१४ वर्षदेखि अलपत्र जाल्पादेवी आयोजनाः नेपाल हाइड्रो इनर्जीको चरम लापरवाही

यो दशैमा पनि बलेन बत्ति, नागरिकको लगानी डुब्ने डर
निर्माण सञ्चार, जुम्ला | विगत १४ वर्षदेखि अलपत्र जाल्पादेवी जलविद्युत् आयोजनाको सम्झौताअनुसारको काम नभएपछि यो दशैंमा पनि बत्ति बल्न सकेन ।

यो दशैं सम्म जुम्लाको तातोपानी गाउँपालिकालाई झिलिमिल पार्ने सम्झौता गरेको नेपाल हाइड्रो इनर्जी प्रा.ली. सम्झौता गरेपनि विद्युत बाल्न असफल भएको हो ।

नागरिकले करौडौको सेयर लगानी गरेको आयोजना निमार्णको जिम्मा दिइएता पनि विगतका दशैझैं आश्वासनमै समिति भएको छ ।

विद्युत बाल्नका लागि पोलहरु हालेपनि निमार्ण सम्पन्न नहुँदा बत्ति बल्न सकेन ।

अहिले उक्त आयोजनाबारे चौतर्फी रुपमा गुनासो बढ्न थालेको छ ।

आयोजना निमार्ण जिम्मा लिएको कम्पनीले यो दशैमा बत्ति बालेर हस्तान्तरण गर्ने गरी सम्झौता गरिएको थियो । २०७४ असोजबाट निमार्ण काम शुरु गरिएको थियो ।

कस्ता कारणले कामले तीव्रता पाउन नसकेको एकिन भएको छैन ।

वर्षौदेखि अलपत्र जुम्लाको यस आयोजना गएको असोज महिनामा हाइड्रो इनर्जीलाई हस्तान्तरण गरिएको थियो ।

सभापति लाल बहादुर सार्कीले आयोजनाको शिलन्यास गर्दै सो कम्पनीलाई हस्तान्तरण गरेका थिए ।

तर, यही दशैमा तातोपानी गाउँपालिकामा विद्युत बाल्ने गरी जिम्मा लिएको नेपाल हाइड्रो इनर्जी प्रालीले लक्ष्य अनुसारको काम गर्नै सकेन । आउँदो तिहारसम्म बत्ति बल्ने अबस्था देखिदैन ।

झण्डै २६ किलोवाट विद्युत उत्पादन हुने आयोजना यो वर्ष पनि अलपत्र अबस्थामा पर्ने आकलन गरिएको छ ।

सो आयोजना निर्माण भएमा पुरै तातोपानी लगायत अन्य स्थानीय तहलाई समेत विद्युत् विक्रि गर्न पुग्ने बताइएको छ । तर, वर्षौ वित्दा पनि आयोजना निर्माण नहुँदा नागरिको लगानी पनि डुब्ने डर पैदा भएको छ ।

आयोजना हस्तान्तरण गरेको १ वर्ष पुगिसक्दा समेत निमार्ण कार्यले तीव्रता पाउन सकेको छैन ।

दशै अगाडी नै हस्तान्तरण गर्ने बाचा गरेको इनर्जी हाइड्रले सुस्त गतिमा काम गर्दा तिहारमा पनि बत्ति नबल्ने निश्चित भएको छ ।

हाल तातोपानी गाउँपालिकामा झण्डै ३० भन्दा बढी बस्तीहरु सौर्य उर्जाको भरमा छन् । नियमन गर्ने निकाय मौन भएकै कारण सम्झौता अनुसारको काम नभएको आलोचना बढीरहेको छ ।

निर्माण कम्पनीले जनतालाई भ्रममा पारेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

‘कम्पनीको सुत्तताले गाउँमा बत्ति बलेको हेर्न अझै कतिवटा दशैं कुर्न पर्ने हो ?’ तातोपानी २ का स्थानीय रबि बुढाले व्यङ्ग्य गरे । बत्ति बलेको हेर्ने आशमै प्राण जाने पो होकी ? उनले दुखेसो पोखे ।

