प्लास्टिकको प्रतिबन्ध होइन व्यवस्थापन !

प्लास्टिकको उत्पादन र प्रयोग वार्षिक १० प्रतिशतभन्दा बढीले वृद्धि
निर्माण सञ्चार, काठमाडौँ | प्लास्टिक उत्पादन सुरु भएको शताब्दी बितिसकेको छ । यसको उत्पादन, प्रयोग, फाइदा र असरलगायत विषयमा विवाद भने जारी नै छ ।

एकाथरीले प्लास्टिकको प्रयोग प्रतिबन्ध गर्नुपर्ने दाबी गर्दै आएका छन् भने अर्काथरीले प्लास्टिकको प्रतिबन्ध होइन, व्यवस्थापनमा ध्यान दिनुपर्ने आवाज उठाउँदै आएका छन् ।

यस अवस्थामा विश्व बजारमा प्लास्टिकको उत्पादन र प्रयोग भने वार्षिक १० प्रतिशतभन्दा बढीले वृद्धि भइरहेको छ ।

आगामी २०२० सम्ममा प्लास्टिकको बजारको आकार बढेर ६ खर्ब ६५ अर्ब अमेरिकी डलरबराबर पुग्ने अनुसन्धानले देखाएको छ । जसको सानो हिस्सा नेपालले समेत ओगटेको छ ।

नेपालमा पनि प्लास्टिकजन्य वस्तुको उत्पादन तथा प्रयोग बढ्दो अवस्थामा रहेको छ ।

नेपालमा पनि प्लाष्टिकको प्रयोगबारे विवाद र बहस उत्तिकै छ ।

सरकारले कतिपय प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गरेको छ ।

तर, प्लास्टिकजन्य वस्तुको उत्पादन तथा प्रयोगलाई निरुत्साहित भन्दा पनि त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने नेपाल प्लास्टिक उत्पादक संघका अध्यक्ष शरद शर्माको भनाई छ ।

‘प्लाटिक भनेको प्लाटिकका झोला मात्रै भन्ने बुझिन्छ, जुन गलत हो, वातावरणमा असर गर्ने यस्ता उत्पादन र प्रयोगलाई निरुत्साहित गर्नु ठीकै पनि हो,’ अध्यक्ष शर्माले भने, ‘तर, सबै प्लास्टिक उद्योगलाई एउटै बास्केटमा राख्न हुँदैन, ड्युरेबल प्लास्टिकजन्य वस्तुको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्दै व्यवस्थापन गर्नुपर्छ ।

३ सय प्लास्टिक उद्योग, लगानी कति ?

संघको तथ्यांक अनुसार हाल मुलुकभर गरेर ३ सयवटा प्लास्टिक उद्योग सञ्चालनमा रहेको छ । यी उद्योगहरूमा ५० अर्ब रुपियाँभन्दा बढी लगानी भइसकेको संघका अध्यक्ष शर्माले जानकारी दिए ।

उनकाअनुसार प्लास्टिक उद्योगमा प्रत्यक्ष–अप्रत्यक्ष २ लाखभन्दा बढी मानिसले रोजगारी पाइरहेको बताउँछन् । अध्यक्ष शर्माले अर्थतन्त्रमा यस क्षेत्रको योगदान बढ्दै गएको धरणा व्यक्त गरे ।

वार्षिक अर्बौं रुपियाँको राजस्व तिरिरहेका बताउँदै उनले भने ‘रोजगारी र उत्पादनमार्फत अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएका छौँ, ‘यसकारण सरकारले प्लास्टिकजन्य उद्योगलाई प्रोत्साहन गर्नुपर्छ ।’ तर, प्लाष्टिक व्यवसायको व्यवस्थापन भने आति आवश्यक रहेको अध्यक्ष शर्माले बताए ।

प्रतिबन्ध होइन, व्यवस्थापन

काठमाडौं उपत्यकामा १ वैशाख २०७२ देखि नै सरकारले प्लास्टिकको झोला प्रयोग गर्न रोक लगाएको थियो ।

राजपत्रमा सूचना नै निकालेर सरकारले काठमाडौं उपत्यकामा २० बाई ३५ इन्च साइजका र ४० माइक्रोन मोटाइसम्मका प्लास्टिक प्रतिबन्धको व्यवस्था गरेको थियो ।

तर, प्रतिबन्ध गर्ने व्यवस्था गरेको तीन वर्ष बितिसक्दा पनि त्यसको कार्यान्वयन अझै हुन सकेको छैन ।

काठमाडौँ उपत्यकामा हाल पनि प्लास्टिकको बिक्री वितरण एवं प्रयोगमा कमी आएको छैन ।

यता प्लास्ट नेपाल फाउन्डेसनका अध्यक्ष टिबरेवाला प्लास्टिकजन्य सामग्रीको प्रतिबन्धभन्दा पनि व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने दाबी गर्छन् ।

‘प्लास्टिक प्रतिबन्ध सम्भव छैन, मावन जीवनमा प्लास्टिकको प्रयोग आधारभूत आवश्यकताझैँ भइसकेको छ,’ अध्यक्ष टिबरेवालाले भने ‘सरकारले तोकेजस्तै ३०–३५ माइक्रोनभन्दा कमका प्लास्टिक प्रयोग नगरौँ, तर समग्र प्लास्टिकजन्य उद्योगप्रति सकारात्मक बनौँ ।’

उनका अनुसार सरकारले सिंगो प्लास्टिक उद्योगबाट २ प्रतिशतभन्दा कम हिस्सा ओगट्ने प्लास्टिक प्रतिबन्ध लगाएको बताउँदै यसमा उद्योगी व्यवसायी सहमत रहेका छन् ।

तर, बाँकी ९८ प्रतिशत हिस्सा रहेका प्लास्टिकजन्य अन्य उत्पादनलाई भने सरकारले प्रोत्साहन गर्नुपर्ने अध्यक्ष टिबरेवालाको भनाई छ ।

कसरी गर्ने प्लास्टिकजन्य उत्पादनको व्यवस्थापन ?

‘थ्री आर’ अर्थात् रिड्युस (कम प्रयोग), रियुज (पुनप्र्रयोग) र रिसाइकल (पुनः उत्पादन) गर्ने

कम माइक्रोन प्लास्टिक झोला उत्पादन र खपत नगर्ने/नगराउने

फोहोर संकलनदेखि नै प्लास्टिकलाई छुट्याउने

रिसाइकलका लागि सरकार र निजी क्षेत्रले सहकार्य गर्ने

फोहोरबाट छुट्याइएको प्लास्टिक रिसाइकल गर्नेबारे छुट्टै नीतिनियम बनाउने

उत्पादनमा मात्रै होइन, आयातलाई पनि नियमन गर्ने

उद्योगले बेस्ट म्यानेजमेन्ट (फोहोर व्यवस्थापन)मा ध्यान दिने

उद्योगले पछिल्ला प्रविधिहरूको प्रयोग गर्दै वातावरणमैत्री तथा कम असर गर्ने उत्पादनमा जोड दिने

प्लास्टिकजन्य उद्योगका लागि विशेष क्षेत्र छुट्याउने

प्लास्टिक, प्लास्टिक कच्चा पदार्थलगायतको गुणस्तर मापन गर्ने ल्याब स्थापना गर्ने । मापदण्डहरू बनाउने ।

...

मंगलबार २३ असोज २०७५ 

प्रतिक्रिया

Related