निजी क्षेत्रका व्यावसायिक संस्थाहरुले सुरु गरेको संस्थागत संस्कृति नै भत्काएर अध्यक्षमा निर्वाचित भएको पहिलो वैठकबाटै सिंहले ‘एरिस्टोक्रेटिक बुलिजम’ देखाएपछि महासंघमा ‘निवर्तमान’ पद खोसिन पुगेको निर्माण व्यवसायीका नेताहरुको गुनासो छ ।

‘विधि मिच्ने म्यान्डेट कसैलाई पनि छैन’

यति मात्रै हैन, चुनावको अन्तिम समयमा सुकुन्तलाल हिराचनको ‘व्यग्र चाहना’का कारण नहोला कि जसरी टरिसकेको काँग्रेस प्यानलबाट अध्यक्ष पदको पगरी काँग्रेस सभापति शेरबहादुर देउवाको कृपाबाट सम्भव बनाउन सफल सिंहले ‘जस्केला’ बाट बामपन्थी पक्षका भनिएका निर्माण व्यवसायी मदन अधिकारीलाई सल्लाहकारमा ‘ताने’पछि उनको कार्यकलाको पहिलो वैठक विवादित बन्न पुगेको छ ।

योसँगै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष समेत रहेका केपी ओलीको नाम समेत विवादमा तानिएको छ । जसले मदन अधिकारी र उनको व्यावसायिक विगत पनि एकैचोटी विवादमा फसाउने संकेत देखिएको छ ।

उनलाई विवादित बनाएर एक तीरले दुई सिकार गर्ने योजनामा अध्यक्ष सिंह रहेको अध्यक्षका प्रत्यासी समेत रहेका यक्षध्वज कार्कीको आलोचना छ ।

‘पहिलो, प्रधानमन्त्री सहितको वामपक्षधर निर्माण व्यवसायी भित्र विवाद र फुट पैदा गराउने अनि प्रधानमन्त्रीलाई अघिल्लो ९ महिने कार्यकालमा जस्तै केही व्यक्तिहरु मिलेर धरान चतरादेखि स्याफ्रुबेसी मैलुङ सडकहरुको मिलेमतोमा जसरी फसाए र आजसम्म पनि विवादित बनाए, सोही मनसायबाट निर्देशित कामको रिहर्सलका रुपमा यस्तो निर्णय भएको हो ।’

दोस्रो तर्कका रुपमा उनी भन्छन्, ‘दोस्रो उद्देश्य भनेको, विगतदेखिका सिन्डिकेट र म्याच्फिक्सिङमा संलग्न हुँदै आउनेहरुलाई संरक्षण गरी आउने दिनमा त्यसलाई अझै बलियो बनाउने ।’

हुन पनि मदन अधिकारीलाई सल्लाहकारमा लैजानेबारे उनी निकट संगठनलाई थाहै रहेनछ । यसबारे वामनिकट वरिष्ठ निर्माण व्यवसायीहरु आफूहरुले चक्मा खाएको बताउँछन् ।

‘न त संगठनले आधिकारिक रुपमा निर्णय नै गरेर पठाएको हो । न त्यहाँ सल्लाहकार दिने बारेमा महासंघले हामीसँग आधिकारिक रुपमा नै मागेको थियो । यो निन्दनीय काम निर्वाचित संस्थाका प्रतिनिधिले गर्न हुँदैन भन्ने हेक्का पनि रहेन छ कि के हो ?’ निर्माण व्यवसायी परिषद्का पूर्वमहासचिव समेत रहेका केदार कँडेल यस्तो बताउँछन् ।

उनको भनाइ अनुसार एफक्यान सल्लाहकारमा विधि मिचेर निर्णय भएको छ ।

उनको भनाइमा विचार र संगठन आस्था र निष्ठा भन्दा पनि लाभका पदमा लोभिने अराजकताले गर्दा भाविष्यमा स्वयम् व्यक्ति र प्रधानमन्त्रीलाई समेत विवादमा पार्ने जोखिम बढ्ने छ ।

सल्लाहकार हुनका लागि एफक्यानको विधानले निर्दिष्ट गरेको विधि प्रक्रिया भन्दा ‘जुनियर’ व्यक्तिलाई सल्लाहकार बनाएको भन्दै पदाधिकारीहरुमै मनमुटाब सिर्जना भएको एफक्यान भित्रैका दाधिकारी बताउँछन् ।

