तीन महिनामै चुहियो संसद् ‘सचिवालय’, निर्माण कार्यमा यस्तो छ लापरवाही

कर्मचारी बस्न र सामान जोगाउन नै मुस्किलः टालटुल गरेर पन्छिए ठेकेदार
निर्माण सञ्चार, काठमाडौँ | मुलुकमा पूर्वाधार निर्माणका काम अलपत्र अवस्थामा छन् ।

विकास निर्माणका कामलाई तिव्रता दिएर चाडै नै समृद्ध नेपालको बाटो तय गर्ने भनिएता पनि पूर्वाधार निर्माणका काममा ढिलासुस्ती भइरहेको छ । यसका साथै कतिपय आयोजनाहरुको निर्माण गुणस्तरहीन भइरहेको छन् ।

जसले गर्दा मुलुक समृद्धिको विपरित झन् खस्किदै गइरहेको छ ।

देशका विभिन्न स्थानमा ठेकेदारहरुले एक भन्दा बढी ठेक्का हात पारेर वर्षौसम्म निर्माणका काम असरल्ल अवस्थामा छाड्ने गरेका छन् ।

कुनै आयोजना तोकिएको समयभन्दा धेरैपछि निर्माण सम्पन्न भएता पनि बनेको थोरै समयमा नै भत्किने, चर्किने लगायतका समस्या आउने गरेका छन् ।

ठेकेदारको लापरवाही सिंहदारबारमा पनि

ठेकेदारको चरम लापरवाहीले गर्दा गुणस्तरहीन आयोजना निर्माण हुने गर्छ । ती आयोजना बनाएको छोटो समयका लागि मात्रै आकर्षक बन्नु मुलकको दुर्भाग्य हो ।

यस्ता कयौँ आयोजना छन्, जसमध्ये कतिपयको समयावधी सकिएको छ भने कतिपय निर्माणधीन अवस्थामा छन् । कुनै बनेको दुई/तीन महिना नवित्दै भत्किन थालिसकेका छन् ।

ठेकेदारको यस्तो ठगी जताततै हावी भइरहेको छ । जसको एक पराकाष्ठ हो, संसद् सचिवालयको भवन ।

ठेकेदारहरुले गरेको गुणस्तरहीन कामको असर सिंहदरबारभित्र समेत परेको हो ।

देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै यस्तो फितलो काम देखिएपछि अन्य ठाउँमा राम्रो काम गरिएको छ भन्नेमा कस्को विश्वास जाला ? यो, आम नागरिकको प्रश्न रहेको छ ।

निर्माण व्यवसायीले बनाएको संसद् सचिवालयको भवन तीन महिनामै चुहिन थालेपछि ठेकेदारमाथि गुणस्तरहिन काम भएको भन्दै आरोप लाग्न थालेको छ ।

ठेकेदारको लापारवाहीले उक्त भवन चुहिन थालेपछि कर्मचारीले छाता ओढेरै काम गरे भने कागजपत्र प्लास्टिकले ढाकेर जोगाएका छन् ।

कर्मचारी बस्न र भवनका सामान जोगाउन नै मुस्किल !

गत चैतमा सचिवालयको भवन नम्बर २ को पाँचौँ तलाको निर्माण ब्राइट कन्स्ट्रक्सन र ज्ञानज्योति निर्माण कम्पनीले सम्पन्न गरेका थिए ।

तीन करोड ७८ हजारको संयुक्त ठेक्का लिएर ९ वैशाख ०७४ मा सुरु गरिएको निर्माण कार्य गत चैतमा पूरा भएको थियो ।

निर्माण सम्पन्नलगत्तै कम्पनीले सचिवालयलाई यो भवन हस्तान्तरण गरेको थियो । तर, भवन हस्तान्तरण गरेको तीन महिनामै भवन चुहिन थाल्यो ।

चैतमा हस्तान्तरण गरिएको भवन असार सुरु हुनासाथ चुहिएन सुरु भएको हो ।

सिंहदरबार सचिवालय पुनर्निर्माण समितिकी सूचना अधिकारी आरती पौड्याल भन्छिन् ‘गत चैतमा निर्माण कम्पनीले सचिवालयलाई भवन हस्तान्तरण गरेको थियो, ‘तर, यो बर्खाभर पानी चुहिएर कर्मचारी बस्न र भवनका सामान जोगाउन समेत धौँधौँ पर्यो ।’

टालटुल गरेर पन्छिए ठेकेदार

सूचना अधिकारी पौड्यालले बर्खाभर पानी चुहिएर सास्ती भएपछि पुनर्निर्माण समितिले निर्माण कम्पनीलाई जानकारी गराएको बताइन् ।

तर, ठेकेदारले थोरै टालटुल पारी झारा तिरेर गएको उनको भनाई छ ।

सूचना अधिकारी पौड्यालले भनिन् ‘चुहियो भने तुरुन्त जानकारी गराउनुस् भनेर जिम्मेवारीबाट पन्छियो’ तर, पानी पर्दा भवन अझै चुहिने गरेको छ ।’

उक्त भवनको निर्माण सम्पन्न भएको एक वर्षसम्म कुनै पनि समस्या आए निर्माण कम्पनीले नै बेहोर्ने सम्झौता गरिएको छ ।

‘प्लास्टिक र छाताले छेकेर डकुमेन्ट जोगाएँ’ कार्यालय भित्रका डकुमेन्ट प्लास्टिक र छाताले छेकेर जोगाएको बताउँछन्, संसद् सचिवालयका उपसचिव इन्द्रविलास पौडेल ।

उपसचिव पौडेलले भने ‘बर्खा सुरु भएपछि पानी चुहिन थाल्यो’, ‘आफ्नो कार्यकक्षमा मैले प्लास्टिक र छाताले छेकेर डकुमेन्ट जोगाएँ ।’ पानी चुहिएका कतिपय ठाउँमा बाल्टी समेत थाप्नुपरेको उपसचिव पौडेलले गुनासो पोखे ।

पानी चुहीएपछि निर्माण कम्पनीलाई जानकारी गराएको भन्दै उनले पनि सोही गुनसो पोखे ।

उपसचवि पौडेलले भने ‘पानी चुहीएर हैरान भएपछि निर्माण कम्पनीलाई जानकार गरायौँ’ ‘त्यसपछि कम्पनीले कामदार त पठायो, तर उनीहरले भने टालटुल मात्रै पारेर गएका छन् ।’

अब पानी चुहिदैन भनेर अझै पनि ढुक्क हुन सकिने अवस्था छैन, उपसचिव पौडेलले भने ।

नयाँ पत्रिकाको सहयोगमा

 

...
बुधबार, २४ असोज २०७५

 

प्रतिक्रिया

Related