डोल्पाको सदरमुकाम ‘दुनै’ जोडियो सडक सञ्जालमा !

तिहारपछि सदरमुकामसम्मै गाडी, खुशीले दङ्ग स्थानीय
निर्माण सञ्चार, डोल्पा | विकट हिमाली तथा केन्द्र सरकारबाट सधै पिछडिएको डोल्पा सडक सञ्जालमा जोडिएको छ ।

मुलुकका लगभग सबै जिल्ला सडक सञ्जालमा जोडिए पनि कर्णाली क्षेत्रका ५ जिल्ला मध्ये डोल्पामा त सडक सञ्जाल पुगेकै थिएन ।

कर्णाली प्रदेशको विकट हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैलाई सडकले जोडेको हो । उक्त ट्रयाक खुलेपछि मोटरसाइकल संचालन हुन थालेका छन् । तिहारपछि भने दुनैसम्म गाडी पुग्ने भएको छ ।

जाजरकोट–डोल्पा सडकको १६ असोजमा ट्रयाक खुलेको हो ।

ट्रयाक खुलेसँगै मोटरसाइकलसहितका साना सवारीसाधन सदरमुकाम दुनैसम्म चल्न थालेका छन् ।

यसअघि खच्चडमा आवातजावत गर्ने डोल्पाबासी ट्रयाक खुलेसँगै खुशीले दंग भएका छन् ।

खच्चडमा निर्भर हुँदै आएका डोल्पाली हाल मोटरसाइकलमा ओहोरदोहोर गर्न पाउँदा भाग्मानी महशुश गरेको बताउँछन् ।

‘यसअघि खच्चडमै आवातजावात हुन्थ्यो, हाल मोटरसाइकलमा यात्रा गर्न पाउँदा भाग्यमानी महशुश हुन्छ’ स्थानीय राकेश लामिछानेले खुशी हुँदै भने ‘समय पनि धेरै खर्च हुँदैन ।’

अब खुट्टा र थाप्लोको भार हट्ने बताउँछन्, लामिछाने । यसअघि दश दिनमा नेपालगन्ज पुग्ने गरेको भन्दै लामिछानेले अब दुई दिनमै गाडीमा नेपालजन्ज पुग्न सकिने बताए ।

नेपालगन्जबासीसहित अन्य व्यापारी, पनि मोटरसाइकलमै दुनै पुग्ने गरेका छन् ।

खच्चरमा भन्दा ढुवानी खर्च कम लाग्ने भएपछि त्यहाँका बासिन्दाले मोटरसाइकलमै समान ढुवानी पनि गरिरहेका छन् ।

कहाँदेखि कहाँसम्म सम्पन्न सडक ?

डोल्पालाई सडक सञ्जालमा जोड्न जाजरकोटको पासगाडबाट सडक बनाउन थालिएको थियो ।

नेपाली जिम्मा लिएको जाजरकोट–डोल्पा सडकको एक सय १७ किलोमिटरमध्ये एक सय १४ किलोमिटर सडक गत चैतमै निर्माण भएको थियो ।

सो सडकमा यातायातका साधन चलेका छन् ।

त्यसैगरी, दुनैबाट त्रिपुराकोटसम्म सडक निर्माण भइसकेको छ । जाजरकोटको पासगाडबाट खदाङसम्म पनि सहज रूपमा यातायात सञ्चालनमा छ ।

त्रिपुराकोट र खदाङबीचको तीन किलोमिटर सडकमा ठूला–ठूला भिरका कारण समस्या भएको थियो । अहिले सो सडकखण्डमा पनि सेनाले ट्र्याक खोलिसकेको छ ।

तिहारपछि गाडी चल्न सक्ने

उक्त ट्र्याक खुलेसँगै मोटरसाइकल सञ्चालनमा छन् ।

यससँगै तिहारपछि गाडी चल्न सक्ने सेनाको भनाई छ । नेपाली सेनाको सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले भने ‘हाल मोटरसाइकल मात्रै सञ्चालनमा छन्, तिहारपछि गाडी चल्ने हुन्छ । हामी यो सडकको औपचारिक उद्घाटनको नजिक पुगेका छौँ ।’

उपभोग्य सामान पनि सस्तियो

जाजरकोट–डोल्पा सडकको ट्र्याक खुलेसँगै उपभोग्य वस्तु पनि सस्तिएको छ ।

यससँगै दैनिक उपभोग्य सामग्रीको सहज आपूर्ति समेत हुन थालेको छ ।

स्थानीय बासिन्दा राम गोपाल दाहालले भने ‘मोटरसाइकल चलेको केही दिनमै समान सस्तो भएको छ, गाडी संचालनमा आएपछि झन् सहज र सस्तो होला ।’

दाहालले दैनिक उपभोग्य सामग्रीको सहज आपूर्ति समेत हुन थालेको जानकारी दिए ।

....

कार्तिक, ७ बुधबार, २०७५ 

प्रतिक्रिया

Related