अध्यक्ष सिंहले पप्पुको बचाउ गर्नै पर्ने अडान राख्दै संस्थागत प्रयास नै थालनी गरिसकेका थिए । जबकि यी घटना उनका बलबुता भन्दा पर पुगिसकेको उनलाई ज्ञानै नभएजस्तो देखिन्थ्यो

स्मरणरहोस्, महासंघको विधानले तोकेको चार सीमाहरुले सल्लाहकार हुनलाई मदनको भन्दा फरक उचाइको अपेक्षा गरेको छ ।

मदन अधिकारी यस अघि पेसागत संगठनका रुपमा चिनिएको एफक्यानका कुनै पनि निकायमा जिम्मेवारी वहन गरेका व्यक्ति पनि होइनन् भन्ने उनको विगतले देखाउँछ ।

अध्यक्षका प्रत्यासी कार्कीले सिंहले गलत रबैया अपनाइरहे संगठनले राम्रै जवाफ दिने दाबी गर्छन् र विधि र प्रक्रिया नमिच्ने सुझाव दिन्छन् ।

‘मैले अनुकूल व्यक्ति ल्याएँ, विधि मिच्यो जसले भन्छ उसैलाई सोध्नू’

तर, अध्यक्ष सिंह भने फरक तर्क गर्छन् । उनी भन्छन्, ‘मलाई अनुकूल हुने गरी, भविष्यमा सहयोग पुग्ने गरी मैले ल्याएँ । विधि मिचिएको भन्ने मलाई सोध्ने कुरै हैन । निर्वाचित अध्यक्षले मनोनित गर्न पाउने अधिकार बारे म जान्दछु । विधि मिच्यो भन्ने कुरा जसले भन्यो उसैलाई सोध्नुभए हुन्छ ।’

अघिल्लो हप्ता निर्माण व्यवसायी महासंघ कार्यालयमा नवनिर्वाचित पदाधिकारीहरु सहितको स्थायी समितिको पहिलो वैठक बस्यो ।

वैठकले पूर्व अध्यक्षहरुबाट सहित नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिने शारदा प्रसाद अधिकारीलाई पनि सल्लाहकारमा नियुक्त गरेको अध्यक्ष सिंहले बताए । अर्का अधिकारी मदन भने झापा घर भएका र प्रधानमन्त्री ओली निकट रहेको व्यवसायीहरु बताउँछन् ।

निर्माण सञ्चारसँग बोल्दै अध्यक्ष सिंहले भविष्यमा संस्था सञ्चालन र सरकारसँग पनि सम्बन्ध राख्ने हिसाबले यी दुई व्यक्तिलाई छनोट गरिएको दाबी गरेका छन् ।

विगतमा सत्तासीन दल निकटहरुबाटै एफक्यान पदाधिकारीहरु जित्ने परम्परा यसपटक भंग भएको छ ।

प्रतिपक्षी दलले ठेक्काभित्र आफ्नो पकड रहेको पुष्टि गरेको यो चुनावी परिणामले विजेता बनेका पदाधिकारीहरुलाई ठेक्काभित्रको संस्थापन पक्ष (बिग हाउसेज) र सत्तामा रहेको संस्थापनसँग सन्तुलन मिलाउनै हम्मे पर्ने हो कि भन्ने डर पैदा भएको देखिन्छ ।

अध्यक्ष सिंहको भनाइले यही मनोदशा स्पष्टै बताउँछ ।

‘मैले चुनाव अघि नै वचन दिएको थिएँ’

अध्यक्ष सिंहले नेपाली काँग्रेसबाट अध्यक्षको टिकट पाउन गरेको आन्तरिक संघर्ष नजिकबाट हेर्नेलाई मात्रै थाह हुन सक्छ ।

उनले त्यतिबेला अपनाएका सबै बाटाहरु मध्येको एक बाटो मदन अधिाकारीको मनोनित पछि छताछुल्ला भएको एकथरीको तर्क छ ।

उनले टिकट पाउनका लागि काँग्रेस सभापति देउवाले पठाएका बालकृष्ण खाँड सहितका अन्य ‘दूत’हरुलाई समेत परास्त गरेका थिए ।

३ गते साँझ होटेल अन्नपूर्णमा भएको गोप्य वैठकसम्म पनि एफक्यानका पूर्व अध्यक्ष समेत रहेका व्यवसायी सुकुन्तलाल हिराचनलाई अध्यक्ष बनाउने निर्णय उनका यस्तै ‘कसरत’बाट फेल खाएको थियो ।