साढे ६ करोड सेयर लगानी

गाउँमा विद्युत् आएपछि केही सुविद्या होला, केही व्यापार व्यवसाय गरौँला भन्ने आशमा स्थानीयबासी छन् । सोहीकारण ऋण निकालेर पनि प्रतिघरले १९ हजार ३ सय सयेर लगानी गरेका छन् ।

झण्डै ३ हजार घरधुरी रहेको तातोपानी गाउँपालिकाबासीले विद्युत्ले समृद्धि हुने सपना देखेर आँखा चिम्लेरै हजारौँ रुपियाँ लगानी गरेका छन् ।

३ हजार घरधुरीले १९ हजारका दरले लगानी गर्दा ५ करोड ७० लाख जम्मा गरेका छन् । तर, स्थानीय भने अझै अध्यारोमै बस्न बाध्य छन् ।

ब्याजमा ऋण झिकेर सेयर लगानी गरेको आयोजनाले यो वर्ष पनि बत्ति बाल्छु भन्दै छक्काएपछि सेयर फिर्ता माग्ने सोचमा छन्, स्थानीय ।

‘केही सुविधा होला, छोराछोरी पढ्न पाउलान्, व्यापार गरौंला भन्ने आशाले लगानी गर्दा पनि विद्युत नआउने भएपछि लगानी फिर्ता माग्ने तयारी गरेका छौँ,’ स्थानीय लोक बहादुर दमाईले भने ।

२०६१ सालबाट निमार्ण कार्य शुरु भएको आयोजना १३ वर्ष अलपत्र परेको थियो । निर्माणको जिम्मेवारी पाएको हाइड्रो इनर्जीले हालसम्म नहर खन्ने, पोल हाल्ने बाहेक अरु काम गरेको छैन ।

झण्डै १५ करोड लागत रहेको आयोजना टेन्डर प्रक्रियाबाट १० करोडमा निमार्ण भएको जाल्पादेवि लघु जलविद्युत आयोजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए ।

उनले यो दशैमा नबाले पनि नयाँ वर्ष सम्म बाल्ने बताए ।

आयोजनाको प्रक्रियागत काम सकिए लगत्तै निमार्ण कार्य थालेपनि सम्झौता अनुसार काम भएको छैन । दशैमा बत्ति बाल्छु भन्दै आश्वासन दिएर बेवस्ता गरे, स्पष्टीकरण माग्ने उनको भनाई छ ।

दशैं नाघि सकेको आयोजनालाई फेरी अलपत्र पार्ने सम्भावना बढ्दै गएको प्रति स्थानीयले चासो देखाएका छन् ।

काम गर्दागर्दै सम्झौता मितिभित्र नसकिनु स्वाभविक हो, तर निकै सुस्त काम गरी सम्झौता तोड्नु निमार्ण कार्यप्रति वेवास्ता गरिएको भन्दै निमार्ण कम्पनीलाई घच्घचाउन स्थानीयले जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

आयोजनाको निर्माणका लागि वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्रले ५ करोड ७० लाख रुपियाँ सहयोग गर्ने भएको छ । यसैगरि, १ करोड ६३ लाख ४० हजार रुपियाँ नेपाल इनभेष्टमेन्ट बैँकले ऋण सहयोग दिएको थियो ।

सिँचाइ डिभिजन कार्यालय जुम्लाको सहयोगमा ४ करोड ११ लाख ५४ हजार रकम सहयोगमा आयोजनाका नहर निर्माण भइसकेको छ ।

बजेट प्रयाप्त भएपनि कम्पनीको ढिला सुस्तीले सम्झौता अनुसार काम नभएको अध्यक्ष पाण्डेको भनाइ छ ।

अध्यक्ष पाण्डेले भने ‘स्पष्टीकरण मागेपछि चित्त बुझ्दो भएमा अबस्था हेरि केहि समय थप गरिने छ, अन्यथा कम्पनीलाई नियमअनुसार प्रक्रिया अघि बढाइने छ ।’

कर्णाली प्रदेश निर्माण संवाददाता सागर परियार

....

कार्तिक, ७ बुधबार, २०७५ 

प्रतिक्रिया

Related