कस्तो बन्नेछ नयाँ राष्ट्रपति भवन ?

शीतलनिवासको संरक्षण कसरी ?
निर्माण सञ्चार, काठमाडौँ | दुई सय तेइस रोपनि क्षेत्रफलमा हेलिप्याडसहितको नयाँ राष्ट्रपति भवन निर्माण हुने भएको छ ।

अहिलेको राष्ट्रपति भवन र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको जग्गामा नयाँ र अत्याधुनिक भवन बन्ने भएको हो ।

अन्तर्राष्ट्रिय मापदण्डको भूकम्प प्रतिरोधी अत्याधुनिक राष्ट्रपति भवन बनाउने तयारी थालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए ।

यसअघि नै सो भवन नयाँ र अत्याधुनिक बनाउने कुरा हुँदै आएको भएता पनि लामो समयपछि बनाउने निष्कर्षमा पुगेको अधिकृत ज्ञवालिले जानकारी दिए ।

हाल राष्ट्रपति भवन निर्माणका लागि परामर्शदाता चयन गरेर डिजाइन तथा लागत इस्टिमेटको काम भइरहेको छ ।

अधिकृत ज्ञवालिकाअनुसार २०७३ मंसिर १९ गते परामर्शदाता छानिएको बीडीए/प्लस इन्जिनियरिङ एन्ड आर्किटेक्ट प्रालिलाई नयाँ र अत्याधुनिक भवन निर्माणको डिजाइन तथा लागत इस्टिमेटको जिम्मा दिएको छ । उक्त कम्पनीले हाल डिजाइन र लागत इस्टिमेटको अध्ययन गरिरहेको छ ।

राष्ट्रपति भवनको पूर्वाधार र संरचना राष्ट्राध्यक्षका लागि पर्याप्त नभएकाले नयाँ भवन निर्माणको विकल्प नरहेको कार्यकारी अधिकृत ज्ञवालीको भनाई छ ।

उनले भने ‘मन्त्रिपरिषदले निर्णय गरेर काम सुरु गर्न निर्देशन दिइसकेको छ, पुरानै परामर्शदातालाई भवन बनाउने जिम्मा दिइएको हो ।’

कस्तो बन्नेछ राष्ट्रपति भवन ?

राष्ट्रपति कार्यालयको २ सय ७ रोपनी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको १ सय १४ रोपनी जग्गामा नयाँ र आधुनिक राष्ट्रपति भवन बन्ने भएको छ ।

राष्ट्रपति कार्यालयका लागि आवश्यक पूर्वाधार र संरचनासहितको भवन निर्माण हुने भएको हो ।

सो भवनमा विदेशीका लागि अन्तर्राष्ट्रिय स्तरको अतिथिगृह, आवास, खुला क्षेत्र, हेलिप्याडलगायत संरचना हुने कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए ।

हेलिप्याड किन ?

राष्ट्रपति कार्यालयमा हेलिप्याड भएमा राष्ट्रपतिको सवारीको समयमा गरिने सवारी रोक्नुपर्ने समस्या समाधान हुनेछ ।

सोही भवन भित्रै अतिथिगृह भएपछि विदेशी पाहुनालाई होटलमा राख्नु पर्दैन भने खुला क्षेत्र भएमा राष्ट्रपतिलाई हिँडडुल गर्न समेत सहज हुनेछ ।

हाल उक्त भवनमा प्रधानमन्त्री र मन्त्रीको शपथग्रहण गराउन, राजदूतसँग ओहोदाको प्रमाणपत्र बुझ्न पनि ठाउँ साँघुरो छ ।

त्यस्तो भवन निर्माणबारे राष्ट्रपति विद्यादेवी भण्डारी र प्राधिकरणका सीईओ ज्ञवालीबीच परामर्श समेत भइसकेको छ ।

शीतलनिवासको संरक्षण कसरी ?

शीतलनिवासको संरक्षण गर्नका लागि भने रेट्रोफिटिङ गरिने भएको छ ।

राष्ट्रपतिको कार्यालय र निवासका लागि नयाँ भवन निर्माण हुने भएपछि शीतलनिवासको संरक्षण गर्न रेट्रोफिटिङ गरिने भएको हो ।

रेट्रोफिटिङ गरे मात्र संरक्षण हुने प्राविधिक रिपोर्ट आएपछि नभत्काउने निर्णय भएको प्राधिकरण सिईयो ज्ञवालीले स्पष्ट पारे ।

‘भवनको मौलिक स्वरूप संरक्षण गर्न शीतलनिवास नभत्काउने निर्णय भएको छ’ प्राधिकरण सीईओ ज्ञवालीले भने ‘शीतलनिवासको अन्ततः जीर्णोद्धार गरिन्छ ।’

...

बुधबार, २४ असोज २०७५

प्रतिक्रिया

Related