काँग्रेसका आधिकारिक हुँ भन्ने हुमनाथ कोइराला पनि उनको महासचिवमा बस्न राजी हुनुले सिंहशैलीको अनुमान लगाउन कुनै गार्हो पर्दैन ।

उनका यी ‘कसरत’ पछाडिका पटकथाहरु यतिबेला बिस्तारै उदांगिन पुगेको हो कि भन्ने ठाउँ पाएको छ सल्लाहकार नियुक्ति प्रकरणले ।

यसले नयाँ आशंकालाई जन्माएको मात्र हैन, बलियो बनाइदिएको छ ।

वामनिकट भनिने ‘जुनियर’ (उनीहरुकै शब्दमा) मदन अधिकारीलाई सल्लाहकारमा ल्याउँदा सिंहले बोलेका शब्दहरु यतिबेला विवाद सिर्जना गर्ने मूल कारण बनेका हुन् ।

उनका यी ‘कसरत’ पछाडिका पटकथाहरु यतिबेला बिस्तारै उदांगिन पुगेको हो कि भन्ने ठाउँ पाएको छ सल्लाहकार नियुक्ति प्रकरणले । यसले नयाँ आशंकालाई जन्माएको मात्र हैन, बलियो बनाइदिएको छ

उक्त वैठकमा सल्लाहकार प्रस्ताव गर्दै अध्यक्ष सिंहले भनेका थिए, ‘मदन अधिकारीलाई मैले पहिले नै वचन दिइसकेको छु । मैले चुनाव अघि नै सल्लाहकारमा ल्याउने वचन दिएको थिएँ । मलाई राख्ने दबाब पनि छ । त्यसैले उहाँलाई सल्लाहकारमा नियुक्त गर्ने कुरामा म कसैको कुरा सुन्नेवाला छैन ।’

उनको प्रस्तावले चक्मा खाएका वाम खेमाबाट निर्वाचित पदाधिकारीहरुले ‘अहिले नभई पछि प्रस्ताव ल्याउन’ सुझाएका थिए । उनीहरुले आफूभित्र सल्लाह नै नभएको व्यक्तिबारे ‘चाहिन्छ नै भने संगठनबाट निर्णय गराएर मात्रै राख्ने’ बताइरहेका थिए ।

तर ‘सिंहशैली’ले यो कुरालाई कुनै टेर पुच्छर लगाएन ।

यसपछि प्रत्यासीलाई चुनावी मैदानमा पछार्न सिंहले अपनाएको एउटा कार्डका रुपमा पनि यो नियुक्तिलाई हेरिएपछि मदनको छवि झनै विवादमा तानिने पक्का भएको हो ।

यस अघि पनि निर्माण कार्यमा उनको कम्पनी पटक पटक विवादमा पर्दै आएको निर्माण व्यवसायीहरुकै आरोप यतिबेला सघन रुपमा उठिरहेको छ ।

अध्यक्षज्यू, घोषणा सभामा बोलेको कुरा याद छ ?

यो निर्णय कालान्तरमा अध्यक्ष सिंहका लागि आफ्नै घुँडामा ताकेको बन्चरो साबित हुने गरी नजानिदो रुपले बज्रने दिशातिर उन्मुख छ ।

यो सुझाव यदि कसैले दियो भने पनि ‘बालै भएन’ भन्ने शैलीले अघि बढ्ने स्वभाव देखाएका एफक्यानका नवनिर्वाचित अध्यक्ष सिंह–शैली आगामी दिनमा कस्तो हुने होला भन्ने आशंकाबाटै अघि बढ्ने देखिन्छ ।

यदि उनले लिने निर्णयकै कारण महासंघ फेरि पनि अतिवादी चपेटामा पर्दै गयो भने, निर्माण व्यवसायी महासंघ र बाँकी ठूलो संख्याका निर्माण व्यवसायीहरुको आसन्न ‘टसल’ कसैले रोकेर रोकिनेवाला छैन ।

किनकि, अवसर नपाएर खाडीमा जानु भन्दा मुलुकमै केही गर्न भनी घरजग्गा जमानत राखेर ठेक्कापट्टामा उत्रिएका देशैभर नौजवानहरु महासंघको यो नेतृत्वसँग पौठेजोरी खेल्ने छ भन्ने कुरा होटेल सोल्टीमा भएको १९ औं अधिवेशनको हलको दृश्य सम्झिए हुन्छ ।

