बाहिरी चक्रपथको दुर्दशाः किन रोकियो निर्माण ? के–के हुँदैछ काम ?

चक्रपथको डिपिआर ‘चाइना इनर्जी’लाई दिने तयारी, होला त ५ वर्षमा बाहिरी चक्रपथको निर्माण ?
निर्माण सञ्चार, काठमाडौँ | दस वर्ष भन्दा अघिदेखि बाहिरी चक्रपथको निर्माण थालिने भनिएता पनि हालसम्म कुनै कामको परिणाम निस्कन सकेको छैन ।

सरकारले बल्ल बाहिरी चक्रपथको डीपीआर तयार गर्न र निर्माणका लागि चिनियाँ कम्पनीलाई दिने तयारी थालेको छ ।

तीन महिनाभित्र डीपीआर तयार गर्ने र पाँच वर्षभित्र आयोजना पूरा हुनेगरी सरकारले चिनियाँ कम्पनी चाइना इनर्जी इन्जिनियरिङ कर्पोरेशन लिमिटेडलाई बाहीरी चक्रपथ निर्माणको जिम्मा दिने गृहकार्य थालेको हो ।

काठमाडौं, ललितपुुर र भक्तपुर तीनै जिल्लालाई जोड्ने बाहिरी चक्रपथ देशको राजधानीको रुप नै फेर्ने आयोजना हो ।

जग्गा टुक्रा गर्न र बेचविखनमा रोक

७२ किलोमिटर लामो बाहिरी चक्रपथमा पर्ने जग्गा रोक्का गरेर ८ आनाभन्दा कममा टुक्रा गर्न नपाइने गरी शहरी विकास मन्त्रालयले तयारी थालेको छ ।

यससँगै ती जग्गा बिक्रीवितरण समेत गर्न नपाईने गरी तयारी थालेको मन्त्रालयले जनाएको छ ।

निःशुल्क डीपीआर !

चिनियाँ कम्पनी ‘चाइना इनर्जी’ले निःशुल्क डीपीआरसहित बाहिरी चक्रपथको रेखांकन, निर्माण र आर्थिक स्रोत जुटाउने आशय व्यक्त गरेको स्रोतको दाबी छ ।

सोहीकारण काठमाडौँको रुप परिवर्तन गर्नेगरी बाहिरी चक्रपथको काम अगाडि बढ्ने अपेक्षा जागेको सरकारको भनाई छ ।

डीपीआर बनाउने जिम्मा यसअघि नै पाइसकेको सो कम्पनीको आशयपत्र शहरी विकास मन्त्रालय हुँदै हाल अर्थ मन्त्रालयमसम्म पुगिसकेको छ ।  

जग्गा रोक्काको तयारी

सरकारले पटक–पटक बाहिरी चक्रपथ निर्माण गर्ने ठाउँको जग्गा अधिग्रहण गर्ने प्रक्रिया अगाडी बढाए पनि यसले हालसम्म पूर्णता पाउन सकेको छैन ।

अब तुरुन्तै सरकारले बाहिरी चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र जग्गा अधिग्रहणको काम अघि नबढाउने हो भने सो परियोजना कहिल्यै निर्माण हुन नसक्ने विज्ञहरुको चेतावनी छ ।

सरकारले यसअघि नै जग्गा अधिग्रहणका लागि स्वीकृति दिएपनि काम अगाडि बढेको छैन ।

हाल लागत अनुमान कति ?

दश वर्षअघि बाहिरी चक्रपथ निर्माणको लागत २४ अर्ब अनुमान गरिएको थियो ।

तर, जग्गा अधिग्रहण र डीपीआर लगायतको काम अगाडि नबढाइएकाले ०७४ सालमा आइपुग्दा बाहिरी चक्रपथको लागत ७२ अर्ब अनुमान गरियो ।

अब यसै वर्षबाट चक्रपथ निर्माण थाल्दा भने ८५ अर्ब लगातको अनुमान गरिएको छ । बाहिरी चक्रपथ क्षेत्रका जग्गा मूल्य हालको तुलनामा बाहिरी चक्रपथ निर्माण सम्पन्न भइसकेपछि १० गुणा बढ्नेछ ।

बाहिरी चक्रपथ निर्माणको लक्ष्य के ?

बाहिरी चक्रपथ वरिपरि वातावरणमैत्री, प्रविधियुक्त र सुविधा सम्पन्न बस्ती बनाउने लक्ष्य लिइएको छ ।

यो परियोजना व्यवस्थित बस्ती र दिगो सहरीकरणको महत्वकांक्षी योजनाका रूपमा अगाडि सारिएको हो । हाल यसको सामाजिक तथा वातावरणीय अध्ययन सम्पन्न भइसकेको छ ।

सरोकारवालाहरुका अनुसार प्रधानमन्त्री केपी ओली समेतको चाहानापछि उक्त आयोजना निर्माणमा चाइना इनर्जीले चासो दिएको छ ।

डीपीआर र जग्गा अधिग्रहणको काम सँगै

डीपीआर निर्माण गर्ने चिनियाँ कम्पनीले बाहिरी चक्रपथ बनाउने काम पनि आफैले गर्ने चासो देखाएको छ ।

‘चाइना इनर्जी’ले सरकारसमक्ष इपीसीएफ (इन्जिनियरिङ, प्रोक्योरमेन्ट, निर्माण र आर्थिक) प्रस्ताव समेत पेश गरिसकेको छ ।

डिपिआरसहित सबै काम आफैँले लिएर कम्पनीले बाहिरी चक्रपथ निर्माणको काम पाँच वर्षभित्रै सम्पन्न गर्ने क्षमता रहेको सोही कम्पनीसँग रहेका चाइना इनर्जीका प्रतिनिधि कमल कार्कीले भने ।

चाइना इनर्जिले डीपीआर र जग्गा अधिग्रहणको काम भने सँगै हुनुपर्ने बताएको छ ।

सरकारले जग्गा एकीकरण गरेर दिएको खण्डमा तीन महिनाभित्र बाहिरी चक्रपथको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने कम्पनीको जानकारी छ ।

...

सोमबार, २२ असोज २०७५

प्रतिक्रिया

Related