भारत र चीनसँग जोड्ने ‘कोशी राजमार्ग’–हालसम्म कति सकियो काम ?

विकट क्षेत्रका कारण भएन सोचेजति काम, दुई अर्ब ११ करोड भइसक्यो खर्च
निर्माण सञ्चार, काठमाडौँ | मोरङको रानीबाट सुरु भएको कोसी राजमार्ग उत्तरी सिमाना चीन जोडिन मात्रै २३ किमि बाँकी छ । दक्षिणमा भारतसँग जोडिएको यो सडक उत्तरमा संखुवासभाको किमाथांकासम्म पुग्नेछ ।

राष्ट्रिय गौरवको आयोजना ‘कोसी राजमार्ग’ तीन सय ९० किमि रहेको छ । जसमध्ये तीन सय ६७ किमि ट्रयाक खोलिसकिएको छ ।

उत्तरदक्षिण (कोसी) सडक आयोजनाका प्रमुख इन्जिनियर पशुपति ज्ञवालीका अनुसार ०६५ मा खाँदबारीमा स्थापना भएको उत्तर–दक्षिण (कोसी) सडक योजनाले खाँदबारीदेखि किमाथांका नाकासम्मको सडक हेर्छ ।

हाल सार्वजनिक यातायात खाँदबारीसम्म संचालनमा छन् ।

यससँगै खाँदबारीबाट ८० किमि उत्तर वरुण नदीसम्म पनि सवारी साधन चलिरहेका छन् । प्रमुख इन्जिनियर ज्ञवालीले खाँदबारी–किमाथांकाको दूरी एक सय ६२ किमि रहेको जानकारी दिए ।

जसमध्ये १ सय ४४ किमि ट्रयाक खोलिसकिएको छ । वर्षा सकिएसँगै चाडपर्व आएकाले निर्माणका कार्यले तीव्रता पाउन सकेको छैन ।

चाडपर्व सकिएलगत्तै कामले गति लिने उनको दाबी छ ।

३४ किलोमिटर सडक पनि ग्राभेल

वरुण नदीभन्दा उत्तर ३४ किलोमिटर सडक ग्राभेल भइसकेको छ । तर, सो सडकमा सवारी सञ्चालन खुला गरिएको छैन ।

प्रमुख इन्जिनियर ज्ञवालीले बरुण नदीदेखि किमाथांकासम्मको सडकलाई चार खण्डमा बाँडेर काम अघि बढाइएको जानकारी दिए ।

निर्माणको जिम्मा कसलाई ?

उक्त सडकखण्डमा बरुण–सिम्बुङ, सिम्बुङ–हटिया, लिंगगाम–चेपुवा, चेपुवा–हुङहुङमा गजुरमुखी–मोतिदान–गीताञ्जली कन्स्ट्रक्सन (जेभी)ले निर्माणका काम गरिरहेको छ ।

शर्मा एपेक्स कान्छाराम कन्स्ट्रक्सनले भने किमाथांकादेखि चेपुवातर्फ आउने सडकखण्डको ट्रयाक खोल्ने जिम्मा पाएको छ ।

०७५/७६ आर्थिक वर्षका लागि ४७ करोड बजेट विनियोजित भएको यस आयोजनाका लागि हालसम्म दुई अर्ब ११ करोड रुपियाँ खर्च भइसकेका छ ।

भारत र चीनलाई जोड्ने राजमार्ग

कोशी राजमार्गले नेपाललाई भारत र चीन दुवै देशसँग जोड्नेछ । सो सडकलाइ दुई देश जोड्ने सबैभन्दा होचो भूभागको छोटो सडक मानिएको छ ।

यसकारण यस सडकमा १२ महिनै सवारी गुडाउन सकिने प्रमुख इन्जिनिएर ज्ञवाली बताउँछन् । उक्त सडकले मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभालाई छोएको छ ।

विकट क्षेत्र भएकाले भएन सोचेजति काम

आयोजनाका अनुसार विकट र ठूला तथा स–साना भीर भएकाले यो सडकखण्डको सोचेअनुसार काम हुन सकेन ।

सो क्षेत्रमा सडक खन्ने आधुनिक उपकरण पुर्याउन पनि हेलिकोप्टरको प्रयोग गरिएको आयोजनाले जानकारी दियो ।

अझै चेपुवा र किमाथांकाबीचमा पर्ने शंखेभिरमा ६ किमि र महभिरमा पाँच किमि सडक र आसपासका साना–साना अन्य भिरको कारण सडक बनाउन समस्या भएको आयोजनाका प्रमुख इन्जिनियर ज्ञवालीले बताए ।

...

बिहीबार, ८ कार्तिक २०७५ 

प्रतिक्रिया

Related