तत्कालीन अध्यक्ष स्वर्गीय गौचन र ठूला भनिने निर्माण व्यवसायी माथि हलले लगाएको आरोप ४ महिना नपुग्दै प्रमाणित भएको थियो ।

ठेक्काभित्र हुर्काइएको मिलेमतो र त्यसको बिचौलियका रुपमा मात्रै महासंघलाई प्रयोग गर्ने ‘बिगहासेज’हरुका कारण कति पीडित बन्न पुगेका थिए शरद गौचन भन्ने कुरा उनको मुहारले त्यतिबेलै बोलेको सत्य थियो ।

यतिबेला सिंहले असोज ५ गते बिहान साँढे १० बजेतिर आफ्नो प्यानलको उम्मेदवारी घोषणा गर्दा बोलेको कुरा सार्वजनिक मिडियामा ताजै छन् ।

त्यतिबेला रिपोर्टस क्लबमा उनले आफ्नो उम्मेदवारी राजनीतिक रुपले नभई व्यावसायिक भएका दाबी गरेका थिए ।

भलै उनी नेपाली काँग्रेसकै प्यानलबाट  (टिकट कसले पाउने भन्नेमै लामो विवादपछि उम्मेदवारी घोषणा गर्न पुगेका किन नहुन्) अध्यक्ष बनेका किन नहुन्, उनले भनेका थिए, ‘म संस्थालाई संस्थागत र पारदर्शीले रुपले नै अघि बढाउने छु ।’

साना र मझौला निर्माण व्यवसायीको पक्षमा वकालत गर्दै उनी लगायत उनका वरिष्ठ उपाध्यक्ष सहितले आफूहरुले ठूला निर्माण व्यवसायीलाई जिल्लाका स–साना भाग खोस्न जान नदिने पनि बताएका थिए ।

साथै, ठेक्काभित्र सिन्डिकेट हुर्किरहेको, मिलेमतो र कार्टेलिङले घर गरिरहेको तीतो सत्य स्वीकार गर्दै घोषणा सभामा सिंहले कुनै पनि हालतमा सिन्डिकेटको अन्त्य गर्न’ आफ्नो उम्मेदवारी रहेको बताएका थिए ।

समय र सन्दर्भ फेरिएको छ है !

उनको बोलीको परीक्षा प्रतिपक्षी मित्रहरुले मात्र हैन, अब तिनै मिडियाहरुले लिइरहने छन् भन्ने सायद हेक्का हुन जरुरी छ । यतिबेला युग बदलिएको छ ।

सरकार, अख्तियार, सतर्कता केन्द्र र सार्वजनिक खर्च पुनरावलोकन समिति जस्ता निकायहरु सार्वजनिक खरिद कार्यमा भएका बेथितिलाई थितिमा राख्न भन्दै ओर्लिएका छन् ।

अर्काे कुरा मिडियामा जनताको पहुँचको विस्तार बढेको सबैलाई थाहै छ । स–साना कुरा पनि सञ्चार माध्यममा तुरुन्तै आउने र लुँडोको सर्प जस्तै कुनै पनि व्यक्तिको धरातल ९९ सयबाट ७ नम्बरमा झर्ने जस्तो रामोञ्चकारी बन्ने गरेको ठुल्ठूलाहरुले पनि बुझेकै सत्य हो ।

र मिडियाहरुको ‘वाच डग’ भूमिकालाई साथ साथै लिएर नहिँडे महासंघ जस्ता संस्थाहरु पनि आफ्नो पारदर्शिता र राज्यप्रतिको जवाफदेहिताको कसौटीमा खरो उत्रिन नसक्ने यथार्थ महासंघको विगतले नै पुष्टि गरिसकेको छ । ।

यस्ता निर्णयहरु इमानदारितापूर्वक छलफल गर्ने र पारदर्शितालाई पारदर्शी रुपमै अवलम्बन गर्न सकेमा महासंघ जस्ता निकायहरु जनताले पनि माया गर्ने र जनताको पनि साथ पाउने निकाय बन्ने छन् ।

अन्यथा, आजको प्रतिस्पर्धी जमानामा, विज्ञान र प्रविधिको चेतनाको युगमा महासंघले आफ्नो औचित्य डाइनोसर जस्तो नबनाउला पनि भन्न नसकिने देखिन्छ ।

आफू भन्दा विपक्षी बलियो हुने अवसर दियो भने दुई तिहाइ भएको सरकार पनि कमजोर हुने रहेछ भन्ने वर्तमान सरकारसँग सिकेको पाठ संस्थाहरुको जीवनमा पनि लागू हुने देखिन्छ । 

यस्तो परम्पराबाट माथि उठ्ने कि !

