आपूर्ती कम्पनी बन्दैः नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङलाई गाभिने

नयाँ कम्पनीको उद्देश्य के ?
निर्माण सञ्चार, काठमाडौँ | सरकारले राष्ट्रिय आपूर्ति कम्पनी निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

नेपाल खाद्य संस्थान र खारेज भएको नेसनल ट्रेडिङ लिमिटेडलाई गाभेर सरकारले राष्ट्रिय आपूर्ति कम्पनी बनाउन लागेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी ऐनमा भएको व्यवस्थाअनुसार नै यी दुई वटा संस्थालाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने प्रक्रिया अघि बढाइसकेको छ ।

यसअघि चालू आर्थिक वर्षको बजेटमार्फत् पनि नेसनल ट्रेडिङ लिमिटेड र खाद्य संस्थानलाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने घोषणा गरिएको थियो ।

आपूर्ति कम्पनी गठन एवं नेसनल ट्रेडिङ लिमिटेडको सम्पत्ति र दायित्व कम्पनीमा गाभ्नेसम्बन्धी सुझावसहितको प्रतिवेदन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नवराज ढकालको संयोजकत्वमा गठित समितिले तयार गरेर पेश गरिसकेको छ ।

“नयाँ कम्पनीले अत्यावश्यक २९ वटा वस्तु तथा सेवाको कारोबार आपूर्ति तथा वितरण गर्ने काम गर्छ ।”

नेसनल ट्रेडिङ र खाद्य संस्थानको सम्पत्ति र दायित्य सुझावसहितको अध्ययन प्रतिवेदन तयार गरेर पेश गरिएको मन्त्रालयका प्रवक्ता ढकालले बताए ।

उनले ती दुवै संस्थानको सम्पति दायित्य अध्ययन गरिसकिएकोले कम्पनी गठन प्रक्रिया अघि बढाइने दाबी गरे । प्रवक्ता ढकालले भने ‘नयाँ कम्पनीले अत्यावश्यक २९ वटा वस्तु तथा सेवाको कारोबार आपूर्ति तथा वितरणको काम गर्छ ।’

साथै व्यापारलाई विविधीकरण गरी अनलाइन व्यापार गर्नेलगायतका अन्य काम पनि गर्ने उनको भनाई छ ।

दुवै संस्थाको सम्पत्ति १ अर्ब १९ करोड

प्रवक्ता ढकालकाअनुसार कम्पनीको सेयर अर्थ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको रहने छ । ती दुवै संस्थाको सम्पत्ति १ अर्ब १९ करोड रहेको छ ।

प्रवक्ता ढकालले नेपाल खाद्य संस्थान चुक्ता पूँजी ९९ करोड ४ लाख ९५ हजार रुपियाँ र बाँकी नेसनल ट्रेडिङ लिमिटेडको सम्पत्ति रहेको जानकारी दिए ।

सरकारी स्वामित्वमा रहने ती दुवै संस्थानले खाद्यान्नलगायत अन्य आधारभूत वस्तु तथा सेवाको आपूर्तिसुपथ मूल्यमा खाद्य वितरण गर्दै आएको थियो ।

कम्पनीको उद्देश्य के ?

उक्त नयाँ कम्पनीको उद्देश्य आधारभूत आवश्यकताका वस्तु तथा सेवा सहज रुपमा सुलभ मूल्यमा देशैभरका आम नागरिकमा उपलब्ध गराउने रहेको छ ।

कम्पनीले देशका विकट र खाद्यान्न अभाव भएका क्षेत्रमा उपयुक्त आपूर्तिको व्यवस्था गरी सुलभ मूल्यमा खाद्यान्नको सुनिश्चितता गराउनु, विभिन्न अन्तर्राष्ट्रिय समुदायमा गरिएको प्रतिबद्धताअनुसार आवश्यक खाद्यान्न भण्डारको व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, आपूर्ति कम्पनीले विभिन्न मित्र राष्ट्रहरूबाट सहायता स्वरूप प्राप्त वस्तु तथा सेवा बिक्री गरी राजस्व संकलन गर्ने काम गर्छ ।

यो कम्पनीले मुलुकमा आइपर्ने विपत व्यवस्थापनमा प्रभावित समुदायलाई राहत वितरणमा सहयोग पुर्याउने काम समेत गर्छ । यसअघि नेसनल ट्रेडिङ लिमिटेड बन्द हुने अवस्थामा पुगेपछि सरकारले जग्गा बेचेर कर्मचारीलाई अवकाश दिई नेसनल ट्रेडिङलाई खारेज गरेको थियो ।

गत जेठ २५ मा मन्त्रिपरिषद्को बैठकले नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई गावेर राष्ट्रिय आपूर्ति कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो ।

...

मंगलबार २३ असोज २०७५  

प्रतिक्रिया

Related