नेपालकै पहिलो ‘सेज’मा खुल्न थाले उद्योग !

सञ्चालनका लागि २४ उद्योगलाई अनुमतिः २ वर्षभित्रमा सबै उद्योग चल्ने
निर्माण सञ्चार, बुटवल | रुपन्देहीको रोहिणी गाउँपालिकास्थित नेपालकै पहिलो विशेष आर्थिक क्षेत्र (सेज) मा धमाधम उद्योग खुल्न थालेका छन् ।

हाल उद्योग स्थापनाका लागि उद्योगीहरु भौतिक पूर्वाधार निर्माणमा जुट्न थालेका छन् ।

उद्योग स्थापनाका लागि उद्योगीहरुले भू–बहाल शुल्क बुझाएसँगै सेजमा उद्योग खुल्ने कार्य अगाडि बढेको हो ।

उद्योग सञ्चालनका लागि विशेष आर्थिक क्षेत्र प्राधिकरणमा अनुमति लिएका २४ मध्ये १८ उद्योगले सञ्चालनका लागि काम थालेका छन् ।

प्राधिकरणका प्रवक्ता सुन्दर थापाका अनुसार भू–बहाल शुल्क बुझाएका उद्योगीमध्ये केही पूर्वाधार निर्माणमै जुटेका छन् भने अन्यले तत्कालै काम थाल्नेछन् ।

प्रवक्ता थापाले उद्योग स्थापनाका लागि पूर्वाधार निर्माण गर्दै गरेको शक्ति मिनरल्स उद्योग ३ महिनाभित्र सञ्चालनमा आउने बताए ।

‘निर्माण गर्दै गरेको शक्ति मिनरल्स उद्योग ३ महिनाभित्र सञ्चालनमा आउँछ’ उनले भने ‘आगामी दुई वर्षभित्रमा त सेज भित्रका सबै उद्योग सञ्चालनमा आउँछन् ।’

सम्झौता गरेका उद्योगहरुले हाल पूर्वाधार निर्माणको डिजाइन गर्न थालिसकेका छन् ।

थापाले सेजमा उद्योगको पूर्वाधार निर्माणका लागि आवश्यक विद्युतसमेत प्रबन्ध मिलाइएकाले पूर्वाधार निर्माणमा ढिलाइ नहुने दाबी गरे ।

प्रवक्ता थापाका अनुसार सेजमा पूर्वाधार निर्माणको लागि एक मेगावट विद्युत् आवश्यक रहेता पनि हाल ६ मेगावाट विद्युत् उपलब्ध गराइएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष कुलप्रसाद न्यौपानेले सेजमा स्थापना हुने उद्योगका लागि आवश्यक पर्ने विद्युत तथा सरकारी तवरबाट बनाउनुपर्ने संरचना निर्माण तत्काल थाल्नुपर्ने बताए ।

सरकारी पक्षले सेजमा निर्माण गर्नुपर्ने कर प्रशासन, विद्यालय, बाल उद्यानलगायतका संरचना निर्माण सुरु गरे उद्योगी व्यवसायीले पनि उद्योगका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने उनको भनाई छ ।

६९ वटा प्लट 

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर १ बगाहामा ५२ विगाहा क्षेत्रफलमा फैलिएको सेजमा १४ सय देखि ३७ सय वर्गमिटर सम्मका ६९ वटा प्लट छन् ।

नेपाल सरकारले विशेष आर्थिक क्षेत्र (सेज) देशमा भएका रुग्ण तथा नेपाली बजारमा उत्पादन भएर पनि विदेशमा माग बढी भएका सामानहरु उत्पादन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्नको लागि ल्याएको नीतिअन्र्तगत गरिएको व्यवस्था हो ।

१७ किसिमका उद्योग रहने !

उक्त क्षेत्रमा स्थापना हुने उद्योगहरुको लागि प्रारम्भिक आधारभूत विकास निर्माण काम नेपाल सरकारले नै निर्माण गर्छ ।

सो क्षेत्रमा स्थापना भएका जुनसुकै उद्योगले आफ्नो उत्पादनका ७५ प्रतिशत सामान विदेश निर्यात गर्नुपर्छ ।

सेजमा विशेष गरी खाद्य तथा कृषि जन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका वस्तु, तयारी पोशाक, गलैंचा तथा ऊनी सामान, रेशम, हाते कागजका वस्तु गरी १७ किसिमका उद्योगहरु रहनेछन् ।

...

शुक्रबार ९ कार्तिक २०७५ 

प्रतिक्रिया

Related