पूर्व अध्यक्ष बन्ने सौभाग्य पाए पनि जयराम लामिछाने, जिपछिरिङ लामा, रमेश शर्मा लगायत नेताहरु जो स्पष्ट रुपमै नेपाली काँग्रेसकै नेताका रुपमा वा छत्रछायाँमा हुर्किए र लामो समय काँग्रेसले नेतृत्व गरेको भौतिक पूर्वाधार मन्त्रालय, सिँचाइ, भवन र सडक विभागजस्ता पूर्वाधार विकास खर्च हुने ठूलो बजेटवाला मन्त्रालय निकट भएर ठेक्का हाता पार्न सफल पनि रहे भन्ने कुरा देशभरका साना निर्माण व्यवसायीहरुलाई पनि राम्रै अवगत छ ।

माथि उल्लेख गरिएका र, नेतृत्वमा नआएपनि कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डे र अन्य केही निर्माण कम्पनीहरु ठेक्का भित्रका बिग हाउसका रुपमा चिनिन्छन् ।

आज कालिकाले जिम्मा लिएको सिक्टा सिँचाइमा अख्तियार र सिंगो सरकार अनुसन्धान गरिरहेको अवस्था छ भने आफ्नो औकात र हैसियत भन्दा बढी भारी बोकेर किचिएको पप्पु कन्स्ट्रक्सन अख्तियारले डामी सकेको अवस्था छ ।

जयराम लामिछाने, जिपछिरिङ लामा, रमेश शर्मा लगायत नेताहरु जो स्पष्ट रुपमै नेपाली काँग्रेसकै नेताका रुपमा वा छत्रछायाँमा हुर्किए र, नेतृत्वमा नआएपनि कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डे र अन्य केही निर्माण कम्पनीहरु ठेक्का भित्रका बिग हाउसका रुपमा चिनिन्छन्, जो ऐनमौकामा विवादित र ठेक्काभित्रका बादशाहका रुपमा छन्

जबकि, अध्यक्ष सिंहले पप्पुको बचाउ गर्नै पर्ने अडान राख्दै संस्थागत प्रयास नै थालनी गरिसकेका थिए । जबकि यी घटना उनका बलबुता भन्दा पर पुगिसकेको उनलाई ज्ञानै नभएजस्तो देखिन्थ्यो ।

‘पप्पुलाई मिडियाले फसाए’ भन्ने सिंहले पप्पुको अकाउन्टले देखाउने असलीयतलाई सफाया दिने गरी हतारोमा बोल्नुले ठूला र सिन्डिकेटधारीहरुकै पक्षमा वकालत गरेको ठहरिदैन र ?

कुनै समयमा बैंकर्सहरुमा सेलिब्रेटी जस्ता बनेका तत्काली किस्ट बैंकका सिइओ कमल ज्ञवाली पनि यतिबेला प्रहरी हिरासतमा छन् । पप्पुलाई अख्तियारले डामेको छ । यी सबैबाट संस्था सञ्चालकहरुले सिक्ने पाठ प्रशस्तै पढ्न पाइन्छ ।

इतिहासले दिएको अवसरलाई मौकामा परिणत गर !

केही पूर्व अध्यक्षहरुकै जसरी, नेपाली काँग्रेसकै टीका लगाएर सिंह पनि अध्यक्ष बन्ने मौका पाएका हुन् । उनले पेसागत संस्थलाई पेसागत मर्यादाभित्रै राख्ने सपथ पनि खाएका छन् ।

कुनै समयमा बैंकर्सहरुमा सेलिब्रेटी जस्ता बनेका तत्काली किस्ट बैंकका सिइओ कमल ज्ञवाली पनि यतिबेला प्रहरी हिरासतमा छन् । पप्पुलाई अख्तियारले डामेको छ । यी सबैबाट संस्था सञ्चालकहरुले सिक्ने पाठ प्रशस्तै पढ्न पाइन्छ

तर, अध्यक्ष भएलगत्तै काँग्रेस सभापति देउवालाई भोजसहित दु–दुई पटक भेट गर्न गएका उनले महासचिव लगायत अन्य पदमा जितेका बामपन्थी भनिने निर्वाचित सदस्यलाई भेटमा सहभागी नै गराएनन् ।

