विद्युतीय हाजिरले कर्मचारी नियमित

नयाँ प्रविधिले कर्मचारीलाई अनुशासित र सेवाग्राही उत्तरदायी बनाउनमा ठुलो सहयोग
निर्माण सञ्चार, जुम्ला | जुम्लाका स्थानीय तहमा विद्युतीय हाजिरी सञ्चालनमा ल्याएसँगै कर्मचारी कार्यालयमा नियमित हुन थालेका छन् ।

पहिले एउटै रजिष्टरमा हाजिर गर्नुपर्ने भएकोले महिनामा एक पटक हाजिर गर्ने र कार्यालयमा निकै कम उपस्थिती हुुने समस्या बल्झिएको थियो । हाल स्थानीय तहमा विद्युतीय हाजिरीको प्रयोग बढ्दै गएको छ ।

तातोपानी र गुठिचौर गाउँपालिकामा विद्युतीय हाजिरीको प्रयोग भइरहेको छ ।

गत वर्षहरुमा हाजिर लगाउने सिस्टम नहुँदा कर्मचारीको निकै लापारवाही बढेको पाइन्थ्यो, तर अहिले प्रत्यक्ष रुपमा कर्मचारीको उपस्थितिको निगरानी गर्न सकिने भएको स्थानीय तहले जानकारी दिएका छन् ।

विद्युतीय हाजिरीले सेवा प्रवाहलाई गुणस्तर बनाउनुका साथै कर्मचारीलाई नियमित गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको गुठिचौर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवराज शर्माले जानकारी दिए ।

‘यो प्रविधिले कर्मचारीलाई अनुशासित बनाउने, सेवाग्राही उत्तरदायी बनाउने कार्यमा ठुलो सहयोग पुगेको छ, ‘प्रमुख प्रशासकीय अधिकृत शर्माले भने, ‘कर्मचारीको मनपरी र लापारवाही घटेको छ, कर्मचारीको नियमितताले सेवाग्राहीको काम गुणस्तर बन्दै गइरहेको छ, कर्मचारी हराउने र कार्यालयमा नआउने समस्या दुर भएको छ ।’

गुठिचौर गाउँपालिकाले विद्युतीय हाजिरी र सीसी क्यामेरा जडान गरेको हो।

कर्मचारीलाई विद्युतीय हाजिरीले अनुशासनमा बाँध्ने काम गरेको छ भने आफ्नो कर्तव्यप्रति र कार्यालय समयप्रति सजग बनाएको उनले बताए ।

विद्युतीय हाजिरीका कारण सेवाग्राहीको गुनासो कम सुनिन् थालेको भन्दै उनले हेर्दा सामान्य लाग्ने विद्युतिय हाजिरीले कार्यालयको सुशासनमा राम्रो काम गरेको छ ।

अहिले निर्धारण गरिएको समयमा कार्यालयमा नआएको खण्डमा अटोमेटिक रुपमा गयल हुने गर्छ ।

‘गयल भए तलब काटिन्छ, त्यही डरले कर्मचारी जता भएपनि हाजिर गर्न अनिवार्य कार्यालयमा पुग्ने गर्छन । गाउँपालिका स्तरमामा डिजिटल प्रविधि जडानले कामकाजमा सहजता गरेको शर्माको भनाइ छ ।

जनप्रतिनिधिलाई जनतामैत्री बनाउन गाउँपालिकाको केन्द्र धलमुडिमा डिजिटल प्रविधि जडान गरी संचालनमा ल्याएको छ।

प्रत्येक वडा तथा गाउँपालिकामा प्रत्येक जनप्रतिनिधि र कर्मचारी सीसीटिभी क्यामराको निगरानीमा रहने गर्छन ।

तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाई विद्युतिय हाजिरी कर्मचारी नियन्त्रण गर्ने राम्रो माध्यम भएको बताउँछन् ।

उनले भने, ‘कर्मचारी हाजिर भए नभएको बारेमा रजिष्टार पल्टाउनु पर्दैन, विद्युतिय हाजिरीले देखाएबमोजिमको तलब पाउँछन् हाजिर हुन नसकेको दिनको तलव काटिन्छ ।’

गाउँपालिकालाई नै सूचना, प्रविधि मैत्री र डिजिटलमय बनाउने लक्ष्य लिइएको छ ।

जनता र सेवाग्राहीबीचको सम्बन्ध प्रगाढ बनाउन पछिल्लो समयमा स्थानीय तहले विभिन्न विकल्प खोज्दै आएको छ । जनता मैत्री स्थानीय तह बनाउने अभियानमा गाउँपालिका जुटेको उनले बताए ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

बिहीबार, ८ कार्तिक २०७५  

प्रतिक्रिया

Related