यसैगरी अघि बढे सिंहशैलीका कारण महासंघको साझा भनिने छविले काँग्रेसीकरणको रुप लिने र अन्ततः औचित्य माथि नै सरकारले नै प्रश्न उठाउने परिस्थिति सिर्जना हुने एकथरी विश्लेषकहरुको तर्क छ ।

हुन पनि देशैभरका २५ हजार बढी (मतदानमा देखिएको आँकडा) निर्माण व्यवसायी मतदाताको भोट लिएर पद प्राप्त गर्ने तर कुर्चीमा पुगेपछि निर्माण क्षेत्रका माफियाहरुकै मात्र हित रक्षा गर्न लागिपर्ने हो भने यस्ता संस्था नचाहिने बताउँछन् भौतिक मन्त्रालयका एकजना पूर्व सचिव ।

संस्थागत भनेको बोली र व्यवहारको एकरुपता जवफदेहिता र पारदर्शिता हो 

भन्ने बेला (र हुनु पर्ने पनि) साझा संस्था भन्ने तर कार्यशैलीमा भने एकलौटी गर्न थालेपछि साझा भनिने संस्था दलीय छत्रछायाँमा पुग्छन् । र, अन्तत पतन हुन पनि बेर लगाउँदैन ।

यसै सन्दर्भमा एक वरिष्ठ निर्माण व्यवसायी भन्छन्, ‘यो कुराको पनि हेक्का नहुने र बिग हाउसेजहरुकै मात्र हितमा केन्द्रित हुने हो भने एफक्यानको औचित्य माथि यस अघि नै प्रश्न चिह्न उठेको छ भने अब टुलुटुलु हेरेर आजको जमानामा कोही पनि बस्नेवाला छैन ।’

यिनीहरुकै हालिमुहाली अनियन्त्रित रुपमा रहेको भन्दै निर्माण व्यवसायीहरुबाटै यी ठूला भनिने कन्ट्र्याक्टर ‘गन्हाउने’ हुँदासम्म लज्जित नभएको आरोप लगाउँछन् ।

यिनै औंलामा गन्न सकिने बिग हाउसेजहरु नै ठेक्काभित्रको सिन्डिकेटका पनि ‘खलनायक’ बनेको कुरा गौचन हत्यापछि प्रहरीले गरेको अनुसन्धानबाटै पुष्टि भइसकेको छ ।

विगतबाट सिक्ने कि !

त्यसअघिसम्म, स्वर्गीय बनवरीलाल मित्तलदेखि सातौं अध्यक्षसम्मको यात्रा क्रम लगभग एकताको प्रयासबाट भएको देखिन्छ ।

चुनावी ढ्वाङ भन्दा पनि सहमतिबाट आएको नेतृत्वकै कारण एफक्यानको जिन्दगीमा वर्तमान संस्था भएको जमिन आर्जनदेखि, भवन निर्माण र देशव्यापी रुपमा संस्था विकास हुन सकेको देखिन्छ ।

यिनै औंलामा गन्न सकिने बिग हाउसेजहरु नै ठेक्काभित्रको सिन्डिकेटका पनि ‘खलनायक’ बनेको कुरा गौचन हत्यापछि प्रहरीले गरेको अनुसन्धानबाटै पुष्टि भइसकेको छ 

जब जब चुनावी प्यानलमा व्यवसायीहरु बाँढिए, त्यसको परिणाम फुट र आन्तरिक कमजोरी हाता परेको छ ।

एफक्यानको इतिहासले के देखाउँछ भने, चुनावबाट आएको होस् या सर्वसम्मतिबाट, यस अघिका जयराम लामिछाने, रमेश शर्मा, हिराचन लगायतको कार्यकाल गणना गर्ने हो भने, स्वर्गीय गौचनसम्मकै अवधि नेपाली काँग्रेस निकटस्थ व्यक्तिकै हालिमुहाली रहेको देखिन्छ ।

इतिहासको यो घडीमा यी र यस्ता कल्मषहरुलाई पखाल्ने अवसरको नायक बन्ने कि त्यसैको निरन्तरता बन्ने भन्ने दोसाँधमा यतिबेला रवि सिंह रहेको उनी आबद्ध व्यवसायीहरु नै भन्ने गर्छन् ।

....
आइतबार, २१ असोज २०७५

 

 

प्रतिक्रिया

Related